थप समाचारबुधबार, पौष २, २०७१

कर्जन्हाका स्वयंसेवी

हिमालखबर

michaelसन् २०१२ मा भीएसओ भोलन्टियर भएर नेपाल आएपछि काठमाडौंमा काम गरेका माइकले दुईवर्षे सेवा अवधि सकिएपछि यतै बस्ने अवसर खोजिरहेका थिए। त्यही बेला सिरहाको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा कामको अवसर पाउँदा उनलाई भने जस्तै भयो।

यसरी ६ महीनाअघि अस्पतालमा प्राथमिक स्वास्थ्य प्रशासक भएका उनको कामको चौघेरो अहिले निकै फराकिलो भइसकेको छ। सिरहावासीकोे गरीबी, शिक्षा, स्वास्थ्य लगायतका विकास सूचकांकहरू मुखाग्र पारेका उनको सक्रियता त्यही अनुरूपको छ।

स्थानीय बालबालिकाका लागि अस्पतालकै कोठामा पुस्तकालय स्थापना गरेका माइकले किताब लगायतका सामग्री अमेरिकाबाटै झिकाएका छन्। पुस्तकालय स्थापनामा क्यालिफोर्नियाको लसएञ्जलसबाट उनका बाबु नोरम्यान रोसेनक्रान्जले ठूलै सहयोग गरेका छन्।

लेखपढ र चित्र बनाउन सिकाउनेदेखि फिल्म–डकुमेन्ट्री देखाउनेसम्मको सुविधा भएको पुस्तकालयमा समय मिलेसम्म माइक आफैं बालबालिकासँग जुटिरहेका हुन्छन्।

“अधिकांश गाउँलेहरू बिरामी परेपछि अस्पताल हैन, झारफुकतिर लाग्छन्”, माइक भन्छन्, “अहिले भने पुस्तकालयमा आउने बालबालिकाले आफ्ना अभिभावक बिरामी हुँदा डोर्या एर अस्पताल ल्याउन थालेका छन्।”

गाउँमा स्वास्थ्य चेतनाको स्तर निकै तल रहेको राम्ररी थाहा पाएका यी स्वयंसेवीले हाटबजारमै स्वास्थ्य शिविर सञ्चालन गराउन थालेका छन्, जसबाट गाउँलेहरूका लागि ‘एक पन्थ, दो काज’ होस्।

गाउँलेहरूको स्वास्थ्यमा सुधार ल्याउन अनेक ‘टि्रक’ गरेका उनी हाटको दिन अस्पतालकै क्यान्टिनमा बनाइएका ‘सस्तो र स्वस्थकर खाना’ को स्टल राख्छन्, जहाँ दाँतको परीक्षण पनि गरिन्छ।

“कर्जन्हा र आसपासका गाविसका लगभग शतप्रतिशतमा दाँतको समस्या छ, तर दुखाइले सीमा नाघ्न नथालेसम्म उपचार गराउन आवश्यक ठान्दैनन्”, माइक भन्छन्, “जीवन धान्ने समस्याले स्वास्थ्यलाई बेवास्ताको विषय बनाएको छ।”

माइकको यो भनाइमा त्यस भेकको गरीबी र त्यसमा उनको सरोकारको गहिराइ देखाउँछ। ‘फ्रिलान्सर’ पत्रकार समेत रहेका उनी अमेरिकाको अनलाइन पत्रिका ‘हफिङ्टन पोष्ट’ र नेपालको ‘दि हिमालयन टाइम्स’ लगायतका पत्रपत्रिकामा त्यही सरोकार लेखिरहन्छन्।

लसएञ्जलस शहरमा हुर्के–बढेका उनले नेपाल आउनुअघि केही समय भारतमा स्वयंसेवा गरेका थिए। भीएसओका लागि ‘लाइभ्लीहुड’ सल्लाहकार समेत रहिसकेका उनले सामाजिक न्याय, सशक्तिकरण, स्वास्थ्य र शिक्षाका क्षेत्रमा काम गरेका छन्।

स्कूल जाने उमेरकी बालिकाले टाउकोमा दाउराको भारी राखेर भोकैप्यासै हिंडेको देख्दा चित्तै दुख्ने गरेको बताउने माइक बायोग्याँस, ब्रिकेट जस्ता विकल्पहरू भए पनि कर्जन्हाका महिलाहरूको दिन दाउरा संकलनमै बितेको देख्दा दुःखी हुन्छन्।

उनले स्थानीयलाई स्वस्थ खानेपानीका लागि ‘बायो स्याण्ड फिल्टर’ बनाउन भने सिकाएका छन्। “स्थानीय युवकहरूलाई सामाजिक कामका लागि ‘फन्ड रेजिङ’, प्रस्ताव लेख्न सिकाएको छु”, माइक भन्छन्, “अलिकति फुर्सद भयो भने गाउँ पनि डुल्नु परिहाल्यो।”

उनले काठमाडौंमा पनि गतिलै काम गरेका छन्। उनैले सिकाएका नेपाली सेनाका अपाङ्गता भएकाहरूको ह्वीलचेयर बास्केटबल टीम अहिले अन्तर्राष्ट्रिय खेल खेल्नेे भइसकेको छ।

गत वर्ष उनकै पहलमा बास्केटबल खेलाडीहरूका लागि ११ वटा ह्वीलचेयर जुटाइएको थियो। अब उनी कहिलेसम्म नेपाल बस्छन् त? “कर्जन्हा अस्पताल परिसरमा आँपका बिरुवाहरू रोपेको छु”, माइक रमाइलो उत्तर दिन्छन्, “तिनमा फूल लाग्न दिनुस्।”
सञ्जीव शर्मा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>