थप समाचारबुधबार, पौष २, २०७१
तेलको मूल्य घटाउन विद्यार्थीको माग
प्रमुख ११ विद्यार्थी संगठनले तत्कालै खाना पकाउने एलपी ग्याँससँगै पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेका छन् । २ पुसमा नेपाल आयल निगमको कार्यालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाउँदै विद्यार्थी संगठनले मूल्य घटाउन माग गरेका छन् ।
“अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ठूलो अनुपातमा घटेको छ, तर निगमले मूल्य समायोजन नगरेकाले दबाब दिन थालेका हौं,” नेविसंघका प्रवक्ता यूपी लामिछानेले बताए ।
उनले निगमले लागू गर्दै आएको स्वचालित मूल्य समायोजन प्रणाली पनि व्यवहारिक नभएको बताए । कच्चा तेलको मूल्य घट्दा त्यही अनुपातमा मूल्य घटाउनुपर्ने विद्यार्थीको माग छ ।

बागबजारस्थित अनेरास्ववियूको कार्यालयमा २ पुसमा बसेको प्रमुख ११ विद्यार्थी संगठनको संयुक्त बैठक । तस्वीरः यूपी लामिछानेको फेसबुकबाट
निगमलाई ज्ञापनपत्र बुझाउनु अघि २ पुसमै बागबजारस्थित अनेरास्ववियूको कार्यालयमा ११ विद्यार्थी संगठनको संयुक्त बैठक बसेको थियो । बैठकले यातायात भाडा, दैनिक उपभोग्य वस्तुको मूल्य घटाउनु दबाब दिने निर्णय गरेको छ ।
त्यसका लागि दबाबमूलक कार्यक्रमहरु गरिने लामिछानेले जानकारी दिए ।
यस्तै, विद्यार्थी संगठनले पाकिस्तानको पेशावरमा आतंकवादी समूहले स्कूले बालबालिकामाथि गरेको आक्रमणप्रति निन्दा पनि गरेको छ । बैठकले सामूहिक बतात्कारमा परेकी बैतडीकी पूजा बोहोरालाई न्याय र दोषीलाई कारबाही गर्न माग गरेको छ ।
संविधान निर्माणका लागि दबाब
विद्यार्थी संगठनले समयमै संविधान निर्माणका लागि दबाब दिने पनि निर्णय गरेका छन् । बैठकले ३ पुसमा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङलाई हस्ताक्षर बुझाउने निर्णय गरेको लामिछानेले जानकारी दिए । यसअघि, अनेरास्ववियूले संविधान निर्माणका लागि हस्ताक्षर संकलन गर्दै आएको थियो ।
यस्तै, विद्यार्थीले ८ पुसमा संविधानसभा भवन अगाडि निन्दा जुलुस प्रदर्शन गर्ने जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
