रमझमबिहीबार, पौष ३, २०७१
शेर्पा युवतीको नजर अब कञ्चनजंघातर्फ

के टू शीखरमा माया, पासाङ् र दावा
माया, पासाङ ल्हामु र दावा याङजुम शेर्पाले पाकिस्तानको माउन्ट के–२ चढ्ने कुरा गर्दा धेरैले उत्साहित पारेनन्।
सर्वोच्च शिखर सगरमाथा पुगिसकेका उनीहरुलाई शुभचिन्तकहरुले विश्वको दोस्रो अग्लो चुचुरो चढ्न उत्साहित नपार्नुको कारण थियो– ‘किलर माउन्टेन’ को रुपमा के–२ ले पाएको कुख्याती, जहाँ अहिलेसम्म ८६ आरोहीको मृत्यु भएको छ।
तीमध्ये ६ जना नेपाली छन्। र पनि, उनीहरुले १० साउन २०७१ को दिउँसो ८ हजार ६११ मीटर अग्लो के–२ मा नेपालको झण्डा फहराएरै छाडे, नेपाली महिलाले पहिलो पटक के–२ आरोहण गरेको रेकर्डका साथ।
जलवायु परिवर्तन सम्बन्धी चेतना विस्तारको नारा लिएर के–२ अभियानका लागि गत असारमा पाकिस्तानतर्फ लागेको उनीहरुको टोलीले सरकारी सहयोग पाएन।
सहयोग माग्न जाँदा पर्यटन मन्त्रालयका अधिकारीहरुले के–२ को बेसक्याम्पभन्दा माथि जानै नसक्ने भाषण सुनाएर फर्काएको माया बताउँछिन्।
व्यक्तिगत दाता, साथीभाइ र परिवारबाट आर्थिक सहयोग जुटाएर के–२ अभियान सफल पारेका यी शेर्पा चेलीहरुले आरोहणको व्यवस्था मिलाउने कम्पनीलाई करीब रु.२० लाख अझै तिर्न सकेका छैनन्।
आउँदो वसन्तमा कञ्चनजंघा आरोहणको ६०औं वर्ष पूरा भएको अवसरमा चढाइ गर्ने तयारी थालेका उनीहरु आर्थिक अभावमा छन्।
हिमाल आरोहणका लागि जाँदा यी गाइडहरुलाई सिजनको कमाइ त गुमाउनु पर्छ नै त्यसमाथि के–२ अभियानका बेला सम्भावित सहयोगीहरुसँग रकम लिइसकेकाले तेस्रो अभियानका लागि फेरि हात थाप्न गाह्रो भएको छ।
आफ्नै बुताले अगाडि बढेका यी पर्वतारोहीहरु काठमाडौंको शक्तिकेन्द्रमा पहुँच नहुँदा पनि सहयोग पाउन नसकेको बताउँछन्।
सोलुखुम्बुकी पासाङ ल्हामु, ओखलढुंगाकी माया र दोलखाकी दावा याङजुम तीनै जना विवाहित हुन्।
उनीहरु पर्वतारोहण वा ट्रेकिङ नभएका बेला हिमाली समुदायको स्वास्थ्य र शिक्षाको लागि स्थापित हिमालयन वुमन वेलफेयर सोसाइटीका लागि काम गर्छन्।
छिरिङ डोल्कर गुरुङ
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
