टिप्पणीशुक्रबार, पौष ४, २०७१

रजोनिवृत्तिपछिको रक्तस्राव

डा. सुमनराज ताम्राकार

अधिकांश महिलामा २६–३४ दिनको महीनावारी चक्र भए पनि केही महिलामा २१–३५ दिन महीनावारी हुन सक्छ। नियमित तथा सामान्य प्रकारको महीनावारीमा तल–माथि हुनासाथ असामान्य मानिन्छ। यसको कारक किशोरी वा महिलाको उमेर समूह अनुसार फरक हुन सक्छ।

असामान्य महीनावारीमा नियमित अन्तरालमा भए पनि बढ्ता रगत जाने, धेरै दिनसम्म रगत जाने वा दुवै स्थिति हुनसक्छ। दुई दिनभन्दा कम समयसम्म मात्र हल्का मात्रामा रगत जाने अवस्थालाई असामान्य महीनावारीको रूपमा लिइन्छ।

माथि उल्लिखित अवस्थाहरू असामान्य नै भए पनि नियमित अन्तरालमा हुन्छ, तर मासिक स्रावको अन्तराल नै अनियमित हुने अवस्थालाई ‘मेट्रोरेजिया’ भनिन्छ। महीनावारीको बीच–बीचमा हुने रक्तस्रावलाई पनि ‘मेट्रोरेजिया’ मा समेटिएको छ।

पाठेघरमा मासु पलाउँदा, पाठेघरको मध्यतह वा वरिपरि इन्डेमेटि्रओसिस हुँदा, कपर टी प्रयोगले, डिम्बवाहिनी नली वा डिम्बाशयमा डल्लो बन्दा वा पाठेघर मलद्वारतिर फर्किनाले महीनावारीमा बढी रगत जाने वा धेरै दिनसम्म महीनावारी रहने हुन सक्छ।

अत्यधिक मोटोपना, मानसिक तनाव, अत्यधिक शारीरिक परिश्रम, इन्डोक्राइन ग्रन्थिमा गडबडी, पाठेघरको भित्री तहको क्षयरोग, भित्री तह टाँसिने, पिल्स चक्कीको अनियमित प्रयोग, कुपोषण आदिबाट महीनावारी असामान्य हुन सक्छ।

त्यसैगरी कलेजो वा मुटुमा खराबी, उच्च रक्तचाप, थाइरोइड ग्रन्थिको गडबडी, रगत नजम्ने समस्या तथा रगतको क्यान्सरले पनि महीनावारी असामान्य प्रकारको हुन सक्छ।

यसको अलावा टाउकोभित्रको हाइपोथालामस, पिट्युटरी ग्रन्थिदेखि डिम्बाशय र पाठेघरको भित्री तहबीचको सामञ्जस्यमा गडबडी भयो भने पनि महीनावारी असामान्य हुनसक्छ।

डिम्बाशयका क्रियाकलापमा कमी आएर प्रजनन् उमेरको अन्त्यताका स्थायी रूपमा महीनावारी बन्द हुने परिस्थितिलाई रजोनिवृत्ति भनिन्छ। यो क्रममा लगातार कम्तीमा १२ महीनासम्म महीनावारी हुँदैन। नेपाली महिलाहरू सामान्यतया औसत ५० वर्षमा रजोनिवृत्त हुने गरेका छन्।

उमेर घर्केपछि डिम्बाशयमा डिम्ब निखि्रएर, टाउकोभित्रको हाइपोथालामस, पिट्युटरी ग्रन्थि र भित्री पाठेघरको काममा शिथिलता आउँदा महीनावारी सुक्छ। महीनावारी सुकेपछि पुनः पाठेघर वा स्त्री जननेन्द्रियबाट रगत आउनु राम्रो लक्षण होइन।

यस्तो अवस्थामा विभिन्न जाँच पड्तालबाट पाठेघर एवं यसको वरिपरिका अङ्गप्रत्यङ्गहरूमा क्यान्सर छ/छैन भनेर निर्क्योल गर्नुपर्छ। अप्रत्याशित रूपमा पाठेघरबाट रक्तस्राव भएका यो उमेर समूहका एकतिहाइ महिलामा जननेन्द्रियको क्यान्सर पाइएको छ।

पाठेघरको भित्री तह चाउरिएका, पाठेघरको मुख र डिम्बवाहिनी नलीमा क्यान्सर भएका, पाठेघरमा मासु पलाएका, आङ खसेर पाठेघरको मुखमा अल्सर भएका, पाठेघरमा लामो समय कपर टी राखेका महिलामा विना कारण पनि रक्तस्राव हुन सक्छ।

यस्ता बिरामीलाई महीनावारी सुकेको समयावधि, महीनावारी सुक्नु अगाडि बगेको रगतको मात्रा, अवधि तथा अन्तराल, आङ खस्ने समस्या, इस्ट्रोजेनयुक्त कुनै औषधिको सेवन तथा नजिकको नातेदार कसैलाई पाठेघर तथा डिम्बाशयको क्यान्सर भए/नभएको सोध्नुपर्छ।

जननेन्द्रियको आन्तरिक परीक्षणबाट पनि ठम्याउन सकिन्छ। रगत जाँच, भिडियो एक्सरे, पाठेघरबाट मासु निकालेर एवं दूरबीनको सहायताले पाठेघर तथा पेट जाँचेर (हिस्टेरोस्कोपी तथा ल्याप्रोस्कोपी) पनि समस्या पत्ता लगाउन सकिन्छ।

महीनावारी सुकिसकेकी महिलामा रक्तस्राव हुनाको कारण अनुसार उपचार गर्नुपर्छ। कारण पत्ता लागेन र रक्तस्राव पनि धेरै छैन भने बिरामीलाई नियमित निगरानीमा राखेर आवश्यक जाँचहरू दोहोर्‍याइराखे पुग्छ। समस्या दोहोरिरहेमा पाठेघर तथा दुवैतिरको डिम्बाशय निकाल्ने शल्यक्रिया गर्नुपर्छ।

कथंकदाचित शल्यक्रियापूर्व क्यान्सर लागेको निर्क्योल भएमा पाठेघर एवं यसको वरिपरि कुन अङ्ग–प्रत्यङ्गमा क्यान्सर लागेको हो सो बमोजिम थप केमोथेरापी उपचार वा रेडियोथेरापी (बिजुलीले सेक्ने) गर्नुपर्ने हुन्छ।

यस्तो उपचार सेवा भक्तपुर क्यान्सर अस्पताल, भरतपुर क्यान्सर अस्पताल र वीर अस्पतालमा छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...