ब्लगशनिबार, पौष ५, २०७१

मजलिसको आँखा–४

कमल दीक्षित

tahachal_pond

उस्तै पहाड, बदलिएको उपत्यकाः ताहाचल पहिले (माथि) र अहिले।

 

Tahachal

 

अचम्म लाग्छ र चित्त पनि दुख्छ सम्झँदा एक सय वर्ष पनि नहुँदै हामीले यस्तो विशाल ताल मासेर खाएछौं, त्यसलाई निःशेष पारेछौं! कति निर्लज्ज हामी, कति लोभी!

केहीअघि स्तम्भ (नं.२) मा मैले टुँडिखेलको विलुप्त भएको यौटा पोखरीको चर्चा गरेको थिएँ। तर त्यो कुन चाहिं ‘पेरेड ग्राउण्ड’ को थियो भन्ने ठेगान गर्न सकिएको थिएन। आज हामी दुःखका साथ अर्को यौटा बेमाख पारिएको ठूलो पोखरीको चर्चा गर्दैछौं जसको अवस्थिति त ज्ञात छ तर अस्तित्व अब बाँकी छैन।

माथिको फोटो हेरौं। त्यसमा बायाँ मुन्तिर सेतो अंग्रेजी अक्षरमा ‘ताहाचल पण्ड’ लेखिएको छ। भव्य देखिन्छ त्यो ताहाचल पोखरी फोटोमा, कुनै ठूलै नदी या सरोवर जस्तो।

तर, अचम्म लाग्छ र चित्त पनि दुख्छ सम्झ्ँदा एक सय वर्ष पनि नहुँदै हामीले त्यस्तो विशाल ताल मासेर खाएछौं, त्यसलाई निःशेष पारेछौं! कति निर्लज्ज हामी, कति लोभी!

आज हामी यस स्तम्भमा त्यो ताहाचल तालका बारेमा धेरै कुरा भन्ने छैनौं, किनभने हामीलाई नै केही थाहा छैन। यही फोटोमा देखेको त्यो ताल र करीब पचास वर्षअघि मैले देखेको त्यसै ताल अथवा पोखरीको एउटा छेउ, दक्षिणपूर्वी आग्नेय कुनो सिवाय बताउने सामल केही छैन मसँग। त्यसैले यसपालि भन्नेभन्दा हामी सोध्नेछौं बढी।

तर सोध्ने पनि कसलाई हो त्यो समेत थाहा छैन। त्यसै हुँदा हामी यहाँ ‘जेनरल’ अथवा सामान्य किसिमका कुरा सोधौंला, थाहा भएका जसले जवाफ दिए पनि हुने खालका।

उदाहरणार्थ हामी पैले जान्न चाहौंला त्यो ताल बन्यो कसरी? कुनै भूगर्भविद्ले जवाफ दिए हुन्छ, ‘नास्ट’ ले बताए पनि नहुने हैन। त्यस तालको कुनै ‘फीडर’ खोला या नाला थियो या छ? कि त्यो जरुवा पानी, ‘अण्डरग्राउण्ड सोर्स’ बाट पोषित थियो? खोजिपसे हाम्रा नेपाली वैज्ञानिकहरूलाई त्यो पत्ता लगाउन गाह्रो हुने छैन।

त्यसपछि हामी सोध्नेछौं त्यहाँका जेष्ठ नागरिकहरूसँग त्यो ताल कैलेदेखि सुक्न थाल्यो? अथवा कल्ले पैले त्यो ताल बिराउन थाल्यो, कल्ले पैले त्यहाँ घर बनायो? भनेर।

त्यस्ता घरधनीहरूले जग्गाको लालपुर्जा कसरी प्राप्त गरे? त्यस कार्यको नेता को थियो? इत्यादि भन्ने पनि सोधिएला तर कसैमाथि मुद्दा हाल्ने या अख्तियार लगाउने हिसाबले खोजेको होइन यो भन्ने बुझियोस्।

हामीले त एकसरो इतिहास उधिन्न खोजेको मात्र हो यी प्रश्न गरेर। त्यसैले यी ‘हाइपोथेटिकल’ (परिकल्पित) प्रश्न मात्र हुन् भन्ने पनि बुझनुहोला भन्छौं हामी पाठकहरूलाई।

माथि दिएको फोटोबाट एउटा कुरा चाहिं पक्का हुन्छ, त्यो ताल बिराउने या पुर्ने काम दक्षिणबाट होइन उत्तरबाट शुरू भएको हुनुपर्छ। किनभने फोटोमा त्यो दक्षिणपट्टिको डिल या किनार मजबूतै देखिन्छ र त्यहाँ पानी पनि अन्यत्रभन्दा केही गहिरै थियो भन्ने अनुमान हुन्छ। त्यसैले तालमाथिको अतिक्रमण छिपछिपे पानी भएको उत्तरी किनारबाटै शुरू भएको हुनुपर्छ।

तर, यो पनि मेरो अनुमान मात्र हो, म यस विषयको ज्ञाता या विज्ञ होइन। माथि मैले त्यो पोखरी देखेको थिएँ भनेर लेखेको छु। त्यो कुरा भने सत्य हो र अलि ऐतिहासिक पनि। त्यसबारे अलिकति बताऊँ।

२०१० सालतिरको काठमाण्डू खाल्डोलाई अब इतिहास भने हुन्छ। पश्चिमतिर कालीमाटीपारि त्यो बेला काँठ नै थियो। ‘दिउँसै स्याल कराउने ठाउँ’ भनिन्थ्यो। तर सात सालपछि भने त्यता फाट्टफुट्ट घर बन्न थालेछन् र ताहाचल भन्ने नाम चलनमा आएछ। त्यस्ता बेला म कलकत्ताबाट नेपाल फर्केको थिएँ।

हाम्रा एक जना मित्र वासुदेव लुइटेल (‘भूतको भिनाजु’ जसको मृत्युपछि श्री ५ को सरकारले संस्मरणार्थ हुलाक टिकट समेत निकालेको थियो) पनि त्यतै घर बनाएर बसेका रहेछन्, र म त्यहाँ पुगेको थिएँ।

त्यसै बेला मैले पैलो पटक ताहाचल पोखरीको त्यो आग्नेय कुनोको दर्शन पाएको हुँ। तर मैले त्यस दर्शनलाई ऐतिहासिक भन्नुको कारण भने अर्कै छ।

‘भूतको भिनाजु’ को त्यस घरमा हामी दुईचार जना साहित्यिक साथीहरू एकदुई चोटि चिया खान भनी जुटेका थियौं। त्यस्तै जमघटमा एक दिन नेपाली भाषाको उत्थानका लागि यौटा पुरस्कार राख्न पाए कस्तो राम्रो हुन्थ्यो भन्ने चर्चा चलेको थियो।

त्यसैलाई मैले ऐतिहासिक भनेको हुँ। किनभने अन्ततोगत्वा मदन पुरस्कार स्थापनाको परिकल्पना त त्यही ताहाचल पोखरीको छेउछाउमै भएको रहेछ नि भन्न सकिन्न र?

त्यस्तै हाम्रो एउटा चियापानमा थाहा भयो वासुदेव लुइटेलको त्यो घर त बन्धकीमा पो परिसकेको रहेछ एकजना राजनीतिक पुरुषका हातमा। त्यो कथा सुनेर मलाई धेरै दुःख लागेको थियो।

पछि यो कुरा रानी जगदम्बाको कानसम्म पनि पुग्यो र रानीसाहेबद्वारा उनको उद्धार समेत भयो। अनि लुइटेलजी निर्धक्कसँग आफ्नो घरको आफैं स्वामी भएर रहन पाए। यो पनि यौटा ऐतिहासिक तथ्य नै हो, मैले सम्झ्ेको ताहाचल पोखरीका प्रसङ्गमा।

(१३ अंकसम्म ‘मजलिसघर’ शीर्षकमा प्रकाशित भएर हाल ‘मजलिसको आँखा’ शीर्षकमा निरन्तर गरिएको यो स्तम्भको नाम दरबार हाईस्कूलको दक्षिणपट्टि रहेको ‘मजलिसघर’ बाट लिइएको छ।)

(यसमा आउने तस्वीरहरू मपुपु–का हुन्। – सं.)

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...