रमझमशनिबार, पौष ५, २०७१

जोडीको जलवायु यात्रा

हिमालखबर

अमेरिकी पत्रकार डेभिड क्रुदस्मा र उनकी पत्नी लिन्ड्से फ्रान्सेन चीनमा ।

अमेरिकी पत्रकार डेभिड क्रुदस्मा र उनकी पत्नी लिन्ड्से फ्रान्सेन चीनमा ।

अमेरिकी जोडी जलवायु परिवर्तनले मानिसको जीवनमा पारेको प्रभावबारे प्रत्यक्ष जानकारी लिन एशियाको साइकल यात्रामा छन्।

सन् २००५ मा क्यालिफोर्नियादेखि अर्जेन्टिनासम्म ३४ हजार किमी लामो साइकल यात्रा गरेपछि डेभिड क्रुदस्माले आफ्नो यात्रा अनुभव लेखे, ‘द बाइसाइकल डायरिज’।

यो यात्राले उनलाई इन्धनको लागि कोइला र पेट्रोलियम पदार्थको बढ्दो प्रयोगबाट प्रदूषित हुँदै गएको एशिया साइकलबाटै छिचोल्ने विचार दियो।

गएको मे महीनामा लिन्ड्से फ्रान्सेनसँग बिहे गरेका डेभिडले टर्कीको इस्तानबुल हनिमुन यात्रालाई नै एशिया यात्राको साइत बनाए।

इस्तानबुलबाट साइकलमा ८ देश छिचोलेको यो जोडीलाई चीन पार गर्न अढाइ महीना लाग्यो। चीनबाट हिमाल पार गरेका डेभिड र लिन्ड्से गत सातादेखि नेपालमा थकाइ मारिरहेका छन्।

ठाउँ–ठाउँमा रोकिएर जलवायु परिवर्तनबारे जानकारी लिंदै र स्थानीय बासिन्दाहरूलाई बुझ्ााउँदै हिंडेको यो जोडी एशिया यात्रामा गरिने त्यस्ता कुराकानीलाई समेटेर डकुमेन्ट्री बनाउने योजनामा छ।

“हामीले कुरा गरेका आधाभन्दा बढी एशियाली जलवायु परिवर्तनको असरबारे सचेत देखिए”, मानिसहरूसँग कुरा गर्न रुचाउने डेभिड भन्छन्, “दक्षिण अमेरिकामा योभन्दा बढी सचेतना छ।”

यद्यपि, अमेरिकी नागरिक भएकाले आफूहरूलाई जलवायु परिवर्तनबारे चेतनाको कुरा गर्न कतिपय अवस्थामा अप्ठ्यारो लाग्ने गरेको उनले सुनाए।

cyclistकिनभने, उनका अनुसार, जलवायु परिवर्तनको क्षेत्रमा अमेरिकाले गर्नुपर्ने काम धेरै छ। हुनपनि, उनीहरूको यात्राकै क्रममा एशियामा जलवायुका मुद्दामा धेरै काम भइरहेका छन्।

गत महीना मात्रै चीनले सन् २०३० सम्ममा कार्बन उत्सर्जन न्यून बनाउने प्रतिबद्धता गरेको छ। त्यसो त अमेरिकाले पनि कार्बन उत्सर्जन आधा घटाउने भनेको छ।

यस सम्बन्धमा भारतबाट भने राम्रो समाचार आएको छैन। ऊर्जाका लागि कोइलाको प्रयोग बढाउने योजना बनाएको भारतले द्रुत आर्थिक विकासका लागि वातावरणीय मुद्दालाई बेवास्ता गरेको छ। एशियालीहरूको आतिथ्यबाट दंग परेका डेभिड र लिन्ड्सेको साइकल यात्रा अब त्यही भारततिर सोझिनेछ।

‘डाटा जर्नालिष्ट’ डेभिडले यसअघि दक्षिण एशियामा सीमा वारपार पानी प्रयोगको विषयमा अनुसन्धान गरेका थिए। त्यसकारण पनि यो यात्रा महत्वपूर्ण भएको उनी बताउँछन्। यो दम्पती नेपालमा जलवायु परिवर्तनले पारेको प्रभावबारे स्थानीय जनतासँग बुझ्न विना साइकल एकहप्ते ‘ट्रेक’ को तयारीमा छ।

क्लेर ली र स्टेफेन हुएट

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>