थप समाचारशनिबार, पौष ५, २०७१
समृद्धिको कछुवा गति (फोटो फिचर)
– बच्चु विक, धुली, बझाङ
आठ वर्षअघि शुरू भएको ८५ किमी लामो चैनपुर–ताक्लाकोट सडकको निर्माण योजना अनुसार अघि बढेको भए यतिखेर बझाङबाट मोटर चढेरै तिब्बतको ताक्लाकोट पुगिन्थ्यो भने हिन्दूहरूको पवित्र तीर्थस्थल मानसरोवर–कैलाश जाने तीर्थालुहरूको चाप यो रुटमा थेग्नै नसक्ने गरी बढिसकेको हुन्थ्यो।
सरकारी बेवास्ताले सडक निर्माण कछुवा गतिमा रहँदा त्यो अवस्था अहिलेसम्म कल्पनामै सीमित छ। स्थानीय धनगिरी जेठारा (४९) भन्छन्, “यस्तै हो भने मेरो पालामा त खोइ, छोराकै पालामा पनि गाडी चल्ने टुंगो छैन।”
२०६३ मा एशियाली विकास ब्याङ्क (एडीबी) को सहयोगमा सडक निर्माण शुरू भएकै वर्ष रु.१८ करोडको ‘कामका लागि खाद्यान्न’ योजना ल्याइएपछि भोकमरी परिरहने यो क्षेत्रमा काम गरेबापत चामल पाइने हुँदा स्थानीय बासिन्दामा उत्साहको सञ्चार भयो।
बझाङका पूर्व जिविस सभापति चेतराज बजाल योजना शुरू भएपछि दैनिक तीन हजारभन्दा बढी स्थानीयवासी सडक निर्माणमा जुटेको बताउँछन्। ट्रयाक खुल्न थालेपछि चाहिं सडक लैजाने रुटबारे सेती नदीको पूर्वी र पश्चिमी किनारका बासिन्दाबीच विवाद शुरू भयो।
मेलविसौना गाविसका बासिन्दा पूर्वी र धमेना गाविसका बासिन्दाले पश्चिमी किनारबाट सडक लैजान दबाब दिंदै विरोध प्रदर्शन र निर्माणकार्यमा अवरोध पुर्याउन थालेपछि जिल्लास्थित राजनीतिक दलहरूले पनि विवाद मिलाउन सकेनन्।
सेतीको पश्चिमी किनार चैनपुरबाट सुनिकोट र धमेनाहुँदै काँडा गाविसको धुलीबाट ताक्लाकोट पुग्ने गरी काम शुरू गरिए पनि मेलविसौनावासीको दबाबमा एडीबीले पूर्वी किनारमा सर्वे गरेपछि विवाद बल्झिएको थियो।
चैनपुरबाट धमेनाहुँदै धुलीसम्म पुग्ने दूरी ६२ किमी र त्यहाँबाट ताक्लाकोट २३ किमी छ भने सुनिकोट–मेलविसौना हुँदै धुली पुग्न थप १८ किमी सडक निर्माण गर्नुपर्छ।
सुनिकोट र मेलविसौना गाविस जोड्ने सेती नदीमा पुल निर्माणमा थप रु.१५ करोड लाग्ने अनुमान छ। यो विवादबीच ६ वर्षमा २० किमी सडकको ट्रयाक खोलेर एडीबीले हात झिकेपछि निर्माणको जिम्मा सडक विभागले लिएको छ।
समृद्धिको सुस्त गति
सडक विभागले जिम्मा लिएपछि निर्माण कार्य झ्न् सुस्त बनेको छ। करीब रु.५ अर्ब १३ करोड २५ लाखको योजना भए पनि गत वर्षको रु.५ करोड र यो वर्ष विनियोजित रु.६ करोड बजेटबाट सडक कोतर्ने काम मात्र भयो।
चैनपुर–ताक्लाकोट सडक आयोजना प्रमुख कृष्णप्रसाद अधिकारी भन्छन्, “विविध कारणले गत वर्ष रु.५ करोड पूरै खर्च गर्न सकिएन, यो वर्ष पूरै खर्च गर्छौं।”
आर्थिक वर्ष शुरू भएको पाँच महीनापछि ठेक्का प्रक्रिया शुरू गरेको सडक आयोजना अर्को महीनादेखि काम शुरू हुने आशामा छ। गत वर्ष टुक्रा–टुक्रामा दिइएको ठेक्का अनुसार ट्रयाक खोल्ने काम गरिरहेको ठेकेदार जनक शाही बताउँछन्।
अब हिउँ पर्न थाल्ने र चैत नसकिंदासम्म भारततिर गएका कामदार नफर्कने हुँदा मजदूर पाउन गाह्रो हुने बताउँदै शाही भन्छन्, “काम गर्ने समयसम्म बजेट आइपुग्दैन, ढिलो गरी आउँदा काम गर्न सकिन्न।”
चैनपुर–ताक्लाकोट सडक आयोजना प्रमुख अधिकारी पनि समयमा बजेट निकासा नहुने, त्यसपछि ठेक्का प्रक्रियामै दुई महीना लाग्ने र मौसमका कारण समस्या अरू थपिने बताउँछन्।
“त्यसमाथि ठूल्ठूला चट्टान कुटो–कोदालो र घनले फुटाउनुपर्छ, विस्फोट गराउन पाइँदैन” अधिकारी भन्छन्, “एउटै चट्टान फुटाउन महीनौं लाग्छ, अनि कसरी छिटो हुन्छ?”
चैनपुर–ताक्लाकोट सडक देशकै गरीबमध्येको जिल्ला बझाङ मात्र नभई सुदूरपश्चिमकै समृद्धिसँग जोडिएको छ। चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो उत्तर–दक्षिण सडक यही हुनेछ।
संसारभरका हिन्दूको पवित्र तीर्थस्थल मानसरोवर–कैलाश पुग्ने सबैभन्दा छोटो र सजिलो बाटो पनि भएकाले भारतीय धार्मिक पर्यटकको आगमनले मात्रै यो क्षेत्रको कायापलट हुन सक्छ।
बझाङका जिल्ला वन अधिकृत रमेश चन्द भन्छन्, “मानसरोवर–कैलाश पुग्ने यत्तिको छोटो र सजिलो अर्को बाटो छैन।”