थप समाचारआइतबार, पौष ६, २०७१
अधिकारी हत्याका आरोपी पक्राउ
–सविता श्रेष्ठ, चितवन
गोरखाका कृष्णप्रसाद अधिकारीको हत्याका आरोपी रामप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले ५ पुस साँझ काठमाडौंको बालाजुबाट उनलाई पक्राउ गरेको हो ।
उनलाई ५ पुस राति नै चितवन ल्याइएको चितवनका प्रहरी प्रमुख एसपी सहकुल थापाले जानकारी दिए । अधिकारीलाई प्रहरीले ६ पुसमा जिल्ला अदालतमा चितवनमा पेश गरेको छ ।
उनीमाथि गोरखा फुजेल–७ का कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न रहेको आरोप छ । एसएलसी परीक्षा दिएर २४ जेठ २०६१ मा चितवनमा रहेका हजुरबा भेट्न पुगेका कृष्णप्रसादलाई तत्कालीन नेकपा माओवादीले अपहरण गरी हत्या गरेका थिए ।
पीडित परिवारले दिएको किटानी जाहेरीका आधारमा यसअघि पनि पक्राउ परेका रामप्रसाद अधिकारी तारिखमा रिहा भएका थिए । तर, उनी फरार रहेकाले पक्राउ गरिएको एसपी थापाले बताए ।
अधिकारीविरुद्ध जिल्ला अदालत चितवनमा कर्तव्य ज्यान मुद्दा चलिरहेको छ । उनीसँगै ११ जना विरुद्ध हत्या गरिएका कृष्णप्रसादका परिवारले प्रहरीमा किटानी जाहेरी दर्ता गराएका थिए ।
छोरा कृष्णप्रसादको हत्यारामाथि कारबाहीको माग गर्दै अनशनमा बसेका बाबु नन्दप्रसादको अनशनकै क्रममा निधन भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
