थप समाचारआइतबार, पौष ६, २०७१

एउटा ‘भर्जिन’ गाउँ (दश तस्वीर)

हिमालखबर

पर्यटक लोभ्याउने लमजुङको घले गाउँ जस्तै प्राकृतिक सौन्दर्य बोकेको छ ओखारी गाउँले ।

शब्द/तस्वीरः डम्बरकृष्ण श्रेष्ठ, लमजुङमा

एउटा ‘भर्जिन’ गाउँ लमजुङको गौंडा–१ ओखारीका हरेक घर–आँगनबाट पश्चिममा अन्नपुर्ण–२ (७,९३७ मी.), लमजुङ हिमाल (६,९८३ मी.), उत्तर पश्चिममा मनास्लु (८,१५६ मी.), हिमालचुली (७,८९३ मी.) र बौद्ध हिमाल (६,७३६ मी.) का श्रृङ्खला देखिन्छ ।

ओखारीगाउँबाट देखिने मनास्लु, हिमालचुली र बौद्ध हिमाल ।

ओखारीगाउँबाट देखिने मनास्लु, हिमालचुली र बौद्ध हिमाल ।

सूर्योदयदेखि सूर्यास्तसम्म टल्किरहने यो गाउँमा हिमालतिरै फर्किएका एकनासका घर छन् । ओखारी पुगेपछि थाहा हुन्छ– घले गाउँ, सिरुबारी वा बारपाक जस्तो पर्यटनमा ख्याति कमाइनसकेका ‘भर्जिन’ गाउँहरू नेपालमा अझै धेरै रहेछन् ।

एउटा ‘भर्जिन’ गाउँ

ओखारीगाउँको पृष्ठभूमिमा अन्नपूर्ण–२ र लमजुङ हिमाल ।

बेसीशहर र भोटे ओढारबाट पैदल ६ घण्टा लाग्ने ओखारी गाडीमा तीन घण्टामा पुगिन्छ । धेरै हिंड्न नसक्नेले उकालो जाँदा गाडीमा र फर्कंदा दोर्जी खोला र मस्र्याङ्दी नदीको तीरैतीर ओरालो पैदल यात्रा गरे हुन्छ ।

ओखारीगाउँ पुगेका पर्यटक ।

ओखारीगाउँ पुगेका पर्यटक ।

बाटोमा देखिने गाउँ, नागी र बादलले ढाकेको खोंचका दृश्यहरूले थकान मेटाइदिन्छ । ओखारीको दक्षिण पाटोमा रहेको मनझ्याङ गाउँको सौन्दर्यले पनि पैदलयात्रीको मन तान्छ । यो बाटो हिंड्दा आमा समूह, सोलार र लघु जलविद्युत्ले नेपाली गाउँघरमा ल्याएको चमत्कार पनि देख्न सकिन्छ ।

ओखारीगाउँ पुगेका पर्यटक ।

ओखारीगाउँ पुगेका पर्यटक ।

आमाहरूको सक्रियता

गाउँघरमा विकृति, विसंगति विरुद्ध स्थापना भएको ओखारी गाउँको मिलन आमा समूह सामाजिक काममा पनि सक्रिय छ । आप्mनै सामुदायिक भवन स्थापना गरेको समूहले १३ रोपनी जग्गामा अलैंची खेती गरेर यो साल मात्रै रु.७ लाख ३१ हजार कमाइ गरे ।

लमजुङको ओखारीगाउँबाट देखिएको अन्नपूर्ण–२ हिमाल ।

लमजुङको ओखारीगाउँबाट देखिएको अन्नपूर्ण–२ हिमाल ।

गाउँको जनहित सहकारीमा ठूलो शेयर आमाहरूकै छ । आमाहरूकै सक्रियतामा चिहान डाँडादेखि गाविस भवनसम्म तीन किमी सडक समेत खनिएको वडा संयोजक जयराम गुरुङ (४२) बताउँछन् । गाउँको आकर्षण बनेको गुम्बा निर्माणमा आमा समूहको पनि योगदान छ ।

आमा समूहकी अध्यक्ष जीतकुमारी गुरुङ र ओखारीगाउँ संयोजक जयराम गुरुङ ।

आमा समूहकी अध्यक्ष जीतकुमारी गुरुङ र ओखारीगाउँ संयोजक जयराम गुरुङ ।

घरैपिच्छे जसो युवाहरू वैदेशिक रोजगारमा गएकाले समूहलाई विदेशबाट आर्थिक सहयोग समेत आउने गरेको छ । गाउँघरमा पर्यटक आइहाले आमाहरूले नाचगान कार्यक्रम गरेर पनि सहयोग जुटाउने गरेका छन् । ६५ घरका आमाहरू आबद्ध समूहकी अध्यक्ष जीतकुमारी गुरुङ (४५) गाउँमा यत्तिकै बस्नु भन्दा सबै मिले धेरै काम गर्न सकिन्छ भनेर लागिपरेको बताउँछिन् । भन्छिन्, “सबै मिलेर गाउँमा धेरै सुधारका काम गरिरहेका छौं । अझै धेरै गर्न बाँकी नै छ ।”

ओखारीगाउँको मनमोहक दृष्य ।

ओखारीगाउँको मनमोहक दृष्य ।

ओखारीको बाटो भएर जोर्ने, इलम पोखरीहुँदै दूधपोखरी (४,७०० मी.) सम्म पुग्न सकिने भए पनि यो गाउँ कुनै पर्यटकीय रुट या गन्तव्यमा पर्न सकेको छैन ।

ओखारीगाउँको मनमोहक दृष्य ।

ओखारीगाउँको मनमोहक दृष्य ।

गाउँका संयोजक जयराम गुरुङ गाउँलाई ‘घले गाउँ’ जस्तै पर्यटकीय गन्तव्य बनाउनेबारे सोच्न थालिएको बताउँछन् । पर्यटकका लागि ‘होम स्टे’ सञ्चालन गर्ने र निरन्तर सरसफाइ गरेर ओखारीलाई सुन्दर पर्यटकीय गाउँमा रुपान्तरण गर्ने योजना रहेको उनले बताए । भन्छन्, “हामीलाई प्रकृतिले धेरै दिएको छ । गाउँको स्याहार र सम्भार गरे मात्रै पनि पुग्छ ।”

घाँस बोकेर घर फर्कंदै बालिका ।

घाँस बोकेर घर फर्कंदै बालिका ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>