ब्लगमंगलबार, पौष ८, २०७१
खुशी बाँडे दोब्बर
स्वीट्जरल्याण्डकी निकोल माउ श्रेष्ठ (३१) ले लमजुङका गाउँ डुल्दा बालबालिकासँग दुःखलाई आधा र खुशीलाई दोब्बर बनाइन्।
२७ मंसीरमा लमजुङको भोटेओडारमा सानो मेला लागेको रहेछ। दुई जना चढेको पीङमा बाँकी १८ सीट खाली थिए। ३५–४० जना बालबालिका पीङ घुमेको हेरिरहेका थिए। केहीबेर त्यो रमिता हेरेपछि निकोलले पीङवालालाई ती सबै बालबालिकालाई पीङ खेलाउन कति पैसा लाग्छ भनेर सोधिन्। एक जनाको रु.५० लाग्ने रहेछ।
अनि हामी सबै लागेर रु.२० का दरले सबैलाई चढाउन पीङवालालाई मनायौं। बालबालिकाको मुहार चम्कियो। केही भाइबहिनी लिन घरतिर दौडिए। निकोल मुसुमुसु हाँस्दै अलिपरको डाँडामा गएर बालबालिका पीङमा रमाएको हेर्न थालिन्।
भोलिपल्ट बेलुकी लमजुङकै गौंडा–१ ओखारी पुगियो। गाउँको आमा समूहले जयराम गुरुङको आँगनमा पाहुनालाई स्वागत गर्ने तयारी गरेका रहेछन्। त्यहाँ पुग्नुअघि नै ‘नमस्ते’ भन्दै ८/९ जना बालबालिका हाम्रो अघिपछि लागिसकेका थिए।
निकोलले झोलाबाट एक मुठा स्वीस डटपेन निकालेर सबैको हातहातमा राखिदिइन्।
टलक्क टल्कने चिप्लो डटपेन समातेका बालबालिकाका मुहार आश्चर्य र खुशीले चम्किए। उनीहरुले पहिले ‘धन्यवाद’ भने अनि गीत सुनाए। उनीहरुको खुशीमा निकोलसँगै हामी पनि रमायौं।
बिहान ओखारीबाट डाँडाको गुम्बाको पैदलयात्राको तयारी हुँदै गर्दा ८ वर्षकी वृन्दा परियार तीन वर्षकी बहिनी मनीषालाई बोकेर हामीलाई हेर्न आइपुगिन्। दिदीबहिनीको हातमा चकलेट राखिदिंदै बहिनीको खाली खुट्टा देखेपछि निकोल जुत्ता किन्न नजिकैको पसलमा गइन्।
उनले चिसोले कठ्यांग्रिएको खुट्टामा नयाँ जुत्ता लगाइदिंदा दिदीबहिनीको मुहारमा जूनतारा लाग्यो। निकोलको अनुहारमा पनि सन्तुष्टिको सागर उर्लियो। उनले ती दिदीबहिनीलाई स्कूल पठाउन कति खर्च लाग्ला भनेर सोधिन्।
पाहुनालाई डाँडासम्म पुर्याउन तयार परेका घरबेटी जयराम गुरुङले नेपालमा प्राथमिक तहको पढाइका लागि पैसा नलाग्ने अनि वृन्दा र मनीषालाई आउँदो शैक्षिक सत्रबाट स्कूल पठाउन तिनका बाबुआमालाई मनाइसकेको बताएपछि निकोल ढुक्क देखिइन्।
२७–३० मंसीरमा लमजुङको पदयात्रामा रहेको हाम्रो टोलीमा थिए– निकोल र उनका पति निराजन श्रेष्ठ।
९ वर्षअघि काठमाडौंका निराजनसँग स्वीट्जरल्याण्डमा विवाह गरेकी निकोलले यात्राभर धेरै ठाउँमा प्रेम–स्नेहका थुप्रै बान्की देखाइन्।
पेशाले प्राथमिक स्कूल शिक्षिका भएकीले उनलाई बालबालिकाले तुरुन्तै तान्थे। निकोल र बालबालिकाको भेटपछि दुवै पक्षमा अपार खुशी देखिन्थ्यो।
आखिर आत्मसन्तुष्टिका लागि मनैदेखि गरिने स–साना काम र व्यवहारले पनि धेरैको लागि ठूलो खुशी दिने रहेछ। ‘दुःख बाँडे आधा हुन्छ, खुशी बाँडे दोब्बर’ भनेको यही होला ।
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
