थप समाचारबुधबार, पौष ९, २०७१
शुक्लाफाँटाका हात्तीमा क्षयरोग
शुक्लाफाँटा वन्यजन्तु आरक्षमा क्षयरोग लागेको एउटा हात्ती उपचार नपाएर मरेको छ। एउटा हात्ती उपचारबाट निको भए पनि अन्य दुई हात्तीको उपचार हुनसकेको छैन।
चार वर्षअघि राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा चितवनबाट आएको पशु चिकित्सकको टोलीले परीक्षण गर्दा आरक्षका चारवटा हात्तीमा क्षयरोग देखिएपछि उपचार गर्न सुझाएको थियो।
आरक्षका पशु चिकित्सक कर्णबहादुर वम त्यतिबेला प्रकाशकली, लवप्रकाश, रतनकली र शारदाकलीमा क्षयरोग देखिएको बताउँछन्। उपचार अभावमा प्रकाशकलीको एक वर्षअघि मृत्यु भयो भने लवप्रकाश र रतनकलीको उपचार हुनसकेको छैन। वम भन्छन्, “बर्दियामा चिकित्सक आउँदा शारदाकलीलाई उपचारका लागि पठाएका थियौं, अहिले ठीक भएको छ।” उपचार नपाएका लवप्रकाश र रतनकलीको स्वास्थ्य कमजोर बन्दै गएको छ।
आरक्षका कर्मचारीका अनुसार, उनीहरू आरक्षभित्र लामो दूरीमा गस्तीमा जान सक्दैनन्, धेरै हिंडाउँदा पल्टिहाल्छन्। अहिले अर्को हात्ती सिद्धकली पनि बिरामी परेको र क्षयरोग त्यसमा पनि सरेको आशंका छ। पशुचिकित्सक वम भन्छन्, “परीक्षण नगरिएकाले यसै भन्न सकिन्न।”
लामो समयसम्म उपचार हुन नसक्दा हात्तीमा चढेर गरिने सुरक्षा गस्ती समेत प्रभावित भएको छ। कुल १० हात्तीको दरबन्दी रहेको शुक्लाफाँटामा आठ वटा मात्र हात्ती रहेकोमा प्रकाशकली मरेपछि बाँकी सातमध्ये शारदाकलीले आँखा देख्दैन। अहिले शुक्लाफाँटा पोष्टमा रतनकली र रूपकली, पिपरैया पोष्टमा नारायणप्रसाद, लवप्रसाद, सिद्धप्रसाद र शारदाकली तथा मालुमेला पोष्टमा सुर्तीकली छन्। यी हात्तीमा पनि क्षयरोग सर्ने खतरा छ।
हात्तीको उपचार गर्न सक्ने पशुचिकित्सक यो क्षेत्रमै छैनन्। परीक्षणका लागि प्रयोगशाला पनि नभएकोले उपचारमा समस्या भएको आरक्षका सहायक संरक्षण अधिकृत चन्द्रबहादुर चन्द बताउँछन्।
शुक्लाफाँटामा सुरक्षा गस्ती र आरक्ष वरपरका क्षेत्रमा वितण्डा मच्चाउने जंगली हात्तीलाई धपाउने एउटै विकल्प आरक्षभित्रका हात्ती नै हुन्। बाह्रसिङ्गापछि शुक्लाफाँटाको मुख्य पर्यटकीय आकर्षण रहेको हात्ती नै क्षयरोगको चपेटामा परेपछि धेरै समस्या परेको कर्मचारीहरू बताउँछन्।
बच्चु विक, महेन्द्रनगर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
