अर्थ/बजारबुधबार, पौष ९, २०७१
संविधानको पर्खाइमा समृद्धि
-रमेश कुमार
बहुदलीय शासन प्रणाली पुनर्स्थापना भएको छोटो अवधिमै शुरू भएको राजनीतिक अस्थिरता, दशक लामो माओवादी हिंसात्मक विद्रोह र त्यसपछिको लम्बे संक्रमणकालले उद्योग–व्यवसाय, उत्पादन, लगानी, रोजगारीलगायत अरू आर्थिक क्रियाकलाप सबैतिर नकारात्मक प्रभाव पार्यो।
‘जोखिममै अवसर’ खोज्ने नयाँ व्यवसायीहरू जन्मिए पनि पुरानाको पलायन रोकिएन। लगानी विस्तारबारेको हरेक प्रश्नमा स्थापित व्यवसायीहरूको जवाफ हुन्थ्यो, ‘भएका उद्योग–व्यवसाय बचाउन त गाह्रो छ, केको थप लगानी!’
देश सामान्यकालमा फर्किनसके पनि सम्भावनाका क्षितिजहरू भने विस्तारै खुल्न थालेका छन्। पर्यटन, जलविद्युत्, सिमेन्ट, कृषि, पूर्वाधारलगायतका क्षेत्रमा आशा जगाउने गरी लगानी विस्तार हुन थालेको छ।
नयाँ उद्योग थपिने क्रमसँगै सञ्चालनमा रहेका उद्योगहरूले क्षमता बढाउँदैछन् भने विदेशी लगानीकर्ता पनि आउन थालेका छन्। सुस्त देखिएका कर्पोरेट घरानाहरू सम्भावनायुक्त क्षेत्रमा लगानीको तानाबाना बुनिरहेकाछन्।
कतिपयले त आयोजनाहरूमा पैसा खन्याउन नै थालिसकेका छन्। चर्को लोडसेडिङ र राजनीतिक अनिश्चयका बीचका यस्ता गतिविधिहरूले ‘कालो बादलमा चाँदीको घेरा’ देखाएका छन्। व्यवसायीहरू यसलाई ‘लगानीले पुनर्जीवन पाएको संकेत’ भन्न थालेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष पशुपति मुरारका व्यवसायीहरूको यस्तो मनोबल कायम राख्न संविधान निर्माण मुख्य खुड्किलो भएको बताउँछन्। वातावरण सुधि्रए कागजमा सीमित परियोजनाहरू कार्यान्वयनमा आउन धेरै बेर नलाग्ने मुरारकाले बताए। देशमा लगानीको माहोल शुरू भइसकेको बताउने अर्थशास्त्री केशव आचार्य भन्छन्, “संविधान आइदिए अर्थतन्त्रको अनुहारै फेरिनेगरिको लगानी आउने संकेत देखिएको छ।”
पर्यटनमा स्वर्णकाल
विश्वस्तरमा नाम चलेका ब्रान्डदेखि स्थानीय लगानीकर्तासम्मको ध्यान यतिखेर सुविधासम्पन्न होटल निर्माणमा छ। काठमाडौं, पोखरा, भैरहवा, चितवनलगायतका क्षेत्रमा एकदर्जन हाराहारी पाँचतारे होटल बन्दैछन्।
पर्यटन व्यवसायमा प्रचूर सम्भावना देखेरै होटल निर्माणमा रु.४० अर्ब हाराहारीको लगानी हुँदैछ। गैर–आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष शेष घलेले काठमाडौंको कान्तिपथमा पाँचतारे होटल बनाउँदैछन्।
घलेको ‘एमआईटी ग्रुप होल्डिङ्स् नेपाल प्रा.लि’ले विश्व प्रसिद्धस्टारवुड कम्पनीको चेन होटल शेराटनसँगको सहकार्यमा फेब्रुअरी २०१८ बाट होटल सञ्चालनमा आउने गरी काम गरिरहेको छ। ‘काठमाडौं शेराटन’ ब्रान्डको यो होटलमा साढे सात अर्ब रुपैयाँ लगानी हुनेछ।
एनआरएनएले पनि काठमाडौंमा पाँचतारे होटल खोल्ने घोषणा गरिसकेको छ। यसैगरी, ब्याङ्कर पृथ्वीबहादुर पाँडे, पर्यटन व्यवसायी सुमन पाण्डे लगायतले ठमेलमा करीब रु.३ अर्बको १४ तले छाया कम्प्लेक्स बनाइरहेका छन्, जहाँ पाँचतारे होटल र शपिङ मल संचालन हुनेछन्।
कम्प्लेक्सका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठ एक वर्षभित्र शपिङ मल र दुई वर्षमा होटल सञ्चालनमा आउने बताए। “कम्प्लेक्समा क्यासिनो र सिनेमा हल पनि हुनेछ”, श्रेष्ठ भन्छन्, “यसका लागि प्रसिद्ध अमेरिकी ब्रान्ड स्टारवडको अलफ्टसँग सहकार्य गर्दैछौं।”
उत्पादनमूलकक्षेत्रमा लगानी गरिरहेको एमएस ग्रुपले विश्व प्रसिद्ध चेन ‘म्यारिओट’ सँग मिलेर नक्सालमा पाँचतारे र ठमेलमा चारतारे होटल निर्माण गरिरहेको छ। समूहका प्रबन्ध निर्देशक शशिकान्त अग्रवालका अनुसार, तीन वर्षभित्र सञ्चालनमा आउने २३५ कोठाको पाँचतारे होटलमा रु.३ अर्ब ५० करोड र एक वर्षपछि खुल्ने ११० कोठाको चारतारे होटलमा करीब रु.१ अर्ब लगानी हुनेछ।
यसैगरी, कृषि र व्यापारमा सक्रिय वैद्यज् अर्गनाइजेसनले काठमाडौंको तीनकुनेमा १७० कोठाको पाँचतारे होटल बनाउने भएको छ। रु.२ अर्ब लगानी हुने होटलका लागि वित्तीय प्रबन्ध मिलाउने काम भइरहेको र छिट्टै निर्माण शुरू गरिने लगानीकर्ता सुरज वैद्य बताउँछन्। पर्यटन व्यवसायी योगेन्द्र शाक्य भन्छन्, “पर्यटनमा लगानीकर्ताको मनोबल गज्जबले बढेको छ।”
सरकारी स्वामित्वको नागरिक उड्डयन प्राधिकरण पनि अन्तर्राष्ट्रिय विमानस्थल पश्चिममा विमानस्थल सुधार आयोजना रहेको जग्गामा करीब डेढ अर्बको पाँचतारे होटल खोल्ने तयारीमा छ। यसको लागि अर्थ मन्त्रालयले स्वीकृति दिइसकेको छ।
प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमन मन्त्रिपरिषद्बाट पनि अनुमति पाए तीन वर्षभित्र होटल निर्माण भइसक्ने बताउँछन्। यसको निर्माण, सञ्चालन र स्वामित्व हस्तान्तरण (बुट) मोडलमा हुने उनले बताए।
अजयराज सुमार्गी अध्यक्ष रहेको मुक्तिश्री समूहले पनि युरोपेली ब्रान्डसँगको सहकार्यमा रु.५ अर्ब लगानीमा पाँचतारे होटल निर्माण गर्ने घोषणा गरेको छ। चौधरी समूहले आगामी वर्षभित्रै सञ्चालनमा ल्याउने गरी ललितपुरको झ्म्सिखेलमा करीब रु.१ अर्ब लगानीमा चारतारे होटल बनाइरहेको छ।
योगेन्द्र शाक्यको एस होटल समूहले लाजिम्पाटस्थित पुरानो एम्बेसेडर होटल भएको ठाउँमा करीब रु.३५ करोड लगानीमा नयाँ होटल बनाइरहेको छ। “अक्टोबर २०१५ मा यो होटल सञ्चालनमा आएपछि चितवन वा काठमाडौंको नागपोखरीमध्ये एक ठाउँमा तीन वा चारतारे नयाँ होटल बनाउँछौं”, शाक्यले भने।
यसैगरी, सूर्य नेपाल प्रालिले काठमाडौंमा रु.२ अर्बभन्दा बढीको लगानीमा पाँचतारे होटल बनाउने तयारी थालेको कम्पनीका वरिष्ठ कर्पोरेट भाइस पे्रेसिडेन्ट रवि केसीले बताए। सूर्य नेपालको प्यारेन्ट कम्पनी आईटीसीले भारतका विभिन्न स्थानमा मौर्यसहितका लक्जरी होटल सञ्चालन गरिरहेको छ।
नेपालको पर्यटन सम्भावनालाई समात्न कम्पनीले होटल व्यवसायमा हात हाल्न लागेको केसीले बताए। जगदम्बा समूहले पनि काठमाडौंमा रु.२ अर्ब ५० करोड लगानीमा पाँचतारे होटल बनाउने योजना बनाएको प्रबन्ध निर्देशक साहिल अग्रवाल बताउँछन्।
पोखराबाट उदाएर राष्ट्रियस्तरमा विस्तार भएको लक्ष्मी समूहले पनि दुई वर्षभित्रै सञ्चालनमा आउने गरी काठमाडौंमा पाँचतारे होटल बनाउने तयारी थालेको समूहका कार्यकारी निर्देशक अन्जन श्रेष्ठले बताए।
पोखरा, भैरहवा, चितवन, विराटनगरलगायतका ठाउँमा पनि होटल निर्माणले गति लिंदैछ। विराटनगरको धरानरोडमा मोति दुगडले साढे दुई वर्षमा सक्ने गरी रु.१ अर्ब २० करोडको ‘दि सेन्चुरियन’ भवन बनाउन लागेका छन्।
भवनमा पाँचतारे होटल, सिनेमा हल र शपिङ मल संचालन हुनेछन्। दुगडको रु.२५ करोड लगानीको तीनतारे सुविधाको गेस्टहाउस निर्माणाधीन छ, विराटनगरमै। यता चितवनको मेघौलीमा चौधरी समूहले ‘जिंक जर्नी’ ब्रान्डमा ‘हाइ भ्याल्यु रिसोर्ट’ बनाउँदैछ। समूहका कर्पोरेट कम्युनिकेसन हेर्ने महाप्रबन्धक मधुसूदन पौडेलका अनुसार तीन महीनाभित्र सञ्चालनमा आउने साततारे स्तरकोे ३० बेडरुमको रिसोर्टमा रु.३० करोडभन्दा बढी लगानी हुँदैछ।
समूहले रु.१ अर्बभन्दा बढीको लगानीमा भरतपुरमा निर्माण गरिरहेको १० तले मल्टीपर्पोज ल्याण्डमार्क कम्प्लेक्समा ४८ कोठाको बिजनेस होटल खोल्दैछ। कम्प्लेक्समा सिनेमा हल, फुड कोर्ट, शपिङ मल पनि हुनेछ। यस्तै, पाँचतारे होटल सांग्रिलाले पोखराको वेगनासमा रु.४० करोड लगानीमा पाँचतारे होटल बनाउने तयारी थालेको जानकारी कार्यकारी निर्देशक प्रवीण पाण्डेले दिए।
विदेशी लगानीकर्ताले समेत नेपालमा होटल व्यवसायमा हात हाल्दैछन्। अष्ट्रेलियाको सिल्भर हेरिटेज लिमिटेड भैरहवामा रु.३ अर्ब लगानीमा २०० बेडरुमको पाँचतारे होटल बनाउन थालेको छ।
मणिग्राम नजिकै १६ बिघा जग्गामा बन्ने क्यासिनो र गल्फ कोर्ससहितको यो होटल २०१६ भित्रै संचालनमा आउने सिल्भर हेरिटेजका नेपालस्थित कार्यकारी अध्यक्ष राजेन्द्र बजगाईले बताए। “सिल्भर हेरिटेजले काठमाडौं र पोखरामा पनि पाँचतारे होटल खोल्नेछ” बजगाई भन्छन्, “सन् २०२० भित्र अन्य व्यवसाय समेत गरी नेपालमा रु.३० अर्ब हाराहारी लगानी पुर्याउने छ।”
नगरकोटमा गोल्छा, विशाल लगायतका समूहको उच्चवर्गका पर्यटक लक्षित ‘लक्जरी भिल्ला’ हरू निर्माणाधीन छन्। थाई चेन होटल ‘इपिच्युरियन’ले व्यवस्थापन सम्हाल्ने र २०१६ भित्र सञ्चालनमा आउने ३५ वटा भिल्लाको यो रिसोर्टले भूटान, राजस्थान लगायतका ठाउँमा जाने पर्यटक तान्ने लगानीकर्तामध्येका एक हितेश गोल्छा बताउँछन्। लगानी नखुलाइए पनि लक्जरी भएकाले यसमा फर्मूला होटलभन्दा धेरै लगानी हुने गोल्छा बताउँछन्।
नेपाल राष्ट्र ब्याङ्कको अध्ययन अनुसार आर्थिक वर्ष २०७०/७१ को अन्त्यसम्ममा देशभर स्तरीय होटल र लजको संख्या १ हजार ८०० पुग्नेछ। यो आँकडाले नेपालमा पर्यटनको स्वर्णकाल आउन लागेको संकेत गरेको छ।
पर्यटन गन्तव्य बन्न थालेको नेपालको बजार ओगट्न आधादर्जन विदेशी कम्पनीले उडान शुरू गर्दैछन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार, श्रीलंकाको मिहिनलंका, बंगलादेशको रिजेन्ट, चीनको सिचुवान र मलेशियाको मालिन्दोले उडान अनुमतिका लागि नागरिक उड्डयन प्राधिकरणमा आवेदन दिएका छन्। २६ वटा विदेशी एयरलाइन्सले नेपालमा उडान अनुमति पाइसकेका छन्।
भारतको ‘गो–एअर’ नेपालमा उडान शुरू गर्ने तयारीमा छ। नेपाली लगानीकर्ताको समेत हिस्सा रहेको रु.२ अर्ब ५० करोड लगानीको हिमालयन एयरलाइन्स ल्हासा उडान शुरू गर्ने तयारीमा छ। एउटा विमानबाट उडान थालेर एक वर्षमा तीनवटा जहाज पुर्याउने लगानीकर्तामध्येका एक सुमन पाण्डेले बताए।
आन्तरिक वायुसेवा कम्पनी थपिनेक्रम पनि जारी छ। सौर्य एयरलाइन्सले ५४ सीटे जहाजबाट उडान शुरू गरेको छ भने राष्ट्रिय ध्वजावाहक नेपाल एअरलाइन्स (एनए) ले चीनबाट भर्खरै भित्र्याएका दुइटा जहाजलाई आन्तरिक उडानमा लगाएको छ। एनएले अन्तर्राष्ट्रिय उडानका लागि केही महीनाभित्रै एयरबस कम्पनीका दुइटा जहाज भित्र्याउँदैछ।
जलविद्युतमा आशा, सिमेन्टमा उत्साह
देशमा दैनिक ११ घण्टा लोडसेडिङ भइरहँदा जलविद्युत् आयोजनाहरूले गति लिएको छ। विद्युत् विकास विभागका अनुसार अनुमति लिएका दुईहजार १५६ मेगावाटका आयोजनामध्ये एकहजार २०० मेगावाटका आयोजना निर्माणाधीन छन्। विद्युत् प्राधिकरण अन्तर्गतका ८२० र निजीक्षेत्रका करीब ३८० मेगावाटका आयोजनामा रु.२ खर्ब भन्दा बढीको लगानी भइरहेको अनुमान छ।
माथिल्लो तामाकोशी (४५६ मेगावाट), माथिल्लो त्रिशूली ३–ए (६० मेगावाट), चमेलिया (३० मेगावाट), राहुघाट (३२ मेगावाट), कुलेखानी तेस्रो (१४ मेगावाट), रसुवागढी (१११ मेगावाट), मध्यभोटेकोशी (१०२ मेगावाट), दुई साञ्जेन (४२ र १४ मेगावाट) लगायतका आयोजना सरकार, विद्युत् प्राधिकरण र यसका सहायक कम्पनीले बनाइरहेका छन् भने निजी क्षेत्रका तीन दर्जन आयोजना छन्।
विद्युत् सर्वेक्षण अनुमति लिएका ६ हजार ३०० मेगावाटभन्दा बढी क्षमताका करीब डेढसय आयोजना पनि ढिलोचाँडो निर्माणमा जानेछन्।
दुई दशकअघि सम्झ्ौता भएको ६ हजार ४८० मेगावाटको पञ्चेश्वर परियोजनाको काम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि शुरू भएको छ। महाकाली नदीमा रु.३ खर्ब लगानीका परियोजना निर्माणका लागि नेपाल–भारत संयुक्त प्राधिकरणले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउँदैछ।
माथिल्लो कर्णाली (९०० मेगावाट) र अरुण तेस्रो (९०० मेगावाट) आयोजनाका लागि भारतीय प्रवर्द्धकहरू क्रमशः जीएमआर र सतलज पावरसँग आयोजना विकास सम्झाैता (पीडीए) भइसकेकाले करीब रु.२ खर्ब २२ अर्ब लगानीका यी आयोजनाको काम शुरू हुने आशा जागेको छ।
आईएमई समूहका चन्द्र ढकाललगायतका लगानीकर्ताले माथिल्लो दोर्दी–ए (२५ मेगावाट) जलविद्युत् आयोजना निर्माण शुरू गरेका छन् भने १५ मेगावाटको मध्य मोदी आयोजनाको काम थालेको चौधरी समूहले सुपरमादीसहित थप दुई आयोजना समेत निर्माण गर्दैछ। पञ्चकन्या समूहले पनि १० मेगावाटको माइखोला आयोजना निर्माण गरिरहेको छ भने गैर–आवासीय नेपालीहरूको लगानी रहेको २२ मेगावाटको सानिमा माई परियोजना अन्तिम चरणमा छ।
गैर–आवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले रूसी साझेदारसँग मिलेर ५०० मेगावाटको तमोर परियोजना निर्माण तत्काल शुरू गर्ने घोषणा गरेका छन्। जलविद्युत्मा दाताहरूको पनि रुचि बढ्दो छ।
गत फागुनमा नेपाल आएका अन्तर्राष्ट्रिय वित्त निगमका कार्यकारी उपाध्यक्ष जिन योङले जलविद्युत्मा रु.६ खर्ब लगानी गर्ने प्रतिबद्धता जनाए भने युरोपियन इन्भेष्टमेन्ट ब्याङ्कले प्रसारण लाइन करिडोरका लागि रु.१६ अर्ब ५० करोड लगानी गर्ने प्रतिबद्धता जनाइसकेको छ।
सिमेन्ट उद्योगको लगानी झ्न् उत्साहजनक छ। सौरभ समूहले हङकङको कृष्ण इन्टरनेशनल होल्डिङ्सको ४५ प्रतिशतसहित रु.६ अर्ब ५० करोड लगानीमा नवलपरासीको सुनवलबाट सर्वोत्तम सिमेन्टको उत्पादन शुरू गरेको छ। दैनिक १२०० मेटि्रक टन उत्पादन क्षमताको उद्योगले ६६० जनालाई प्रत्यक्ष रोजगारी दिएको लगानीकर्ता विष्णु न्यौपानेले बताए।
उद्योग विभागबाट साढे ६ दर्जन उद्योगले सिमेन्ट उत्पादनको अनुमति लिएका छन्। तिनीहरूमध्ये हरेकले औसतमा ६०० जनालाई प्रत्यक्ष रोजगारी दिनेछन्।
मुरारका अर्गनाइजेसनसहितका लगानीकर्ताको समूहले भैरहवामा रु.३ अर्ब लगानीमा भर्खरै उद्योग खोलेको छ। अर्घाखाँची सिमेन्टले १२ सय टन क्लिङ्कर र सिमेन्ट उत्पादन क्षमतालाई तुरुन्तै दोब्बर बनाउने गरी काम शुरू गरेको र त्यसका लागि थप रु.२ अर्ब लगानी गर्ने लगानीकर्ता पशुपति मुरारकाले बताए। उनी भन्छन्, “सरकारी प्रक्रिया अलिकति मात्र सहज भए हामी तत्काल लगानी गर्छौं।”
भारतबाट क्लिङ्कर आयात गरेर सिमेन्ट उत्पादन गरिरहेका उद्योगहरूले नेपाली चुनढंुगा प्रयोग गर्ने आफ्नै क्लिङ्कर उद्योग स्थापना गर्न थालेका छन्। केएल दुगड समूहले दैनिक ११०० टन क्लिङ्करसहित सिमेन्ट उत्पादन गर्ने गरी करीब रु.४ अर्ब ८० करोड लगानीमा धादिङमा युनाइटेड सिमेन्ट उद्योग निर्माण गरिरहेको छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेको लगानी रहेको कसमस सिमेन्टले जनकपुरमा तीन महीनाभित्र उत्पादन शुरू गर्ने गरी करीब रु.२ अर्बको क्लिङ्कर उद्योग निर्माण गरिरहेको छ। प्रबन्ध निर्देशक प्रबलजंग पाण्डे दैनिक ६०० टन क्षमताको उद्योगले दुई वर्षभित्र उत्पादन क्षमता दुईहजार टन पुर्याउन थप रु.५ अर्ब लगानी गर्ने बताउँछन्।
चौधरी समूह रु.८ अर्ब ५० करोड लगानीमा पाल्पामा क्लिङ्कर उत्पादनसहितको सिमेन्ट उद्योग स्थापनाको तयारीमा छ। दैनिक तीनहजार टन उत्पादन क्षमताको उद्योग खोल्ने तर्खरमा रहेको समूहका कर्पोरेट कम्युनिकेसन महाप्रबन्धक मधुसूदन पौडेल बताउँछन्। क्लिङ्कर आयात गरेर सिमेन्ट उत्पादन गर्दै आएको अग्नि सिमेन्टले रु.५ अर्ब लगानीमा भैरहवामा आफ्नै क्लिङ्कर उद्योग निर्माण गरिरहेको छ। दैनिक १२०० टन क्लिङ्कर उत्पादन हुने उद्योग डेढ वर्षमा संचालनमा आउने प्रबन्ध निर्देशक ताराप्रसाद पोखरेलले बताए। मारुती सिमेन्टले पनि दैनिक दुईहजार टन उत्पादन क्षमतालाई तीनहजार टन पुर्याउन रु.३ अर्ब लगानी थप्दैछ।
सिमेन्टमा ठूला विदेशी लगानीकर्ता समेत आएका छन्। अफ्रिकाको ठूलामध्येको एक औद्योगिक घराना डांगोटेले नेपालमा दैनिक ६ हजार टन क्षमताको सिमेन्ट उद्योग स्थापनाका लागि रु.५५ अर्ब लगानी गर्न लागेको कम्पनीका जनरल म्यानेजर हिक्मत थापा बताउँछन्।
सरकारबाट अनुमति लिइसकेको यो कम्पनीले दुई–तीन महीनाभित्रै खानी र उद्योगस्थल तय गर्ने थापाले बताए। डांगोटे नेपालको कुल सिमेन्ट बजारको एकतिहाइ हिस्सा लिने योजनामा छ। यसैगरी, भारतीय अर्बपति अनिल अम्बानीको रिलायन्स समूह पनि नेपाली सिमेन्ट उद्योगमा करीब रु.४० अर्ब लगानी गर्दैछ।
लगानी बोर्डले अनुमति दिइसकेको यो उद्योगले वार्षिक २३ लाख टन सिमेन्ट उत्पादन गर्नेछ। सिमेन्टका लागि लेमिनेटेड प्लाष्टिक बोरा उत्पादन गर्दै आएको सौरभ समूहले भारतका रिलायन्स लाफार्ज जस्ता सिमेन्ट उत्पादकले समेत माग गरेकाले थप रु.४५ करोड लगानीमार्फत मासिक उत्पादन क्षमता ५० लाखबाट १ करोड पिस पुर्याउन लागेको समूहका प्रबन्ध निर्देशक विष्णु न्यौपानेले बताए।
नेपालमा हाल सिमेन्टको माग वार्षिक ४० लाख टन छ, जसमध्ये ८० प्रतिशत आपूर्ति स्वदेशी उद्योगबाटै हुन्छ। स्वदेशी उद्योगले उत्पादन गर्ने सिमेन्टको क्लिङ्कर भारतबाट आउँछ। वर्षेनि रु.१० अर्बभन्दा बढीको सिमेन्ट र क्लिंकर भारतबाट आइरहेको छ। नेपालमा एक अर्ब ७ करोड टन क्लिंकर उत्पादनका लागि चाहिने चुनढुंगा भएको प्रमाणित भइसकेको छ।
सिमेन्टका करीब साढे तीन दर्जन उद्योग रहे पनि क्लिंकर उत्पादन गर्ने उद्योगको संख्या एकदर्जन हाराहारी मात्र छ। सरकारले २०७३ भित्र भारतीय क्लिंकरको आयात रोक्ने तयारी गरेकाले सबैजसो सिमेन्ट उद्योगले क्लिंकर उत्पादनमा ठूलो लगानी गर्दैछन्।
आत्मविश्वास बढेका क्षेत्र
नवलपरासीमा चौधरी ग्राम चलाइरहेको चौधरी समूहले बर्दियाको बाँसगढी र सुनसरीको इटहरीमा समेत वाइवाइ चाउचाउ लगायतका उद्योग रहने चौधरी ग्राम निर्माण गर्दैछ, करीब रु.२ अर्ब लगानीमा।
रेमिट्यान्स र ब्याङ्किङ व्यवसायी चन्द्र ढकालसहितका लगानीकर्ताले काठमाडौंछेउको चन्द्रागिरिमा करीब रु.२ अर्ब १५ करोडको केबुलकार परियोजनाको काम गरिरहेका छन्।
आउँदो असारसम्ममा केबुलकार सञ्चालनमा ल्याउने गरी पूर्वाधार निर्माणको काम भइरहेको परियोजना अन्तर्गत चन्द्रागिरिमा १०० बेडरुमको रिसोर्ट, पार्क र भ्यूटावर समेत बनाउने ढकालले बताए।
सरकारले पनि ताप्लेजुङको पाथीभरा र प्युठानको स्वर्गद्वारीमा केबुलकार निर्माणको योजना अघि बढाएको छ। पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन पूर्वाधार विकास आयोजनाले विस्तृत अध्ययन गरिसकेका सार्वजनिक निजी साझ्ेदारीमा बन्ने करीब रु.२ अर्ब लगानीका यी आयोजनाका लागि निजी क्षेत्रसँग प्रस्ताव माग्ने तयारी हुँदैछ।
गोल्छा समूहले भारतीय कम्पनी हेस्टर बायोसाइन्ससँग मिलेर रु.४५ करोड लगानीमा काभ्रेमा भ्याक्सिन बनाउने बायोटेक उद्योग पनि निर्माण गरिरहेको छ। तीन महीनाभित्र उत्पादन शुरू गर्ने उद्योगबाट उत्पादित ९० प्रतिशत भ्याक्सिन निर्यात गरिने लगानीकर्ता शेखर गोल्छा बताउँछन्।
हालसालै तनहुँमा करीब रु.४ अर्ब लगानीमा नयाँ चुरोट कारखाना खोलेको सूर्य नेपालले मोरङको पुरानो गार्मेन्ट कारखाना स्थलमा कन्फेक्सनरी उत्पादन थाल्ने तयारी गरिरहेको छ, तर यसको प्रस्तावित लागत खुलाइएको छैन।
विराटनगरका व्यवसायी मोती दुगडले करीब रु.१५ करोड लगानीमा सेन्चुरी चिप्स उद्योग स्थापना गर्दैछन् भने भर्खरै मोरङमा गुडलाइट्स ब्रान्डको बिस्कुट उद्योग खोलेको शारडा समूहले बिस्कुट, चाउचाउ लगायतका उद्योगको उत्पादन क्षमता २० प्रतिशत बढाउने तयारी गरेको समूहका निर्देशक गौरव शारडाले बताए।
जगदम्बा समूहले एफएमसीजी (फास्ट मुभिङ कन्ज्युमर गुड्स) को बढ्दो बजारलाई ध्यानमा राखेर उत्पादनलाई दोब्बर बनाउन लागेको र तीन–चार महीनामा यसका लागि करीब रु.५० करोड लगानी गरिने समूहका प्रबन्ध निर्देशक साहिल अग्रवाल बताउँछन्।
देशको कृषि क्षेत्रमा भइरहेको लगानी पनि उत्साहजनक छ। कृषिको व्यावसायिकीकरणमा लगानी गरिरहेको निम्बस समूहले वीरगन्ज र पश्चिम नेपालमा एक वर्षभित्रै दुई वटा ठूला वेयर हाउस (अनाज भण्डार गृह) बनाउँदैछ। त्यसमा रु.२ अर्ब लगानी हुने निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरिया बताउँछन्। वीरगन्जमा करीब रु.५० करोड लगानीमा भटमासबाट खाने तेल र सोया प्रोटिन उत्पादन गर्ने उद्योग स्थापनाको तयारीमा रहेको निम्बसले काठमाडौंको कुलेश्वर र चितवनको भरतपुरमा रहेका कृषि केन्द्रलाई पनि थप ८ ठाउँमा विस्तार गर्दैछ।
एनआरएनएका पूर्वअध्यक्ष देवमान हिराचनले काठमाडौंको रामकोटमा रु.१ अर्बभन्दा बढी लगानीमा कृषि फार्म स्थापना गरेका छन्। चिनी उद्योग चलाइरहेको एमएस समूहले सिरहामा करीब रु.१ अर्ब ५० करोड लगानीमा हिमालयन सुगर इन्डस्ट्री निर्माण गर्दैछ, जसले दैनिक २५ सय टन उखु क्रसिङ गर्ने प्रबन्ध निर्देशक शशिकान्त अग्रवाल बताउँछन्।
एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले काठमाडौंको नख्खुमा करीब रु.८ अर्बको लगानी रहेको अस्पताल संचालनमा ल्याउँदैछन्। महतोका साझेदार रतन झाका अनुसार आगामी वर्षभित्रै शुरू हुने अस्पतालमा मध्यपूर्वको अस्पताल सञ्चालनमा प्रसिद्ध समूह ‘एनएमसी’को व्यवस्थापन साझेदारी रहनेछ। झा भन्छन्, “६०० बेडको यो अस्पतालले उपचारका लागि दिल्ली वा ब्याङ्कक् जानुपर्ने बाध्यता अन्त्य गर्नेछ।”
महतोले बारामा जडीबुटी उत्पादन र प्रशोधन उद्योगमा समेत करीब रु.२ अर्ब लगानी गर्दैछन्। भारतीय योगगुरु रामदेवसँगको साझ्ेदारी रहने यो परियोजनाको पहिलो चरणमा रामदेवको पतञ्जली योगपीठले भारतमा उत्पादन गर्दै आएका जुस, मसलासहितका फास्ट मुभिङ कन्ज्युमर गुड्स उत्पादन गर्नेछ। दोस्रो चरणमा आयुर्वेदिक औषधि र तेस्रो चरणमा जडीबुटी उत्पादन तथा प्रशोधन गरिनेछ। उद्योगी प्रदीपजंग पाण्डेको लगानी रहेको लोमस फर्मास्युटिकल्सले उत्पादन क्षमता बढाउँदै रु.४० करोड लगानीमा आयुर्वेद औषधि उद्योग समेत खोल्न लागेको कम्पनीका प्रबन्ध निर्देशक प्रबलजंग पाण्डे बताउँछन्। पछिल्लो समय प्लाष्टिक, औषधि, फास्ट मुभिङ कन्ज्युमर गुड्स जस्ता उत्पादनमूलक उद्योगमा लगानी बढेको छ।
चालु आर्थिक वर्षको पहिलो पाँच महीना (मंसीरसम्म) मा उद्योग विभागमा करीब रु.३७ अर्बको लगानी प्रस्ताव गरेका उद्योग दर्ता भएका छन्, जसमध्ये धेरै रोजगारी सिर्जना गर्ने उत्पादनमूलक उद्योगमा मात्र रु.४ अर्ब २० करोड लगानी प्रस्ताव गरिएको छ।
दशकअघि कुल गार्हस्थ्य उत्पादनमा ११ प्रतिशत रहेको उत्पादनमूलक क्षेत्रको योगदान अहिले ६ प्रतिशतको हाराहारीमा ओर्लिएको छ। अहिलेको लगानी उत्साहले यो वातावरणमा सुधार हुने अपेक्षा छ। गत वर्ष यही अवधिमा उत्पादनमूलक उद्योगमा लगानी प्रस्ताव रु.३ अर्ब मात्र थियो। पर्यटनमा गत वर्षको यही अवधिमा कुल रु.५३ करोड रहेको लगानी प्रस्ताव बढेर अहिले रु.६ अर्ब ३० करोड पुगेको छ।
चालु वर्षको पहिलो चौमासिक (कात्तिकसम्म) मा ब्याङ्कहरूको लगानी ५.९ प्रतिशतले बढेको छ, जुन अघिल्लो वर्षको यही अवधिमा ३.६ प्रतिशत मात्र थियो। निजी क्षेत्रतर्फको कर्जा मात्रै ६ प्रतिशतले बढेको छ। ब्याङ्क तथा वित्तीय संस्थाले यो वर्षको पहिलो चार महीनामा रु.७७ अर्ब ७७ करोड लगानी गरेका छन्, जसमध्ये औद्योगिक क्षेत्रतर्फको कर्जा रु.१८ अर्ब ९५ करोडले बढेको छ। विभिन्न क्षेत्रमा ब्याङ्कहरूको लगानी रु.१२ खर्ब पुगिसकेको छ। अझै रु.१ खर्ब हाराहारीमा लगानी योग्य रकम हुनुले ब्याङ्कहरू थप लगानीका लागि तयार रहेको देखिन्छ।
व्यवसायमा भइरहेको विस्तारसँगै ब्याङ्कहरू वित्तीय हिसाबले समेत सबल बन्दैछन्। पूँजी वृद्धिले लगानी विस्तारमा योगदान दिने हुँदा हालको रु.२ अर्बको चुक्ता पूँजी बढाएर रु.५ अर्ब पुर्याउन ब्याङ्कहरूले मर्जर, बोनस र हकप्रद शेयर वितरण गरिरहेका छन्। एक दर्जनभन्दा बढी नयाँ बीमा कम्पनी सञ्चालनको अनुमति कुरेर बस्नु र हालका दुईदर्जन कम्पनीले पूँजी वृद्धि गर्नुबाट बीमाको बजार पनि थप विस्तार भइरहेको प्रष्टिन्छ।
जाे लगानी गर्दैछन्
पूर्वाधारमा आशा
पर्यटक आगमन वार्षिक २० प्रतिशतले बढेकै बेला सरकारले भैरहवा र पोखरामा एकैपटक अन्तर्राष्ट्रिय विमानस्थल बनाउन थालेको छ। क्षेत्रीय विमानस्थलका रूपमा विकास हुने भैरहवामा तीन वर्षभित्रै निर्माण सम्पन्न गर्न चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एयरपोर्ट कन्स्ट्रक्सनसँग सम्झाैता भइसकेको छ।
रु.६ अर्ब २२ करोडमा बन्ने यो परियोजनामा एशियाली विकास ब्याङ्कको ऋण सहयोग रहनेछ। चिनियाँ एक्जिम ब्याङ्कको ऋण सहयोगमा रु.२१ अर्ब ४७ करोड लागतमा २०१९ सम्ममा निर्माण सक्ने लक्ष्य राखिएको पोखरा विमानस्थलका लागि सरकारले चिनियाँ कम्पनी सीएएमसी इन्जिनीयरिङसँगको ठेक्का सम्झौता अनुगमन गरिसकेको छ। एशियाली विकास ब्याङ्कको रु.९ अर्ब ऋण सहयोगमा काठमाडौं विमानस्थल सुधारको काम पनि चलिरहेको छ।
चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा राजधानीको २७ किमी लामो चक्रपथ विस्तार आयोजना पनि अघि बढेको छ। तीन वर्षमा आठ लेन सडक र साइकलको छुट्टै लेनको काम सक्ने गरी सांघाई कन्स्ट्रक्सनले काम शुरू गरेको यो आयोजनामा करीब रु.३ अर्ब ७० करोड लगानी हुनेछ।
खानेपानीको चरम समस्या भोगिरहेको काठमाडौं उपत्यकामा वैशाख २०७३ भित्र दैनिक १७ करोड लीटर पानी ल्याउने गरी मेलम्ची खानेपानी परियोजनाको काम धमाधम भइरहेको छ।
विद्युत् क्षेत्रको विकासका लागि ज्यादै महत्वपूर्ण मानिएको नेपाल–भारतबीचको निर्माणाधीन ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइनमा नेपालले मात्र रु.२ अर्बभन्दा बढी लगानी गर्दैछ।
डेढ वर्षमा सकिने यो ४०० केभीएको प्रसारण लाइनबाट १२०० मेगावाटसम्म विद्युत् ओसारपसार गर्न मिल्ने भएकाले नेपालको सम्भावित विद्युत्को भारतमा बजार खोल्ने आशा छ।
गत साउनमा भारतसँग भएको विद्युत् व्यापार सम्झाैता (पीटीए) ले विद्युतका लगानीकर्तामा उत्साह थपेको छ। भारतबाट पेट्रोलियम पदार्थ ल्याउने रक्सौल–अमलेखगन्ज पाइपलाइन विस्तारको दुईदशक पुरानो योजना पनि अघि बढेको छ। भारतीय आयल कर्पोरेशनले बनाइदिने ४२ किमी लामो यो परियोजनामा रु.४ अर्ब ५० करोड लगानी हुनेछ।
पूर्वाधार परियोजनामा रकम जुटाउन अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र एडीबीले रु.५०–५० अर्बको बन्ड (ऋणपत्र) जारी गर्ने तयारी गरेका छन्। सरकारले दुवै संस्थालाई यसको अनुमति दिइसकेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा घोषणा गरेको रु.१ खर्बको सहुलियत ऋणको कार्यान्वयन सम्झौता भइसकेकाले सरकार यसलाई ६०० मेगावाटको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना वा काठमाडौं–तराई फास्ट ट्र्याकमा लगानी गर्ने तयारीमा छ।
पाँचथरको चियोभञ्ज्याङ–बैतडीको झुलाघाट ११७६ किमी लामो मध्यपहाडी राजमार्ग र तराईको १०१५ किमी हुलाकी राजमार्ग निर्माणाधीन छन्। कैलालीको रानीजमरा, बर्दियाको बबई–भेरी डाइभर्सन तथा बाँकेको सिक्टा लगायतका ठूला सिंचाइ आयोजना पनि निर्माणाधीन छन्।
काठमाडौंको सीतापाइलादेखि धादिङको नौबीसे जोड्ने २.६ किमि लामो सुरुङमार्ग निर्माणका लागि अनुमानित लागत रु.२० अर्बमध्ये जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले ०.१ प्रतिशतको सहुलियत व्याजदरमा रु.१५ अर्ब ऋण उपलब्ध गराउँदैछ।
ललितपुरको खोकनाबाट बाराको निजगढ जोड्ने चार लेनको ७६ किमी काठमाडौं–तराई फास्ट ट्र्याक निर्माणमा तीन वटा विदेशी कम्पनीले चासो देखाएका छन्। अनुमानित लागत रु.७६ अर्ब रहेको यो सडक बनेपछि काठमाडौंबाट डेढघण्टामा निजगढ पुगिनेछ।
चार वर्षदेखि सुस्ताएको घरजग्गा व्यवसायमा पनि चहलपहल देखिएको छ। राष्ट्र ब्याङ्कको अध्ययनले आर्थिक वर्ष २०७०/७१ मा घरजग्गा रजिष्ट्रेसन संख्या ६.५ र राजस्व संकलन १८.१ प्रतिशतले वृद्धि भएको देखाएको छ। लगानीमा आशा र उत्साह जगाउने यस्ता संकेतहरूसँगै तदनुरूपको नीतिगत पहलहरू भएका छन्।
सरकार, निजी क्षेत्र र मजदूर युनियनहरूबीच भएको प्रस्तावित श्रम ऐनबारेको त्रिपक्षीय समझ्दारी त्यसकै उदाहरण हो। यसलाई लगानीकर्तामा उत्साह जगाउने ठूलो सफलता मान्ने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छा भन्छन्, “विगतको मजदूर समस्या त्रिपक्षीय समझ्दारी भएको ऐन आएपछि दोहोरिंदैन।”
आशालाग्दो चहलपहल शुरू भए पनि सन् २०२२ सम्ममा नेपालले घोषणा गरेको विकासशील राष्ट्रमा उक्लने लक्ष्य भेट्टाउन कुल रु.९७ खर्ब थप लगानी आवश्यक छ, जसका लागि अहिले भइरहेको लगानी पर्याप्त हुँदैन। तर, रोकिएका करीब चार दर्जन ऐनकानून पारितसँगै संविधान बनेमा त्यो लक्ष्य असम्भव नरहेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पशुपति मुरारका बताउँछन्।
जो सरकारी योजनामा छन्
- काठमाडौं–तराई द्रुत मार्ग
- पञ्चेश्वर बहुउद्देश्यीय आयोजना
- निजगढ अन्तर्राष्ट्रिय विमानस्थल
- बूढीगण्डकी जलाशययुक्त परियोजना
- पश्चिम सेती जलाशययुक्त परियोजना
- पूर्वपश्चिम रेलमार्ग
- सीतापाइला–नौबिसे सुरुङ मार्ग
- तीनकुने–माइतीघर फ्लाइओभर
- काठमाडौं उपत्यका मेट्रो विस्तार
- बाहिरी चक्रपथ विस्तार आयोजना
साप्ताहिक खबरपत्रिका हिमालबाट