रिपोर्टबिहीबार, पौष १०, २०७१
काठमाडौं प्रहरीः आफैं असुरक्षित
– रामेश्वर बोहरा

महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखा रहेका हनुमानढोकास्थित भवन। भवनभित्र प्रहरी बस्ने व्यारेकको जीर्ण अवस्था। तस्वीरहरुः बिक्रम राई
राजधानीको सुरक्षा हेर्ने प्रहरीको साधनस्रोत र भौतिक पूर्वाधार कस्तो हुनुपर्ला? यो प्रश्नको उत्तर हुन्छ– व्यावसायिक प्रहरीको चुस्त टीम, प्रविधिमा दक्ष जनशक्तिसहितको आधुनिक नियन्त्रण कक्ष र हरदम ‘मोबिलाइज’ हुनसक्ने गाडी लगायतका साधनस्रोत। एक दशकअघि महानगरीय अवधारणामा गएको काठमाडौंको ‘पुलिसिङ’ गर्ने महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखा भने ठीक उल्टो अवस्थामा छन्। राणाकालीन थुनुवा कक्षका रूपमा रहेको परिसर र महाशाखा रहेको भवनका पानी चुहिएर मक्किंदै गएका भित्ताहरू हेर्दा कुनै ठूलो दुर्घटना पर्खिरहे झैं लाग्छ।
आधुनिक प्रविधियुक्त नियन्त्रण कक्ष त टाढाको कुरा, भएका जनशक्ति र तीन चारवटा गाडी अट्ने ठाउँ समेत छैन। सबभन्दा डरलाग्दो पक्ष, दैनिक तीन हजारभन्दा बढी सेवाग्राही आउने र हरपल ५०० भन्दा बढी मानिस रहने यो भवन कुनै पनि बेला भत्कन सक्ने अवस्थामा छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमकुमार कार्कीका अनुसार, दरबन्दी अनुसार परिसरमा अढाइसय र महाशाखामा डेढसय प्रहरी कार्यरत छन् भने काजमा खटिएका थप प्रहरी र १०० भन्दा बढी थुनुवा पनि छन्। “यो भवन उच्च भूकम्पीय जोखिममा त छ नै”, एसएसपी कार्की भन्छन्, “सामान्य अवस्थामा पनि बढी भार धान्न सक्ने नभएकाले जुनसुकै बेला अकल्पनीय दुर्घटना निम्तिन सक्छ।”
राजधानीमा कुनै विपत् आइपर्दा उद्धारमा खटिने प्रहरी स्वयं नै असुरक्षित रहेकाले काठमाडौं प्रहरी र अपराध महाशाखालाई राणाकालमै पुरानो भइसकेको यो भवनबाट अन्यत्र सार्नुपर्ने कुरा उठेको युग बितिसकेको छ। राजधानीमा ‘पुलिसिङ’ को अहम् जिम्मेवारी भएका प्रहरीका यी दुवै कार्यालय हनुमानढोकामा अनुपयुक्त हुनुका अरू पनि धेरै कारण छन्।
सबै हिसाबले अनुपयुक्त
राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौं प्रहरीको थुनुवा कक्ष र प्रहरी बस्ने ब्यारेक मानवीय हिसाबले बस्न लायक नरहेकोले सुधार्न निर्देशन दिएको थियो। हनुमानढोका क्षेत्र विश्व सम्पदामा सूचीकृत रहेको र यसको संरचनामा फेरबदल गर्न नपाइने हुनाले भवन मर्मत गरेर बस्नलायक बनाउने सम्भावना छैन। स्वदेशी–विदेशी पर्यटकहरूको भीडभाड छिचोल्नुपर्ने यो क्षेत्रमा प्रहरीका गाडीहरू साइरन बजाउँदै कुद्न पनि अप्ठ्यारो छ, जबकि हनुमानढोकास्थित प्रहरीका दुवै कार्यालय जतिखेर पनि ‘मोबिलिटी’ मा रहनुपर्ने निकाय हुन्।
सुरक्षा व्यवस्थामा आइपर्ने चुनौती पन्छाउने तत्कालीन ‘एक्सन’ होस् या अपराध अनुसन्धानका लागि देखाउनुपर्ने योजनाबद्ध सक्रियता, प्रहरीलाई सहज आवागमन अत्यावश्यक हुन्छ। “तर, यहाँबाट तुरुन्तै गाडी निकालेर जान नै मुश्किल हुन्छ”, महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी पुष्कर कार्की भन्छन्, “पर्यटकको ओइरो लाग्ने यही क्षेत्रमा धेरैजसो औपचारिक कार्यक्रम पनि हुन्छन्।”
हनुमानढोकामा सार्वजनिक यातायातको सुविधा छैन र निजी गाडी लिएर आउने सेवाग्राहीहरूको लागि पार्किङको सुविधा पनि छैन। पुगनपुग तीन रोपनी जति क्षेत्रफलमा रहेको कार्यालय परिसर नै उकुसमुकुसपूर्ण छ। राणाकालमा कालभैरवको कसम खुवाएर न्याय–अन्याय छुट्याउन सजिलो देखेर कालभैरवको मूर्ति नजिकै रहेको यो भवनलाई थुनुवा गृह बनाइएको थियो। पछि यसलाई नै जिल्ला प्रहरी कार्यालय बनाइयो। आधुनिक पुलिसिङका हिसाबले भने यो ठाउँ कुनै हिसाबले पनि उपयुक्त नभएको परिसर प्रमुख एसएसपी कार्की बताउँछन्।
राजधानीको पुलिसिङ देशभरका सबै प्रहरी कार्यालयका लागि उदाहरण बन्नुपर्छ। महानगरीय प्रहरीको अवधारणा अनुसारको ‘पुलिसिङ’ को अभ्यास राम्रो हुन नसक्नुको यौटा कारण काठमाडौं प्रहरीको जीर्ण भौतिक संरचना पनि हो। अलि फराकिलो ठाउँ भए आफैं स्रोत जुटाएर पनि महानगरीय प्रहरीको आभास हुने कार्यालय बनाउन सक्ने परिसर प्रमुख कार्की बताउँछन्। “त्यो अवस्थामा शहरी पुलिसिङको नमूना बनाउन सजिलो हुन्थ्यो” एसएसपी कार्की भन्छन्, “अहिलेकै ठाउँमा त्यसो गर्न असम्भव छ।”
हनुमानढोकास्थित प्रहरी कार्यालय अन्यत्र सार्ने प्रयास लामो समयदेखि हुँदै आए पनि त्यसले प्राथमिकता पाएको छैन। अहिले फेरि त्यो प्रयास शुरू भएको छ, तर त्यसले मूर्तरूप लिने कुनै टुंगो छैन।
यसपालिको सम्भावना
एक दशकअघि बबरमहलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग रहेको भवनमा काठमाडौं प्रहरीलाई सार्ने कुरा चले पनि त्यहाँ काठमाडौं जिल्ला अदालत स्थानान्तरण गर्ने निर्णय गरिएपछि त्यसै सेलाएको थियो। त्यसपछि मीनभवनको ट्रली बस कार्यालय पनि काठमाडौं प्रहरीका निम्ति चर्चामा आयो, तर ‘प्रहरीलाई चलेकै छ’ भन्ने मानसिकताका कारण त्यो योजना पनि सफल भएन। काठमाडौं प्रहरी प्रमुख रहिसकेका एक वरिष्ठ प्रहरी अधिकृत भन्छन्, “त्यसमाथि सरकारसँगै परिवर्तन भइरहने प्रहरी संगठन र काठमाडौं परिसर तथा अपराध महाशाखाको नेतृत्वले गर्दा पनि यो योजना कुरामै सीमित हुनपुग्यो।”

हनुमानढोकास्थित काठमाडौं प्रहरी परिसर र अपराध महाशाखालाई स्थानान्तरण गर्न प्रहरी मुख्यालयले माग गरेको थापाथलीस्थित खाद्य संस्थानको धान गोदाम रहेको क्षेत्र।
अहिले काठमाडौं प्रहरी र अपराध महाशाखा रहने कार्यालयका लागि थापाथलीस्थित खाद्य संस्थान र टेकुस्थित नेशनल ट्रेडिङको जग्गासँगै अन्य सार्वजनिक जग्गा समेत हेर्ने काम भइरहेको छ। सबभन्दा उपयुक्त भने खाद्य संस्थानको थापाथलीस्थित जग्गालाई मानिएको छ। त्यहाँ रहेको संस्थानको ४५ रोपनीमध्ये ११ रोपनी जमीन ट्रेड टावरले व्यापारिक उद्देश्यका लागि ५० वर्षको लिजमा लिएको छ। बाँकी ३४ रोपनीलाई संस्थानले धान गोदाम र दशैंताका खसीबोका बिक्रीका लागि प्रयोग गर्दै आएको छ। त्यसमध्येको १०–१५ रोपनी महानगरीय प्रहरी परिसर र अपराध महाशाखाका लागि पर्याप्त हुने प्रहरी अधिकृतहरूको भनाइ छ।
काठमाडौं परिसर तथा अपराध महाशाखा प्रमुखको निरन्तरको लविङपछि प्रहरी मुख्यालय र गृहमन्त्रालय समेत यसमा लागिपरेका छन्। वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापाले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई यो जग्गा उपलब्ध गराउने आश्वासन समेत दिएको प्रहरी अधिकृतहरू बताउँछन्। गृहमन्त्री वामदेव गौतम, मुख्यसचिव लीलामणि पौडेल र गृहसचिव सूर्यप्रसाद सिलवालले समेत प्रस्तावलाई सकारात्मक रूपमा लिंदै आवश्यक पहल गर्ने आश्वासन दिएबाट यसपालि प्रहरी अधिकारीहरू आशावादी छन्। “केन्द्रमा रहेको थापाथली, प्रहरी ‘मोबिलिटी’ का लागि पनि उपयुक्त छ” काठमाडौं परिसर प्रमुख एसएसपी कार्की भन्छन्, “प्रहरीको हरदम काम पर्ने जिल्ला, विशेष अदालत, सर्वोच्च अदालत, जिल्ला प्रशासन कार्यालय, जिल्ला सरकारी वकीलको कार्यालय र सिंहदरबार पनि नजिकै छन्।”
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकाल यसपालि हेरिएका जग्गामध्ये एक ठाउँमा प्रहरी कार्यालय सार्ने पहल भइरहेको बताउँछन्। प्रहरी मुख्यालयका एक वरिष्ठ अधिकृत भन्छन्, “जग्गाको निर्णय भए हामी दातृसंस्थाहरूले सुरक्षामा दिएको सहयोग परिचालन गरेर भए पनि भवन बनाउने थियौं।”
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
