रमझमबिहीबार, पौष १०, २०७१
सत्यसँग सामना (पुस्तक चर्चा)
– सरला गौतम
‘आफ्नो बारेमा लज्जास्पद सत्य (डिस्ग्रेसफुल ट्रूथ) उद्घाटित गरेको आत्मकथा मात्र विश्वासको काविल हुन्छ।’ जर्ज अरवेलको यो भनाइको सार आत्मसात् गरेको छ, विजयकुमारको आत्मकथा खुसी ले।
टेलिभिजनको चम्किलो अनुहार जाँड खाएर हायात रिजेन्सीको पार्किङ लटमा वान्ता गरेर सूट भिजाउँदै रात बिताएको घटनाबाट शुरु हुन्छ, खुसी। प्रत्येक पानासँगै सफल, प्रभावी र अहंकारको खोलबाट विस्तारै एउटा आम विजयका पत्रहरू क्रमशः खुल्दै जान्छन्।
कालो वा सेतो रंगमा व्याख्या गरिएको प्रभावशाली व्यक्तिको जीवनका इन्द्रेणीसँग पाठकको खेल शुरु हुन्छ। पाना पल्टाउँदै जाँदा भेटिन्छन्, कहिल्यै नदेखिएका विजय।
सत्य! ढाइ अक्षरको छ यो शब्द। जो बोल्न वा लेख्न भनेजति सजिलो छैन। ढोंगी तर देखावटी धीर–गम्भीरहरूलाई रुचाउने हाम्रो समाज विपरीत भेटिन्छन्, विजय किताबमा।
‘आम पत्रकारमा पाइने विश्वनिन्दक प्रवृत्तिको मात्रा मभित्र पनि सामान्यभन्दा धेरै बढी थियो’ आफ्नै पेशामाथि यस्तो प्रहार! कम पढ्ने धेरै लेख्ने, कम सुन्ने धेरै बोल्ने– हामी पत्रकारको यो प्रवृत्ति नौलो होइन। जसलाई स्वीकार्दै विजय व्यक्तिगत जीवनका कमजोरीमा पनि निसङ्कोच खुलेका छन्।
अत्यधिक मदिरा सेवनको कारण भोगेको अपमान र पीडाको पत्र–पत्र केलाइएको, खुसी लाई आफैंलाई नमीठो लाग्ने सत्य उजागर गरेर आत्मकथा लेखनको इमानदार सुरुआत मान्न सकिन्छ।
‘अल्कोहोलिज्म’ का कारण परिवारले भोगेको पीडाका अगाडि विजयको प्रसिद्धी फिका देखिन्छ। ‘आफ्ना अवगुण हेर्न त मानिस मरेतुल्य हुनेरहेछ’ भन्दै अवगुणको फेहरिस्त दिएका विजयले आफूलाई परिवार पीडक र रिसाहा मानेका छन्।
मूडी र क्रोधी हुनु एउटा कुरा हो भने त्यसलाई स्वीकार्न सक्नु नितान्त बेग्लै। झन् त्यसबाट चोट परेकाहरूसँग माफी माग्नु त महानता। यसरी सत्यको सामनाको साहसी दस्तावेज पनि बनेको छ, खुसी। अल्कोहल सेवनबाट पाएको छुट्कारा र परिवारमा फर्केको खुशीको कथा त्यस्तै व्यथामा रहेका धेरै व्यक्ति र परिवारका लागि प्रेरणादायी छ।
व्यक्तिगत अवगुणको व्याख्या गर्दा पनि आफ्नै चिरपरिचित शैली र खूबीको सहारा लिएका छन्, विजयले। तर यो पनि सजिलो पक्कै होइन।
पढ्नेलाई मजा आउँछ। तर, आफ्नी श्रीमती जे जस्ती थिइन् त्यसमा सन्तोष नभएको लेख्न– राम चरित्रको मुकुन्डो ओढेको समाजमा– सहजै लेख्न सकिने कुरा होइन। सुन्दरता र शालीनताको लागि नामी सुष्मा शाही विजयभन्दा कुनै हिसाबमा कम छैनन्। तर, हरेक केटीमा श्रीमतीको अनुहार देखें भन्ने ढोंग विजयमा देखिंदैन।
धेरैजसो आत्मकथामा केटाकेटीमा सीमित नांगोपनालाई विजयले नामी भइसकेपछिको अवस्थामा पनि खुलाएका छन्। जवानीमा दाङको मसोट खोलामा सहकर्मी जिरेललाई जस्तो उनलाई पनि पानी फेर्ने (यौन कर्म गर्ने) रहर जाग्छ।
त्यसकै तिर्सनामा काठमाडौं आएर दश रुपैयाँ तिरेर सुकुलमा बसेर ब्लू फिल्म हेर्न पुग्छन्। ‘मेरा जीवनमा आएका केटीहरूले मलाई उदारता सिकाए’– यो स्वीकारोक्तिसँगै विजयले ‘म राम होइन’ भनिदिए। पारिजात बेहद आकर्षक लागेको बताउँदै ‘लाइन मार्न’ मन लागेकोसम्म भनिदिए। राम हैन आम विजयलाई पस्केको खुसी मा, आदर्श सीताको लालसा पनि छैन।
महिला र पुरुष चरित्रमा अलग मापदण्ड राख्ने त्रुटि गरेका छैनन्। तर ‘सेक्स’ शीर्षकमा अटाएको एक घमन्डी व्यापारीको भद्दा गफले भने खुसी को ओजनमा नराम्रो प्रहार गरेको छ।
जीवनका सबै सत्य खुसी मा उजागर भयो भनेर विश्वास गर्न नसकिएला। तर जति छ, तिनमा झूटको टल्कने खोल पाइन्न। भनिन्छ– झ्ाूटा मान्छे अक्सर मुस्कुराउँछन्, तर मुस्कुराएरै सत्य पनि बोल्न सकिन्छ भन्ने विजयले कहेका छन्। उनले मदन भण्डारीको अन्तर्वार्ता काटे– ढाँटेनन्। अन्याय भएको स्वीकार्दै, माफी मागे।
पहिला मान्छे अनि पत्रकार
‘पहिला मानिस हुँ, अनि पत्रकार’, बडो सरल भाषामा भनेका छन्, विजयले। श्रीषा कार्की र नम्रता श्रेष्ठप्रति दर्शाएको स्नेहले पनि उनको यो भनाइलाई आधार दिएको छ। विजयकुमारको हातमा परेको भए– बुझ्न सकिन्छ– यी दुईका बारेमा जे समाचार आयो, त्यो आउँदैनथ्यो। दिलशोभा प्रकरणमा बोल्न बतासको दिशा पर्खेनन् उनले।
सन्त नेता कृष्णप्रसादप्रति उनको मायाले मन छुन्छ। मनमोहन अधिकारीप्रतिको आदर तथा राजनीतिक दर्शन र व्यक्तिगत चरित्र छुट्याएर तुलसी गिरीबारेको व्याख्या उनलाई पूर्वाग्रहरहित देखाउन काफी छ।
पञ्चायतदेखि गणतन्त्रसम्म फैलिएको पत्रकारिताकालमा मनछुने अन्तर्वार्ता पनि लिएका विजयले प्रायः राजनीति प्रेरित अन्तर्वार्ताहरूमा मान्छेलाई बोल्नै नदिने हेपाहा पारा देखाए। तर आफ्ना ती रुप र व्यवहारप्रति नै उनले जसरी व्यङ्ग्य गरेका छन् त्यो हाम्रो समाजको नक्कली मिजास विपरित छ।
बिहेका लागि एक लाख रुपैयाँ माग्दा नपाएको। कहिले काम, कहिले बेकाम! छोरीको स्कूल फी समयमा तिर्न नसकेको प्रसंग होस् या बुढेसकालमा रोग लागे के गर्ने? भन्ने जस्ता उनमा तरंगित प्रश्नले मन ओसिलो पार्छ।
‘कठिन रिपोर्टिङ, जटिल जीवन’– समग्र पत्रकारिता क्षेत्रकै दुःख बोलेका छन्। ‘जीवनलाई चारैतिरबाट हेरें, आगो माथि पनि नाँचिहेरें’ गीत गाउँदै हिंड्ने एउटा होनहारले जोगाएको निष्ठालाई सलाम भन्न मन लाग्छ।
खुसी मार्फत विजयकुमारलाई बुझ्न सजिलो छ, उनी सीधा रेखामा चल्छन्। क्रोध, अभिमान, सनकको पहिचानसहित सत्य बोल्ने उनको शैली घुमाउरो छैन। जीवनका लाजलाग्दा घटना अनि अन्तर्वार्ताका बेइमानीहरूलाई नलुकाएर खुसी लाई पत्याउने आधार दिएका छन्।
एकान्तमा बसेर उनलाई सुनिरहे जस्तो लाग्छ खुसी का पानाहरू पल्टाउँदा। जब अन्तिम पाना बन्द हुन्छ, लाग्छ मिल्ने साथीले हात छुटाएर गयो।