टिप्पणीशनिबार, पौष १२, २०७१

रेले रोपेको बोधिवृक्ष अर्को ठाउँमा सार

वसन्त महर्जन

लुम्विनीमा बोधिवृक्ष (पिपल) रोप्दै नेपालका लागि भारतीय राजदूत रञ्जित रे।

लुम्विनीमा बोधिवृक्ष (पिपल) रोप्दै नेपालका लागि भारतीय राजदूत रञ्जित रे।

मायादेवी मन्दिर परिसरमा बोधिवृक्ष रोपिनुले नेपाल–भारत दुवै पक्ष लुम्बिनी र बोधगयाको अर्थ–महत्वबारे अनभिज्ञ वा असंवेदनशील रहेको देखाउँछ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावित लुम्बिनी भ्रमण नभएपछि बुद्ध जन्मस्थलमा बोधिवृक्ष रोप्ने कार्य राजदूत रन्जित रेबाट भयो। रोपिएको पीपल हो, तर भारतको बोधगयामा यही रुखको फेदमा भगवान बुद्धले ई.पू. ५२८ मा बोधि (ज्ञान) प्राप्त गरेकाले यो बोधिवृक्षका नामले प्रख्यात छ र बौद्ध विश्वले अत्यन्त श्रद्धा गर्छ। तर, लुम्बिनीमा यही बोधिवृक्षको कलमी रोप्ने काम विवादास्पद बनेको छ।

लुम्बिनी विकास कोष त्यहाँ वृक्षरोपण गर्ने प्रस्तावको विपक्षमा थियो र अनुमति पनि दिएको थिएन। वृक्षरोपणपछि भने कोषका सदस्य सचिवले ‘यसले लुम्बिनीको महत्व अझ बढाएको’ प्रतिक्रिया दिएका छन्।

भारतीय राजदूतले मायादेवी मन्दिरको केही मिटर पश्चिममा वृक्ष रोपेका छन्, जुन पुरातात्विक स्थल भएकाले त्यहाँ त्यस्ता कुनै काम गर्नुहुन्न भन्ने कोषको धारणा थियो।

तर, राजदूतले त्यहाँ वृक्ष रोप्न नपाए त्यसै फर्कने बताएपछि संस्कृति मन्त्रालयले ‘दिनू’ भनेर हस्तक्षेप गरेको समाचारहरूबाट बुझिन्छ।

यो कार्यलाई आ–आफ्नो सुविधा अनुसार अनेक कोणबाट अर्थ्याउन सकिएला, तर बौद्ध मान्यता र पुरातात्विक महत्वलाई बेवास्ता गर्न सकिन्न।

सार्नु बुद्धिमानी
ई.पू. ५६३ मा गौतम बुद्धको जन्म भएको यो ठाउँमा विभिन्न समयमा स्तूप तथा बिहारहरू बने अनि कालक्रममा जमीनमुनि पर्न गए। पुरातात्विक उत्खनन्कै क्रममा सन् १८९७ मा यो बुद्ध जन्मस्थल लुम्बिनी हो भन्ने थाहा भयो।

त्यसपछिका अन्वेषणहरूले थप प्रमाण दिंदै आएका छन् र उत्खनन् हुन बाँकी नै छ। राजदूतले वृक्ष रोपेको ठाउँ नजिकै उत्तरतिरको जमीनमुनि मौर्यकालीन संरचना छ।

पीपलको रुख चाँडै हुर्कन्छ र यसको जरा पनि असाध्य फैलिन्छ। पहिले पनि पीपलका जराहरू मायादेवी मन्दिर मुनिको पुरातात्विक संरचनामा पुगेपछि रुख काट्नु परेको थियो।

त्यतिबेला सिद्धार्थ गौतमलाई जन्म दिंदा मायादेवीले समाएको रुख काटेको भ्रममा कोही अदालतसम्म पुगेका थिए। भ्रमको सन्दर्भमा, मायादेवी मन्दिर दक्षिणको पोखरी डिलमा रहेको ठूलो पीपललाई बोधिवृक्ष भन्नेहरू पनि छन्।

बौद्ध जगतमा बुद्धसँग सम्बन्धित ठाउँहरूले भिन्नाभिन्नै अर्थ राख्छन्। लुम्बिनी बुद्धको जन्मस्थल हो भने बोधगया ज्ञान प्राप्तिस्थल। त्यस्तै, सारनाथबाट बुद्धधर्मको उपदेश शुरु भयो भने कुशीनगरमा बुद्धको महापरिनिर्वाण भयो।

यी ठाउँहरूको एक अर्कोसँग तुलना हुँदैन। बुद्धकै जीवनकालमा बोधगयाको बोधिवृक्षको कलमी गरेर श्रावस्तीमा रोपिएको थियो।

पछि मौर्य सम्राट अशोककी भिक्षुणी छोरी संघमित्राले बोधिवृक्षको बिरुवा लंका पुर्‍याइन्, तर सारनाथ र कुशीनगरको मुख्य स्थलमा कहिल्यै रोपिएन। सारनाथ र कुशीनगरको छुट्टै महत्व ओझेलमा नपरोस् भनेर नरोपिएको बुझ्न कठिन छैन।

लुम्बिनीमा पनि यही कुरा लागू हुनुपर्नेमा, उल्लंघन गरिएको छ। यसलाई हस्तक्षेप, अज्ञानता जे पनि भन्न सकिन्छ।

१८औं सार्क सम्मेलनपछि लुम्बिनी गएका भए भारतीय प्रधानमन्त्री मोदीले नै बोधिवृक्ष रोप्ने थिए, तर नगएपछि कुन ठाउँमा? भन्ने प्रश्नै आएन। आउनैपर्ने प्रश्न चाहिं आखिर लुम्बिनीमा बोधिवृक्ष रोप्नु नै किन पर्‍यो ? भन्ने हो।

त्यसो त, लुम्बिनीमा बोधिवृक्ष रोप्नै हुन्न भन्ने पनि होइन, तर अलिपर कतै रोप्न सकिन्थ्यो। यसअघि श्रीलंकाले पनि रोपेकै हो, मुख्य स्थलभन्दा पर।

त्यसकारण, भारतीय राजदूतले रोपेको बोधिवृक्षलाई ससम्मान उपयुक्त स्थानमा सार्नु बुद्धिमानी हुनेछ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>