थप समाचारबिहीबार, पौष १०, २०७१
मध्यपश्चिमाञ्चल विश्वविद्यालयः शुल्कमा भारी कटौती
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले विद्यार्थी आकर्षित गर्न शुल्कमा भारी कटौती गरेको छ ।
स्थापना कालदेखि नै महँगो शिक्षण शुल्क भएको गुनासो खेप्दै आएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले विद्यार्थी कम भएपछि आकर्षित गर्न शुल्कमा भारी कटौती गरेको हो ।
विश्वविद्यालयले इन्जिनियरिङ सङ्कायको सिभिलमा शुल्क पहिले रु ६ लाख २४ हजार निर्धारण गरेकामा अहिले घटाएर रु ३ लाख २५ हजार निर्धारण गरेको छ । बिबिएको पूरा पाठ्यक्रम शुल्क पहिले रु २ लाख ६५ हजार १७० रहेकामा अहिले रु १ लाख ८८ हजार १७० निर्धारण गरिएको छ ।
विश्वविद्यालयले शुल्क पुनरावलोकन गर्नका लागि गठन गरेको कार्यदलको सुझावका आधारमा कार्यकारिणी समितिको बैठकले शुल्कमा भारी कटौती गरेको छ । यद्यपि यसअघि विभिन्न विद्यार्थी सङ्गठनले महँगो शुल्कका विरुद्धमा तालाबन्दीदेखि आन्दोलनका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका थिए ।
विश्वविद्यालयका रजिष्टार डा महेन्द्र मल्लले विद्यार्थीको मागलाई ध्यानमा राखी शुल्क घटाएको बताए ।
उनका अनुसार विश्वविद्यालयले विभिन्न पाठ्यक्रममा ३० देखि ९० प्रतिशतको शुल्क कटौती गरेको छ, घटाइएको शुल्क चालु शैक्षिकसत्रका लागि लागू हुनेछ ।
“मध्यपश्चिमका १५ वटै जिल्लामा विश्वविद्यालय आफ्नो विस्तारको अभियानमा रहेको छ”, उनले भने, “अहिले बाँके, बर्दिया, दैलेख, जाजरकोट, रुकुम, मुगुका एक/एक तथा सुर्खेतका दुईवटा क्याम्पसलाई विश्वविद्यालयले आङ्गिक मान्यता प्रदान गरेको छ ।”
एमबिएको पहिले रु १ लाख ७२ हजार ५७० रहेकामा हाल घटाएर रु १ लाख २८ हजार ५७० तय गरिएको छ ।
यस्तै बिबिएसतर्फ पहिले रु ३७ हजार ९७० शुल्क रहेकामा हाल घटाएर रु २९ हजार ९७० निर्धारण गरिएको छ । एमबिएसको शुल्क पहिले रु ३१ हजार ५७० रहेकामा हाल रु २५ हजार ५७० तय गरिएको छ ।
त्यस्तै बिएसडब्लुको पूरा पाठ्यक्रम शुल्क पहिले रु १ लाख ७२ हजार ८७० रहेकामा अहिले घटाएर रु ९७ हजार ३७० निर्धारण गरिएको छ । एमएसडब्लुको शुल्क पहिले रु १ लाख २१ हजार ५७० रहेकामा अहिले रु ७१ हजार ५७० तय गरिएको छ ।
यस्तै अन्य स्नातकस्तरका आइआर, जिएमसीलगायतको शुल्क पहिले रु १ लाख २३ हजार २७० रहेकामा अहिले रु ३३ हजार ६७० निर्धारण गरिएको छ ।
स्नातकोत्तरस्तरका आइआर, जिएमसीलगायतका पाठ्यक्रमको शुल्क पहिले रु ९६ हजार ३७० रहेकामा अहिले घटाएर रु ३० हजार ३७० तय गरिएको छ ।
यसैगरी द्वन्द्व तथा शान्ति अध्ययन स्नातकलगायतका कोर्षतर्फ रु ७१ हजार २७० राखिएको छ भने स्नातकोत्तरतर्फ रु ५८ हजार रु ३७० निर्धारण गरिएको छ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
