अन्तर्वार्ता/विचारशुक्रबार, पौष ११, २०७१

‘व्यापारीले लुकाएको छैन’

हिमालखबर

देशैभर खाना पकाउने एलपी ग्याँसको हाहाकार भएपछि उपभोक्ताले तोकिएको भन्दा बढी मूल्यमा ग्याँस खरिद गर्नु परेको छ । ग्याँस अभावको विषयमा हिमालखबरले नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेसँग गरेको कुराकानीः

‘व्यापारीले लुकाएर होइन, भारतबाट नआएर ग्याँस अभाव’माग बढी हुने बेलामै ग्याँसको अभाव किन भयोे ?

नेपालमा सबैभन्दा बढी ग्याँस आउने भारतको बरौनी प्लान्ट नोभेम्बरको अन्तिमदेखि मर्मतको क्रममा छ । त्यसैले इण्डियन आयल कर्पोरेशन (आईओसी) ले डिसेम्बरमा बरौनीबाट ग्याँस दिएको छैन । अहिले आइरहेको ग्याँस भारतको हल्दिया र मथुराबाट हो । त्यसैले ग्याँसको आपूर्ति असहज भएको हो ।

आईओसीले कुनै विकल्प नै नदिई बरौनी प्लान्टबाट ग्याँस दिन छाडेको हो ?

नेपालमा बरौनीबाट मासिक १२ हजार मेट्रिक टन, हल्दियाबाट ७ हजार मेट्रिक टन र मथुराबाट ३ हजार मेट्रिक टन ग्याँस आउँछ । आईओसीले बरौनी प्लान्टमा मर्मत चल्दासम्म हल्दियाबाट ग्याँस लैजानु भनेको छ । तर, हल्दियाबाट ग्याँस ल्याउन टाढा भएकाले अभाव भएको हो ।

अब उपभोक्ताले सहज रुपमा कहिलेदेखि ग्याँस पाउँछन् ?

हामीले यो महीनामा मात्र हल्दियाबाट १३ हजार मेट्रिक टन ग्याँस उठाएको छौं । आईओसीले बरौनीबाट पनि ग्याँस उठाउन थाल्दा हुन्छ भनेर खबर पठाएको छ । त्यसैले अब एक सातामै ग्याँसको अभाव हट्छ ।

अभावका बेला व्यापारीले मूल्य बढाएर ग्याँस बिक्री गरिरहँदा पनि नियामक निकाय मौन छ नी ?

निगमको तथ्यांक अनुसार व्यापारीले ग्याँस लुकाएको भन्न सक्ने अवस्था छैन । ग्याँस आपूर्ति नै कम हुँदा अभाव भएको हो ।

उपभोक्ताले पनि अभावकै बेला बढी ग्याँस खरिद गरिरहेका छन् । यदि उपभोक्ताले तोकिएको मूल्य भन्दा बढीमा ग्याँस खरिद गरेको भन्ने उजुरी परेमा कारबाही गर्छौं ।

नियामक निकायले उजुरी पर्खेर बस्ने भन्दा पनि अनुगमन गरेर कालोबजारी गर्नेलाई कारबाही गर्नुपर्ने होइन र ?

वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय सहित सरोकारवाला निकायसँग मिलेर निगमले दैनिक रुपमा अनुगमन गर्दै आइरहेको छ । उपभोक्ता ठग्ने, स्टक गर्नेलाई कालोबजारी ऐन अुनसार कारबाही हुन्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...