टिप्पणीशुक्रबार, पौष ११, २०७१

कण्डमको कुरा

डा. सुमनराज ताम्राकार

नेपाली समाज अलिकति ढोंगी नै छ। सुरक्षित सेक्सका लागि बरदानसिद्ध कण्डमप्रतिको हाम्रो सामाजिक धारणा त्यस्तै ढोंगबाट ग्रसित छ। कण्डमको सहज उपलब्धताले अविवाहित युवक–युवतीबीचको यौन सम्पर्कलाई सहज बनाउँछ भनेर यसलाई खुल्ला रूपमा स्वीकारिंदैन। उहिले पनि उमेरदारहरूबीच मन मिल्दा यौन सम्पर्क हुन्थ्यो। परिणाममा अनिच्छित गर्भ र विभिन्न किसिमका सरुवा रोगहरू बेहोर्नुपर्थ्यो।

कण्डमको आविष्कारले भने यो अवस्थालाई उहिलेकै कुरामा सीमित बनाइदिएको छ। कण्डमले गर्भ निरोधकको साथै एचआईभी/एड्स लगायतका सरुवा रोगहरूबाट बचाउँछ। हिजोआज पुरुष र महिला दुवैले प्रयोग गर्ने अनेक ब्रान्डका कण्डम पाइन्छन्, तर यौनमा पुरुषको अग्रसरताको कारण हुनसक्छ, महिलाले प्रयोग गर्ने कण्डमको खपत कम छ। पुरुषले प्रयोग गर्ने कण्डम त निःशुल्क पनि पाइन्छ।

उत्पत्ति र प्रयोग

कण्डमलाई ल्याटिन भाषाको कन्डोस (भाँडो) को अपभ्रंश मानिन्छ। सन् १५०० तिर भिरिङ्गीको महामारीबाट जोगिन कपडा कण्डम प्रयोगमा ल्याइएको थियो। अठारौं शताब्दीमा जनावरको आन्द्राबाट बनेको कण्डम प्रयोगमा आयो भने बीसौं शताब्दीमा रबरको। एचआईभी/एड्सको महामारीसँगै यसको महत्व बढ्यो। पातलो ल्याटेक्स रबरबाट निर्मित कण्डमले पुरुषको वीर्यलाई महिलाको योनीमा र्झ्नबाट रोक्नुको साथै योनीरस र वीर्यलाई प्रत्यक्ष सम्पर्क हुन नदिने हुनाले सरुवा रोग लाग्न र गर्भ रहन दिंदैन। यसको सफलता दर ९७ प्रतिशतसम्म रहेको मानिन्छ।

यौन सम्पर्कको बेला कण्डम निस्केर योनीमा अड्किन सक्छ भन्ने गलत धारणा छ, जुन विरलै हुन्छ। त्यसैगरी यौन सम्पर्कको बेलामा कण्डम फुट्न सक्छ भनिन्छ, तर म्याद नगुजि्रएको कण्डम ठीक तरीकाले लगाइएको छ भने फुट्ने सम्भावना हुँदैन। जहाँसम्म कण्डमले यौन सम्पर्कको आनन्दमा कमी गराउँछ भन्ने प्रश्न छ, यो व्यक्तिमा भरपर्ने कुरा हो। कतिले विना कण्डम बढी आनन्द महसूस गर्छन् भने कतिलाई लामो समय स्खलन हुन नदिने हुनाले कण्डम प्रयोगलाई निको मान्छन्। बढी आनन्दको लागि कतिले डटेड वा बारयुक्त कण्डम प्रयोग गर्छन्। शीघ्र स्खलन हुने पुरुष र योनी सुक्खा हुने महिलाका लागि त कण्डमले फाइदै फाइदा पुर्‍याउँछ।

कण्डम बनाउँदै चिप्लो पदार्थ राखिएको हुनाले प्रयोगको बेला ‘लुब्रिकेन्ट’को आवश्यकता पर्दैन। वीर्य स्खलनपछि लिङ्ग शिथिल नहुँदै कण्डमलाई नफुस्किने गरी निकालेर फुटे नफुटेको राम्ररी हेर्नुपर्छ। कदाचित फुटेको रहेछ भने आकस्मिक परिवार नियोजनका साधन प्रयोग लगायतका सावधानीका उपायहरू अवलम्बन गर्न सकिन्छ। प्रयोग गरिसकेको कण्डमलाई उचित स्थानमा विसर्जन गर्नु जिम्मेवार प्रयोग र सभ्यता प्रदर्शनको कुरा हुन्छ।

कतिपय कण्डम प्रयोगकर्तामा यसले ‘एलर्जी’को समस्या ल्याउन सक्छ। त्यस्ता महिला वा पुरुषले परिवार नियोजनको अन्य साधन छान्नुपर्छ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>