Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
घपलाबाजीको सिकन्दर - Himalkhabar.com

ब्लगशनिबार, पौष १२, २०७१

घपलाबाजीको सिकन्दर

महेश थापा

नेपाली राजनीतिक मञ्चमा सुशासनको डम्फू बोकेका अनेक छिर्केमिर्केहरू प्रकट भइरहने र निधारमा त्यागको खरानी घस्दाघस्दै बढ्ता घसेर त्यही खरानीको थुप्रोमा विलाउने क्रम जारी छ।

सकल प्रजाका लागि जंगबहादुरजीले उहिल्यै मुलुकी ऐनमा ‘हाकीमको लागि कराउनेको महल’ खडा गरेको भए पनि आजपर्यन्त हामी भ्रष्टाचारले पिल्सिएर कुइँकिरहेकै छौं।

पछिल्लो समय ‘अख्तियारको छापामारीमा रंगेहात पक्राउ’ टाइपका समाचारहरूबाट दुईचार वर्षमै कुवेरको अपुताली थुपार्न सफल राजनीति एवम् व्यापारका कुमार्गीहरू पनि अब दपेटिने होलान् भन्ने मधौरे आशा नपलाएको हैन, तर संसदीय समिति–अख्तियार क्षेत्राधिकार विवादले सारा मजामा किरकिरा पारिदियो।

अख्तियारलाई ठिंगुर्‍याउन तम्सेका माननीयहरूलाई लोकमानले क्षेत्राधिकारबारे राम्रै ‘क्लास’ दिन भ्याएछन्। दिन कस्तो आयो भने, संसदीय समितिबाट मूर्झाएर निस्किएका एक माननीयले सोधे, “लौ भनिदिन परो, अख्तियार र संसदीय समितिमा को ठूलो?”

“लोकतान्त्रिक व्यवस्थामा जनप्रतिनिधि संस्था सर्वोच्च हुने सत्य ढुंगामा लेखिने भए’नि माननीयहरू हसुर्नु हसुरेर हिउँ भालु झैं ‘हाइवरनेसन’तिर जाँदा मुलुकले ‘अदुआतन्त्र’ अंगीकार गरेको हो कि भन्ने भान हुँदो छ।

सर्वसाधारणले दिउँसै डिबिया बालेर खोज्दा’नि सरकारको मेसो पाउन नसक्ने, मन्त्री एवम् माननीयहरू आ–आफ्नै गोरखधन्दामा उग्राउने अनि झल्यास्स भएको बेला छामछुम गरेको भरमा साँध, सिमाना साबूत नरहेको दुखडा रुनुको के अर्थ?”

“अख्तियार ‘वाच डग’ कि ‘बाइटिङ्ग डग’?” माननीयले अर्को प्रश्न दागे।

“तपाईंहरू ‘स्लिपिङ्ग डग’ रहुन्जेल हाम्लाई यो प्रश्नसँग बालै भएन!”

‘इम्पोर्टेड’ मालमा बानी परेका नेपालीलाई स्वदेशी ‘आइटम’मा उस्तो भरोस छैन।

भ्रष्टहरूको दोहोलो काढ्ने मनसुवाले ओतप्रोत मेरा एक मित्र अन्ना हजारेसँग गुहार माग्न महाराष्ट्रको रालेगणसिद्धि पुगेछन्।

नेपाली राज्य संयन्त्रको आविष्कार ‘एन्टी अनशनी भ्याक्सिन’को जन्डु असरको जानकार रहेका हजारे बूढा के खाएर सिमाना काट्थे!

यस्तो घनघोर निराशायुक्त वातावरणमा पुरातात्विक महत्वका तीन थान मोबाइल चलाइरहेका हाम्रा प्रधानमन्त्री महोदयमा चाँदीको घेरा देखें।

संसारकै हरितन्नम् प्रधानमन्त्री बेहोर्न पाएको घडीमा नेपालीहरूले सुशासनको घडा फोड्ने आशा राख्नु सोह्रै आना स्वाभाविक हो।

यो साइतमा नफुटेको घडा कहिले फुट्ने? तर, बुझदै लैजाँदा भ्रष्टहरूले प्रधानमन्त्री स्वयंको फ्याउरी काढिरहेका रहेछन्! भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा प्रधानमन्त्री रुनुभयो, “संवेदनशील होऔं भन्छु, पड्केहरू पटक्कै मान्दैनन्!”

अहिले भ्रष्टाचारीहरू साँढे झैं मैमत्त घुमिरहेका र सदाचारीहरू रुझया मुसो माफिक दुलाँ घुस्रेको प्रधानमन्त्रीय चिन्तामा म पनि ठप्पा लाउँछु।

भ्रष्टहरूले उल्टै देखाउने र प्रधानमन्त्रीचाहिं देखेर उतर्सिने भए’सी ‘बिरालाको घाँटीमा घण्टी बाँध्ने कसले?’ भन्ने सवाल ठिङ्ग उभिन्छ।

कर्मचारीदेखि मन्त्रीसम्मलाई भ्रष्टाचार कहाँ हुन्छ भन्ने चैत/वैशाखको घाम जत्तिकै छ्याङ्ग भएको उहाँको जिकिर छ।

अब आफू मातहतका ठेउकेधरीलाई पत्तो भएको जिनिस नदेख्न प्रधानमन्त्रीज्यूको आँखामा कुन साउने बादलले छेकारो हाल्यो भन्ने जब्बरे प्रश्न जिम्दो बस्छ।

भ्रष्टाचार बढेकोमा शरम महसूस गरिरहनुभएका कार्यकारी प्रमुखलाई यो सब मालूम हुँदो हो त आफ्नो कार्यकारी अधिकार प्रयोग गरी तिनलाई बाउको बिहे देखाइसक्नुहुन्थ्यो।

भ्रष्टाचारको जड अस्थिर सरकार भएको भेट्ना छामेकाले पनि सरकार टिकाउनका खातिर अहिलेलाई विरही राग अलापेरै गर्जो टार्न खोजेको अनुमान गरम्।

झक मारेर बस्ने सरकार सानो माछा नसमात् भन्ने, मझौला माछातिर आँखा लाउँदा माननीयहरूलाई ऐंठन हुने र ठूला माछालाई बल्छी थाप्दा राजनीतिक वातावरण धमिलिएर संविधान अभरमा पर्ने जोखिम छ।

ठूलो–सानो माछाको खेलोमा हामी जनताको हाताँ चाहिं सदा झैं भ्यागुतो पर्ने निश्चितै छ। भ्रष्टाचार भयो भन्दै कार्यकारी प्रमुख स्वयम् कुकाउँदै हिंड्नुपर्ने देशले सुशासनमा केही नलछारी भ्रष्टाचारमै विश्व नम्बर एक हुने बबाल लक्षण देखिंदैछ।

सुशासनसँग ढोगभेट गर्न नपाएर के भो? हामीसँग ‘सुको’शासन छ। ‘सुको’ अर्थात् सम्माननीय प्रधानमन्त्री सुशील कोइरालाज्यूको शासन!

गत वर्ष भन्दा दश खुट्किलो फड्केर दक्षिण एशियाको दुई नम्बरी भ्रष्ट मुलुक बन्न सफल भएको घडीमा प्रधानमन्त्रीज्यूको ‘माथिबाट झाडु मार्ने’ अनुनय निरन्तर रहोस्, नेपाल चाँडै घपलाबाजीको सिकन्दर बनोस्।

बेरुजु, बक्यौता फुर्सदमा फर्छ्याउँला, हामी सबैलाई पेश्कीमा बधाई!!

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>