थप समाचारशनिबार, पौष १२, २०७१
चारतला माथि बगैंचा
-गोपाल गडतौला, झापा
बर्जर पेन्ट्सले एक दशकअघि ब्याङ्कक् घुमाउन लगेका उत्कृष्ट एजेन्टमध्येका एक थिए दमक–१३ का गंगा ढकाल (५०)।
त्यहाँ उनले बहुतले भवन र होटलहरूको बार्दली, छत र कोठा–कोठामा बिरुवा रोपेर हरियाली बनाएको देखे।
ढकालले त्यही बेला सोचे– उनले बनाउने घर पनि सानो–ठूलो जस्तो होस्, त्यस्तै हरियालीयुक्त हुनेछ।
नभन्दै अहिले उनको घर भित्र र छतमा ठाउँ अनुसार सिउँडी, धूपी सल्लो, कुरिलो, बाबरी, तुलसी, पुदिना, स्टेभिया, पत्थरचट्टा, लेमनग्रास, सिट्रोनेला, हडचुरलगायतका औषधिजन्य वनस्पतिदेखि सुन्तला र मेवासम्मका फलफूल लहलहाइरहेका छन्।
बाह्रमासे सिमी र सागले चारजनाको परिवारलाई तरकारीमाथिको परनिर्भरता थोरै भए पनि हटाएको छ।
ढकालले भने, “यसपालि स्याहार अलि कम्ती भएछ, सुन्तलाको चाहिं दानाहरू साना भए।” चारतले घरको सबै बार्दलीमा गमला अटाउने डेढफुट चौडा अलग्गै फलामे सेट छन्।
योग प्रशिक्षक गंगा र श्रीमती शान्ता (३८) को साँझ्–बिहानको समय घरभरिको बगैंचामा बित्छ।
कतै जाँदा एउटा भए पनि नयाँ बिरुवा ल्याउने गरेको शान्ता बताउँछिन्। अब त घरको सबै ठाउँ बिरुवाले भरिभराउ भएको छ।
घरभित्रै एक सयभन्दा बढी गमलामा बिरुवा छन्। ४० फुट माथिको कंक्रिट छतमा बिरुवा रोप्न यो दम्पतीले करीब ३० क्वीन्टल माटो राखेका छन्।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
