थप समाचारआइतबार, पौष १३, २०७१

एयर एशियाको वेपत्ता विमानको खोजी जारी

हिमालखबर

ग्राफिक्स malaysiakini बाट साभार

ग्राफिक्स malaysiakini बाट साभार

एयर एशियाको वेपत्ता विमान क्यूजेड ८५०१  दुर्घटना भएर समुद्रको पिंधमा पुगेको हुनसक्ने इन्डोनेसियाको खोज तथा उद्दार एजेन्सी प्रमुख बम्बांग सोएलिस्ट्योले बताएका छन् ।

“अहिलेसम्म प्राप्त सूचना र खोज कार्यबाट विमान समुद्रको पिंधमा पुगेको अनुमान गरेका छौं,” सोएलिस्ट्योलाई उद्धृत गर्दै एएफपीले उल्लेख गरेको छ । उनले अहिलेसम्म संकलित सूचनाका आधारमा गरिएको प्राथमिक अनुमान भएको पनि बताएका छन् ।

यसैबीच हिंजो स्थगित गरिएको खोजी कार्य पुनः सुचारु गरिएको छ ।

विमान दुर्घटना भएको संभावित स्थानहरुमा पानी परिरहेको र बाक्लो बादलका कारण पनि खोजी कार्यमा बाधा भएको बताइएको छ । बिमानकाे खाेजीमा  इन्डोनेशिया, सिंगापुर र मलेशियाका सैन्य विमान परिचालित भएका छन् ।

इन्डोनेशियाबाट सिंगापुर जाँदै गरेको क्यूजेड ८५०१ कल साइनको एयर एशियाको विमान ‘एयरबस ए ३२०–२००’ समुद्रमा खसेको इन्डोनिशियाको समाचार एजेन्सी अन्तराले ‘राष्ट्रिय खोज तथा उद्दार एजेन्सी’ लाई उद्धृत गर्दै जनाएको छ ।

विमान बेलिटुङ टापुदेखि १४५ किमी टाढा समुद्रमा खसेको बांग्का पोष्टलगायतका स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरे पनि त्यहाँका सरकारी अधिकारीहरुले विमान समुद्रमा खसेको पुष्टी भइनसकेको बताएका छन् । विमान दुर्घटना भएको ठानिएको क्षेत्रमा भारी वर्षा र अँध्यारो भएकोले खोजी कार्यमा कठिनाइ भएको खोजीमा संलग्न अधिकारीहरुले बताएका छन् ।

यद्दपी विमानमा ४ घण्टा भन्दा बढी उड्नका लागि इन्धन नभएको जनाइएको छ ।

विमानमा ५ जना चालकदलका सदस्यसहित १६२ यात्रु सवार थिए । जसमध्ये १५६ जना इन्डोनेशियाली, तीन जना दक्षिण कोरियाका साथै सिंगापुर, फ्रान्स र मलेशियाका एकएक जना रहेको एयरलाईन्स कम्पनीले जनाएको छ ।

खराब मौषमका कारण विमानले एयर ट्राफिक कन्ट्रोलरलाई वैकल्पिक मार्गका बारेमा सोधेको र त्यसलगत्तै सम्पर्कविहिन भएको इण्डोनेशियाली अधिकारीहरुले जनाएका छन् ।

चीनको सीसीटीभीले पनि बेलिटुंग टापु नजिक विमानको अवशेष देखिएको बताएको छ भने एयर एशियाले यसको पुष्टि गरिसकेको छैन ।

स्थानीय समय अनुसार इण्डोनेशियाको सुराबायाबाट विहान ५ः३५ मा उडेको विमान ४२ मिनेटपछि सम्पर्कविहिन भएको थियो ।

उडान तालिका अनुसार उक्त विमान सिंगापुरमा स्थानीय समय अनुसार विहानको ८ः३० बजे पुग्नुपर्ने थियो ।

इन्डोनेशियाको एयर एशियामा ४९ प्रतिशत लगानी मलेशियामा मुख्यालय भएको एयर एशियाको छ ।

विमानका चालकको ६ हजार १०० घण्टा र प्रथम अफिसरको २ हजार २७५ घण्टा उडानको अनुभव भएको पनि एयरलाइन्सले जनाएको छ ।

३२ हजार फिटको उचाइँमा उडिरहेको विमानको रुटमा बाक्लो बादल भएकाले विमान बायाँ तर्फ मोडिएकोसम्म सूचना आफूलाई भएको इन्डोनेशियाली अधिकारीले बताएका छन् ।

यसअघि मलेशियाको राष्ट्रिय विमान सेवा मलेशिया एयरलाइन्सका दुई वटा विमान ‘एमएच ३७०’ र ‘एमएच १७’ यसै वर्ष दुर्घटनामा परिसकेका छन् ।

२३९ जना यात्रु र चालकदलका सदस्य बोकेको ‘एमएच ३७०’ विमान गत मार्च महिनामा क्वालालम्पुरबाट बेजिंग जाँदै गर्दा वेपत्ता भएको थियो जसको अहिलेसम्म केही पत्ता लागेको छैन ।

त्यसैगरी २९८ यात्रु बोकेको ‘एमएच १७’ विमान युक्रेनमा मिसाइल आक्रमणमा परी दुर्घटना भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>