Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सहमति नजुटे स्वीकार्य संविधान - Himalkhabar.com

समाचारआइतबार, पौष १३, २०७१

सहमति नजुटे स्वीकार्य संविधान

किरण नेपाल

नयाँ संविधान निर्माणबारे अन्तर्यमा धेरै कुरा मिलिसकेको विश्वसनीय सूचनाका बीच प्रकट रूपमा नेपाली राजनीतिले असहमतिका धक्का बेहोरिरहेको छ । मुख्यतः एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल कुण्ठाग्रस्त हुन नछोड्दा संविधानका अन्तरवस्तुहरूमा भइसकेका भनिएका सहमति सार्वजनिक हुन सकिरहेका छैनन् ।

संविधानसभामा दुईतिहाइको समर्थनप्राप्त सत्तासीन दलहरू नयाँ संविधानको खाकामा लगभग स्पष्ट भइसकेका छन् । उनीहरू संविधानमा मिल्न बाँकी विषय भनिएका संघीयता, शासकीय स्वरुप, न्याय र निर्वाचन प्रणालीबारे दुईतिहाइको मतैक्यसहित संविधानसभामा छन् ।

एमाओवादी र मधेशकेन्द्रित दलहरूले आफू अनुकूलको संविधान बनाउन दुईतिहाइ बहुमतलाई चुनौती दिंदै आन्दोलनको घोषणा गरेका छन् । यद्यपि, वार्ता–संवाद पनि जारी छ ।

गत साता बिग्रिएको वातावरण सुधारेर सहमतिमा संविधान बनाउन दुवैपक्ष सम्मिलित कार्यदल बनाइएको छ । कार्यदलको प्रतिवेदनमा टेकेर १३ पुसबाट हुने शीर्ष वार्ताले सहमतिको संविधान निर्माणको बाटो खोल्ने आशा जीवितै छ ।

सहमतिको संविधानको आशामा सात वर्ष लामो सकसपूर्ण संक्रमणकाल बेहोरिसकेको मुलुकमा विषयपिच्छेको दलीय अडानले सकस थप्ने बाहेक केही गरेको छैन ।

राजनीतिको यो क्रूर यथार्थबीचमा राष्ट्रिय जीवनका अन्य क्षेत्रहरू सकारात्मक ढंगबाट चलायमान छन् । अर्थतन्त्रले उँचाइ लिइरहेको छ भने दलविशेषको राजनीतिक अभीष्टमा आएका साम्प्रदायिक मुद्दाहरूले विथोलेको समाज सङ्लिन थालेको छ ।

संविधानसभाभित्रका प्रमुख शक्तिहरू नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीको आ–आफ्नै राजनीतिक दर्शन छ । कांग्रेस र एमालेको दर्शन केही मिल्दोजुल्दो भए पनि एमाओवादीको राजनीतिक दर्शन कांग्रेस र एमाले भन्दा बिल्कुलै भिन्न छ ।

दर्शनमै भिन्नता रहेसम्म सहमतिको संविधान बन्न गाह्र्रो छ । दर्शनमा आधारित राजनीतिक चरित्रको अडान छाड्न सहज हुँदैन पनि । अरू कुनै विषयसँग सट्टापट्टाको रणनीति होइन भने, संविधानको अन्तरवस्तुमा एमाओवादीले राखेको अडान उसको राजनीतिक भविष्यसँग जोडिएकाले उसलाई अप्ठेरो परेको बुझन सकिन्छ ।

तर, आफ्नै राजनीतिक अडान अनुरूपको संविधानका लागि जनमत चाहिन्छ, जुन आज एमाओवादीसँग छैन । दोस्रो संविधानसभा निर्वाचनमा एमाओवादी, मधेशकेन्द्रित र जातिवादी दलहरूको पराजयले नयाँ संविधान निर्माणको सन्दर्भमा उनीहरूले बोकेको मुद्दा अस्वीकृत भइसकेको देखाउँछ ।

अस्वीकृत विचारको फेरो समातेर संविधान निर्माण प्रक्रियामा अवरोध गर्नु अलोकतान्त्रिक दुष्प्रयास हो । जबकि, ८ माघको समयसीमाभित्र सहमति नभए असहमतिसहितको संविधान स्वीकार्य बनाउनु आजको ऐतिहासिक आवश्यकता हो ।

राप्रपा नेपाल एउटा ज्वलन्त उदाहरण हो, बन्न लागेको संविधानमा जसको असहमति एमाओवादीको भन्दा पनि ज्यादा छ । एमाओवादीको असहमति संविधानको अन्तरवस्तुमा मात्र हो, राप्रपा नेपालको त गणतान्त्रिक धर्मनिरपेक्ष संविधानमै असहमति छ ।

हिन्दूराष्ट्र र राजतन्त्रसहितको संविधानको माग गरिरहेको राप्रपा नेपालसँग कुनै पनि हालतमा सहमति हुनसक्दैन । र पनि, उसले असहमति हुँदाहुँदै पनि बहुमतको निर्णय स्वीकार्ने भनिरहेको छ ।

संघीय प्रणालीमा चर्को विमति राख्ने चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चाले पनि विधि अनुरूप दुईतिहाइले जारी गर्ने संविधान स्वीकार्ने भनिरहेको छ ।

सहमति नजुटे प्रक्रिया अनुसार दुईतिहाइ बहुमतबाट संविधान जारी गर्ने संविधानसभा नियमावलीको व्यवस्था र गत निर्वाचनमा एमाओवादीलगायत सबैजसो दलले जनतासँग गरेको वाचा अनुसार असहमति कायम राख्दै भए पनि संविधान जारी गर्नुको अरू लोकतान्त्रिक विधि–विकल्प अब बाँकी छैन ।

नयाँ संविधान जारी गर्ने समयसीमा नजिकिंदै जाँदा २०६२/६३ को आन्दोलन र त्यसका नेतृत्वकर्ताहरूले आत्मसात् गरेको राजनीतिक मान्यता अनुसारको संविधान बन्न नदिने खेल पनि शुरू भइसकेको छ ।

अन्तरिम संविधानले नै टुंगो लगाइसकेको गणतन्त्र, धर्मनिरपेक्षताको विरोधमा शुरू भएको प्रहारले विवादको नयाँ आयाम खडा गर्दैछ ।

२०६२/६३ को जनआन्दोलन र त्यसपछि प्रकट भएका जनआकांक्षाहरूलाई आत्मसात् गर्दै बन्ने संविधानको विपक्षमा देखिएका चलखेललाई बेवास्ता गर्दै आफ्नै हठमा बस्ने हो भने परिस्थिति आन्दोलनकारी शक्तिहरूको हातबाट फुत्किन पनि सक्नेछ ।

८ माघको लक्ष्मणरेखा बाहिरको परिस्थितिको सामना गर्ने क्षमता अब नयाँ संविधानमा मात्र हुनेछ । र, त्यस्तो संविधान सहमतिको रटानबाट नभई आ–आफ्ना असहमति कायम राख्दै ‘असहमतिसहितको संविधान’ स्वीकारेर मात्र बन्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>