थप समाचारसोमबार, पौष १४, २०७१
विदेशी विद्यार्थीको आकर्षण
–दीपक ज्ञवाली, बुटवल

नेपालको जैविक विधिताबारे अध्ययन गर्न आएका अस्ट्रेलियाली विद्यार्थी विश्व सिमसार क्षेत्रमा सूचीकृत कपिलवस्तुको जगदीशपुर तालमा । तस्वीरहरुः दीपक ज्ञवाली
नेपालमा चरा तथा वन्यजन्तु संरक्षणको धार्मिक र सांस्कृतिक काइदा सुनेर अस्ट्रेलियाली विद्यार्थी अलेक्जेन्ड्रिया कोमिनो चकित परिन् । संसारभर वन्यजन्तु र चराको संरक्षणमा चुनौती देखिएका बेला नेपालमा चरा र जनावरको पूजा गर्ने संस्कृतिले उनको मन छोयो । अलेक्जेन्ड्रिया यस्तो अनौठो र प्रेरणादायी काम अन्यत्र कतै नभेटेको बताउँछिन् ।
अस्ट्रेलियाको चाल्र्स स्टर्ट विश्वविद्यालयमा वातावरण विज्ञान अध्ययनरत स्नातकोत्तर तहका अलेक्जेन्ड्रिया सहितका १४ विद्यार्थीले १०० पूर्णाङ्कको अन्तर्राष्ट्रिय प्रयोगात्मक अध्ययन अन्तर्गत नेपालको जैविक विविधता, वन्यजन्तु र चराको अध्ययनमा एक महीना बिताउँदा यस्ता धेरै नौला कुरा भेट्टाए । प्रकृति र धर्म संस्कृतिबीचको अन्तरसम्बन्धका रोचक कथा नौलो लागेको अर्का विद्यार्थी पल बार्डेनले बताए । उनले भने, “संरक्षणका यी काइदा अनौठा र अन्य देशका लागि प्रेरणादायी छन् ।”
नेपालका विभिन्न समुदायमा आ–आफ्ना धर्म र संस्कार अनुसार सर्प, काग, कुकुर, कछुवा, हात्तीलगायतको पूजा गर्ने चलन छ, जसबाट उनीहरूको संरक्षणमा अप्रत्यक्ष सहयोग पुगेको छ । आफ्ना प्राध्यापकहरूसहित नेपाल आएका अस्ट्रेलियाली विद्यार्थीले विश्व सिमसार क्षेत्रमा सूचीकृत कपिलवस्तुको जगदीशपुर ताल, लुम्बिनी, चितवन र कास्कीको अन्नपूर्ण क्षेत्रमा जैविक विविधता, वन्यजन्तु र चराबारे अध्ययन तथा नवलपरासीको अमलटारी होमस्टे र चितवन राष्ट्रिय निकुञ्जको समेत अवलोकन गरेका थिए ।
वातावरण विषयका प्राध्यापक म्याट हन्ट भन्छन्, “संरक्षणमा स्थानीयको चासो र संस्कार साँच्चै सराहनीय लाग्यो ।” कपिलवस्तुको जगदीशपुर ताल पुग्दा आधा घण्टाभित्रै अस्ट्रेलियामा कतै नदेखेका १५ किसिमका चरा यौटै तालमा देखेर रोमाञ्चित बनेका प्राध्यापक हन्ट आफ्ना विद्यार्थीले नेपालमा गरेको अध्ययनलाई विश्वव्यापी बनाउने बताउँछन् ।
जगदीशपुर तालमा पाइने ११० प्रजातिका चरामध्ये कतिपय विश्वमै दुर्लभ मानिन्छन् । स्थानीय महिलाले संरक्षण गरेको नमूना ताल हो, यो । ताल संरक्षणमा पुर्याएको योगदानबापत स्थानीय संस्था एड नेपाल संयुक्त राष्ट्रसंघको इक्वेडर महासभा–२०१४ मा पुरस्कृत समेत भयो ।
अस्ट्रेलियाको पाँचौं ठूलो चाल्र्स स्टर्ट विश्वविद्यालयमा विभिन्न देशका करीब ३८ हजार विद्यार्थी पढ्छन् । विश्वविद्यालयका प्राध्यापक इयान टेलरले ‘नेपालमा अनुसन्धानका लागि जैविक विविधताका नौला तथ्य र आकर्षण रहेको’ भन्ने सुझव दिएपछि विश्वविद्यालयले विगत ६ वर्षयता आफ्ना विद्यार्थीलाई नेपाल पठाउँदै आएको छ ।
अहिलेसम्म ५० भन्दा बढी अस्ट्रेलियाली विद्यार्थीले नेपालको जैविक विविधता, वन्यजन्तु र चराबारे अध्ययन गरिसकेका छन् । वरिष्ठ चराविद् डा. हेमसागर बराल छोटो समयमै हिमाल, पहाड र तराईमा पाइने वन्यजन्तु, चरा र सिमसार क्षेत्र अवलोकन–अध्ययन गर्न सकिने भएकाले अनुसन्धानका लागि विदेशी विद्यार्थीको आकर्षण बढेको बताउँछन् ।
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
