थप समाचारमंगलबार, पौष १५, २०७१

श्री ५ का गाडी! (फोटो फिचर)

हिमालखबर

g1

राष्ट्रपति चढ्ने लिमोजिन। तस्वीर: किरण पन्थी

– प्रकृति अधिकारी
नेपालबाट राजतन्त्र विदा भएको साढे आठ वर्षमा पनि उच्चपदस्थ कर्मचारीदेखि राष्ट्रपतिसम्म ‘श्री ५’ कै गाडी चढिरहेका छन्।

तत्कालीन राजा ज्ञानेन्द्रले ३० जेठ २०६५ मा नारायणहिटीबाट विदा हुँदा नेपाल सरकारको निर्णय बमोजिम बुलेट प्रुफ मर्सिडिज बेञ्ज कार र ल्याण्डक्रुजर जीपसहित चार वटा गाडी नागार्जुन दरबार लगे भने एउटा मर्सिडिज बेञ्ज कार तत्कालीन मुमा बडामहारानी रत्नलाई दिइयो।

ज्ञानेन्द्र राजा बनेपछि निर्मलनिवास लगेका ६ वटा गाडी पनि कहिल्यै नारायणहिटी नफर्काएको दरबारका तत्कालीन सवारी शाखा प्रमुख सुशील श्रेष्ठ बताउँछन्।

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रयोग गर्ने गरेको ड्याम्लर।

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रयोग गर्ने गरेको ड्याम्लर।

नारायणहिटी दरबार संग्रहालयका पूर्व प्रमुख जयराम महर्जन नेपाल सरकारले नदिएको तर ज्ञानेन्द्र शाहले लिएर गएका गाडीहरू फिर्ता ल्याउन आफूलाई तत्कालीन संस्कृति सचिव मोदराज डोटेलले मौखिक निर्देशन दिएको बताउँछन्।

“तर, सचिवको मौखिक निर्देशनको भरमा मैले त्यो कामको आँट गरिनँ”, महर्जन भन्छन्, “सचिवज्यूले पनि लिखित आदेश दिन सक्नुभएन।”

नारायणहिटी दरबारका ६५ वटामध्ये बाँकी गाडीहरू संस्कृति मन्त्रालयहुँदै राष्ट्रपति र उप–राष्ट्रपति कार्यालयदेखि नेपाली सेना, निजामती अस्पताल, शहरी विकास मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय र गृह मन्त्रालयसम्म पुगे।

चारवटा गाडी नारायणहिटी दरबार संग्रहालयले प्रयोग गरिरहेको छ। ‘श्री ५ महाराजधिराज सरकार’ का नाममा रहेका ती गाडीमध्ये कुनैको पनि नामसारी नभएको दरबार संग्रहालयका प्रमुख रोहितकुमार ढुंगाना बताउँछन्।

g3‘श्री ५ को’ गाडीमा राष्ट्रपति
पूर्व राजा ज्ञानेन्द्रले नारायणहिटी छाड्दा लिएको बा १ च ५६२५ नम्बरको बुलेट प्रुफ मर्सिडिज बेञ्ज अहिले पनि प्रयोग गरिरहेका छन् भने रत्न शाहलाई दिइएको मर्सिडिज बेञ्ज महेन्द्र मन्जिलको ग्यारेजमा थन्किएको छ।

प्रहरी महानिरीक्षक चढ्ने बुलेट प्रुफ मर्सिडिज बेञ्ज।

प्रहरी महानिरीक्षक चढ्ने बुलेट प्रुफ मर्सिडिज बेञ्ज।

राजप्रासाद सेवामा सचिव रहेका शम्भुप्रसाद अधिकारी २०६५ सालपछि जम्मा तीन पटक मात्र नारायणहिटी बाहिर निस्किएकी रत्नलाई त्यो गाडी चलाउनै नपरेको बताउँछन्।

अहिले पनि पूर्व मुमाबडामहारानीको हेरचाह गरिरहेका अधिकारी ‘इमर्जेन्सी’ मा काम लाग्छ भनेर त्यो मर्सिडिज त्यहाँ राखिएको बताउँछन्।

राजकीय समारोहमा सहभागी हुँदा पूर्वराजा ज्ञानेन्द्र शाहले प्रयोग गर्ने कार।

राजकीय समारोहमा सहभागी हुँदा पूर्वराजा ज्ञानेन्द्र शाहले प्रयोग गर्ने कार।

दरबारबाट बाहिरिएका अन्य महँगा गाडीमध्ये बा ४ च २१५४ नम्बरको लिमोजिन राष्ट्रपति डा. रामवरण यादवले प्रयोग गरिरहेका छन् भने उप–राष्ट्रपतिका लागि लगिएको बा १ च ९२९३ नम्बरको बुलेट प्रुफ मर्सिडिज बेञ्ज प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले।

राजकीय समारोहमा राजा वीरेन्द्रले प्रयोग गर्ने स्टेट कार।

राजकीय समारोहमा राजा वीरेन्द्रले प्रयोग गर्ने स्टेट कार।

राष्ट्रसंघका महासचिव वान की मुन नेपाल आउने भएपछि परराष्ट्र मन्त्रालयले माग्दा दिइएको बा १ च ९२९४ नम्बरको बुलेट प्रुफ मर्सिडिज बेञ्ज भने भ्रमण रद्द भएसँगै चार वर्षदेखि राहदानी विभागको पूर्वतर्फ घामपानी सहेर बसेको छ।

अवैध प्रयोग!

तत्कालीन जर्मन चान्सलर एडोल्फ हिटलरबाट राजा त्रिभुवनलाई उपहारस्वरुप दिइएको बेञ्जकार।

तत्कालीन जर्मन चान्सलर एडोल्फ हिटलरबाट राजा त्रिभुवनलाई उपहारस्वरुप दिइएको बेञ्जकार।

नारायणहिटी दरबार नेपाल सरकारको मातहतमा आएपछि त्यहाँका गाडी व्यवस्थापनका लागि गठित कार्यदलले प्रयोगमा आउनसक्ने जति सरकारमा नामसारी गरेर चलाउन र काम नलाग्ने १४ वटाको दर्ता खारेज गरेर प्रदर्शनमा राख्न सुझाव दिएको थियो।

थन्किएकामध्ये तीन वटा गाडी मर्मत गर्दा अति विशिष्ट व्यक्ति (भीभीआईपी) र चार वटा विशिष्ट पदाधिकारीहरूका लागि उपयुक्त हुने प्रतिवेदनमा उल्लेख छ। तर, अहिलेसम्म न नामसारी भएको छ न त मर्मत र दर्ता खारेजी नै।

राष्ट्रसंघका तत्कालीन महासचिव कोफी अन्नान चढेको यो कार राहदानी विभागमा थन्किएको छ।

राष्ट्रसंघका तत्कालीन महासचिव कोफी अन्नान चढेको यो कार राहदानी विभागमा थन्किएको छ।

परिणाम, प्रहरी प्रमुखदेखि राष्ट्रपतिसम्मले चलाइरहेका ‘श्री ५ महाराजाधिराज’ का ती गाडीहरू राजस्व नबुझाई सडकमा गुडिरहेका छन्।

राष्ट्रपति र प्रहरी प्रमुख बाहेक अरूले चलाएका गाडीहरूलाई बेलाबखत ट्राफिक प्रहरीले रोकेर ‘ब्लु बुक’ माग्ने गरेका छन्, तर प्रयोगकर्ता सरकारी निकायहरू भएकोले त्यसै छाड्ने गरेको छ। नाम उल्लेख गर्न नचाहने संस्कृति मन्त्रालयका एक सह–सचिव वर्षाैंदेखिको राजस्व तिर्न सम्भव नभएकाले सरकारले एकमुष्ट मिनाहा गर्नुपर्ने बताए।

उता महानगरीय ट्राफिक प्रहरीका एक अधिकृत भन्छन्, “हुँदै नभएको व्यक्तिको नामका गाडीहरू राष्ट्रप्रमुख र सरकारी निकायहरूले नै चलाएको भए पनि अवैध हो।”

बग्गी किसिमको सबैभन्दा पुरानो फोर्ड कार।

बग्गी किसिमको सबैभन्दा पुरानो फोर्ड कार।

दरबार संग्रहालयले आफूले प्रयोग गरिरहेका चार वटा गाडीको नामसारीका लागि आग्रह गरेपछि संस्कृति मन्त्रालयले वाग्मती अञ्चल यातायात व्यवस्था विभागलाई सिफारिस पठाएको छ।

दरबारका गाडी सम्बन्धी अध्ययन गर्न गठित कार्यदलका संयोजक रहेका सामान्य प्रशासन मन्त्रालयका सह–सचिव लेखबहादुर कार्की नामसारीको जिम्मेवार निकाय संस्कृति मन्त्रालय नै रहेको बताए।

संस्कृति मन्त्रालयका सह–सचिव उमाकान्त पराजुलीले बाँकी गाडीहरूको खोजी गर्न दरबार संग्रहालयलाई पत्र पठाउन लागेको बताए।

तत्कालीन राजा महेन्द्रले प्रयोग गर्ने अस्टिन प्रिन्सेस कार।

तत्कालीन राजा महेन्द्रले प्रयोग गर्ने अस्टिन प्रिन्सेस कार।

ग्यारेजमा बुलेट प्रुफ
नारायणहिटी दरबार परिसरको ग्यारेजमा ९० वर्षअघि सन् १९२४ मा बनेको फोर्ड कार (बा अ २) सहित २८ वटा गाडी थन्किएका छन्। १२ फागुन २०६३ (महाशिवरात्रि) मा तत्कालीन राजा ज्ञानेन्द्र पशुपति मन्दिर जाँदा प्रदर्शनकारीको ढुंगा लागेर अगाडिको सिसा चर्किएको गाडी जस्ताको तस्तै राखिएको छ।

ग्यारेजमा रहेकामध्ये दुईवटा गाडी ‘श्री ५ अधिराजकुमार ज्ञानेन्द्र वीरविक्रम शाह’ को नाममा छन् भने बाँकी सबै ‘श्री ५ महाराजाधिराज सरकार’ को नाममा। दरबार संग्रहालयमा तीमध्ये केही गाडीको ‘ब्लु बुक’ छ।

दीपेन्द्र, श्रुति र निराजनले केटाकेटीमा प्रयोग गरेका बेबी कार।

दीपेन्द्र, श्रुति र निराजनले केटाकेटीमा प्रयोग गरेका बेबी कार।

जर्मन नेता एडोल्फ हिटलरले राजा त्रिभुवनलाई उपहार दिएको बा.अ. ९३८ नम्बरको ड्याम्लर बेञ्ज कार २०१४ सालमा कान्छी महारानी (त्रिभुवनपत्नी ईश्वरीराज्यलक्ष्मीदेवी) को नाममा र सन् १९६७ मा बेलायतमा बनेको अस्टिन प्रिन्सेस कार कान्छी महारानीको नामबाट ‘श्री ५ महाराजाधिराज’ मा नामसारी गरिएको देखिन्छ।

ऊबेला एउटा दरबार र अर्को बेलायती राजदूतावासको लागि दुई वटा अस्टिन प्रिन्सेस नेपाल भित्रिएका थिए।

दीपेन्द्रले अन्तिम समयसम्म प्रयोग गरेको टोयोटा ल्याण्डक्रुजर। दरबार हत्याकाण्डका दिन मृतक तथा घाइतेहरुलाई वीरेन्द्र सैनिक अस्पतालसम्म पुर्‍याउन यसलाई एम्बुलेन्सको रुपमा प्रयोग गरिएको थियो।

दीपेन्द्रले अन्तिम समयसम्म प्रयोग गरेको टोयोटा ल्याण्डक्रुजर। दरबार हत्याकाण्डका दिन मृतक तथा घाइतेहरुलाई वीरेन्द्र सैनिक अस्पतालसम्म पुर्‍याउन यसलाई एम्बुलेन्सको रुपमा प्रयोग गरिएको थियो।

ग्यारेजमा राजा महेन्द्र र वीरेन्द्रले शिकारमा प्रयोग गरेका ल्याण्डरोभर, वीरेन्द्रका तीन सन्तानले सानामा चलाएका बेबीकार, युवराज दीपेन्द्रले जीवनको अन्तिम दिन १९ जेठ २०५८ को दिउँसो चलाएको ल्याण्ड क्रुजर, तेस्रो सार्क शिखर सम्मेलनको बेला २०४४ सालमा ल्याइएको बुलेट प्रुफ मर्सिडिज बेञ्जकार, १९ जेठ २०५८ रातिको दरबार हत्याकाण्डपछि घाइते र मृतकहरूलाई छाउनी अस्पतालसम्म ओसार्न प्रयोग गरिएको टोयोटा ल्याण्डक्रुजर (बा ४ च १११९) लगायतका गाडीहरू छन्। ग्यारेजमा सुपर भी एट, जगुआर, मर्सिडिज बेञ्ज लगायतका आठ वटा बुलेट प्रुफ कार छन्।

तस्वीरहरुः प्रकृति अधिकारी र रोहित ढुंगाना

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>