रमझममंगलबार, पौष १५, २०७१
मह जोडीको पाताल यात्रा
अमेरिकाकोे २३ राज्यमा २८ र क्यानडाको ६ स्थानमा भएको महजात्राको एकै मञ्चमा कम्तीमा २२ सय दर्शकले हेरेका थिए। सनफ्रान्सिस्कोमा कार्यक्रम हेर्न आएका हलिउड फिल्म ‘सोल्ड’ का निर्देशक जेफ्री डी ब्राउन यतिका दर्शक देखेर छक्क परेका थिए। ३१ असोजमा अमेरिकाको लसएञ्जलस पुगेको महको टोलीमा किरण केसी, शिवहरि पौडेल, बसुन्धरा भुसाल, यमन श्रेष्ठ, मोहित आचार्य, रमिला आचार्य, गौरीशंकर ध्वजू र रवि लामिछाने सहभागी थिए। कार्यक्रमको व्यवस्थापन, उद्घोषण र स्थानीय आयोजकसँग समन्वयदेखि गाडी चालकसम्मको काम अमेरिका निवासी टीभी कार्यक्रम प्रस्तोता तथा गिनिस बुक अफ वर्ल्ड रेकर्ड होल्डर रविले गरेका थिए।
समृद्धितर्फ नेपाली
मह जोडीले यसअघि सन् १९९० र सन् १९९९ मा पनि अमेरिकाका कलायात्रा गरेको थियो। अमेरिकामा नेपालीको अवस्था पहिलेभन्दा निकै सबल बनेको उनीहरूको अनुभव छ। मदनकृष्णको भनाइमा, पहिले धेरै नेपाली अरुको ग्यास स्टेशन र डिपार्टमेन्टल स्टोरहरूमा काम गरिरहेका भेटिन्थे अहिले आफैं व्यवसाय गरेकाहरू प्रशस्तै भेटिए। “एउटै राज्यमा नेपालीले ५२ वटा जति ग्यास स्टेशन चलाएका रहेछन्”, मदनकृष्णले भने, “यसपटक गुगल, फेसबुक, एप्पल जस्ता कम्पनीहरूमा काम गर्ने नेपाली पनि भेट्यौं।”
अमेरिकामा शिक्षित नेपालीको संख्या बढ्दा आर्थिक समृद्धितर्फको यात्रा शुरु भएको हरिवंशको भनाइ छ। उनका अनुसार, पहिले अमेरिकी शहरहरूमा कार्यक्रम सकिएपछि नेपाली आयोजकहरूले कलाकारहरूलाई बाँडेर आ–आफ्ना बासस्थानमा राख्थे। अहिले महँगा होटलहरूमा समेत राखे। सबैजसो कार्यक्रमहरू स्थानीय आयोजकहरूले ‘फण्डरेजिङ’ का लागि गरेका थिए। कार्यक्रममा उठेको रकम कहीं मन्दिर बनाउने त कहीं नेपालका बाढी पीडितलाई पठाउने उद्घोष गरिए। मह जोडीले समेत लसएञ्जलसमा मन्दिर बनाउन रु.१ लाख दिए।
क्यानडा पुग्दा मह जोडीलाई भूटानी शरणाथरीहरूले अर्को ‘सरप्राइज’ दिए। उनीहरूले २६ वर्ष अगाडि महले लगाएको गुन क्यानडामा सम्झाइदिए। भूटानबाट लखेटिएर भर्खर नेपाल आएको समयमा मह जोडीले कार्यक्रम गरेर उनीहरूलाई रु.१ लाख जुटाइदिएका थिए। त्यो रकम कन्काइको किनारमा दालचामल, तरकारी किन्न र छाप्रो बनाउन खर्च भएको थियो। यसपटकको यात्रामा क्यानेडियन भूटानिज सोसाइटीमा आबद्व नेपाली मूलका ती भूटानीहरूले महको हातमा ६०० क्यानेडियन डलर (रु.५२,८००) राखिदिए। जुन रकम वीरगन्ज जेलमा खोलिएको समता स्कूलका ८० बालबालिकालाई जाडोमा लगाउन स्वेटर र टोपी किन्न खर्च गरियो। “हामीले सहयोग जुटाउँदा १०/१२ वर्षका उनीहरुले अहिले अरुलाई सहयोग गर्दै हामीलाई पुरानो दिन समझाउन दिलदार हैसियत देखाए”, हरिवंश भन्छन्।
बदनाम गर्ने प्रयास
महको जातीय सद्भाव र एकताको सन्देश दिने बाहुनबहादुर–नेवारबहादुर प्रहसनलाई लिएर जातीयता र संघीयता विरोधीको आरोप पनि लगाइयो। यो प्रहसनमा नेवार समुदायका मदनकृष्ण बाहुन र बाहुन हरिवंशले नेवार बनेर प्रस्तुत भएका थिए। प्रहसनको मुख्य सन्देश जातीयताको नाराबाट कसैको भलो हुँदैन भन्ने भए पनि कतिपयले गलत व्याख्या गरेर आफूहरूलाई संघीयता र जातीयताको विरोधीका रुपमा वेबसाइटबाट हल्ला फैलाएको उनीहरू बताउँछन्।
आफूहरूलाई विवादमा ल्याउन खोज्नेमा जनजाति समुदायका नभई ‘बाहुन’ हरू भएको हरिवंशको भनाइ छ। उनका अनुसार, संघीयता विरोधीको हल्ला चलाइएपछि न्युयोर्कको कार्यक्रममा टिकट नबिकेपछि आयोजकहरूकै सल्लाहमा जनजाति अगुवाहरूसँग छलफल गरिएको थियो। छलफलपछि निकालिएको एउटा विज्ञप्तिले गलत हल्लालाई साम्य पारेको थियो। “काठमाडौंमा भन्दा बढी न्यूयोर्कमा ‘नेपाली राजनीति’ हुने रहेछ”, हरिवंश भन्छन्, “त्यस कुरालाई लिएर पनि त्यहाँ पत्रिका चलाउने मेरै जातका केही साथीले महजोडीलाई रातारात कागज गराइयो भनेर लेखेछन्!”
केही वर्षअघिका आमा, मदनबहादुर–हरिबहादुर जस्ता सामाजिक सन्देशमूलक टेलिसिरियलको प्रायोजनमा आएको रकमलाई समेत संघीयताको विरुद्धमा पाएको नगद भन्ने किसिमको प्रचार भएकोमा मह जोडीले चित्त दुखाए। “हामी जानुअघि मानव तस्करी गर्न आउँदैछन् भनेर पनि लेखेछन्”, मदनकृष्ण भन्छन्, “कतिपय ठाउँमा दर्शकले सम्मान प्रकट गर्दै ताली बजाउँदा यिनीहरूका लागि किन उठेको? भनेर समेत लेखे।”
यस्ता भ्रम छर्न खोजिए पनि आफूहरू नेपाली एकताको पक्षमा लागिरहने महको भनाइ छ।
————————————————————————————————————————————————–
उड्दै गुड्दै १८ हजार किमी
८३ दिनमा ३४ शो गर्न १० जना कलाकारहरूले गरेको अमेरिका र क्यानडाको यात्रा रोमाञ्चकसँगै थकानपूर्ण पनि थियो। कतिपय स्थानमा शुक्रबार, शनिबार र आइतबार लगातार कार्यक्रम हुँदा कलाकारहरूले सुत्ने समय पाएनन्। “दुई बजे सुतेर चार बजे उठ्यो, ६ बजे एयरपोर्ट गएर ७ बजे नयाँ ठाउँमा कार्यक्रम गर्यो”, मदनकृष्ण भन्छन्, “केन्टकीबाट १८ घण्टा गाडी यात्रा गरेर कार्यक्रम गर्न न्यू ह्याम्पशायर पुगियो।”
उनको भनाइमा ३४ ठाउँमा लगातार कार्यक्रम गर्नु भनेको आज काठमाडौं, भोलि नेपालगन्ज, पर्सि झापा, निपर्सी बर्मा, अर्को दिन ब्याङ्कक्, अर्को दिन सिंगापुर र कोरिया अनि अर्को दिन जर्मनीमा भने जस्तै हो। कलाकार टोलीले कहिले आकाशमा उड्दै र कहिले सडकमा गुड्दै १८ हजार किलोमीटरको यात्रा गरेका थिए। रवि लामिछाने र यमन श्रेष्ठले आलोपालो गाडी चलाएको यात्रामा किरण केसी, शिवहरि पौडेल र बसुन्धरा भुसालले भने दबाईको काम गरे, हँसाएर।
भ्यानकुभर जाँदा मिचिगनको ट्राञ्जिटमा पाँच जनाको प्लेन छुट्नेदेखि एकबाट अर्को ठाउँको कार्यक्रम भ्याउन दर्शकहरूबाट भाग्दै समेत हिंड्नुपरेको कलाकारहरूको अनुभव छ। “नेब्रास्काबाट अर्को ठाउँ गइहाल्नुपर्ने हुँदा कार्यक्रमपछि फोटो खिच्न कुरेका दर्शकलाई छलेर रविले भगायो”, हरिवंश भन्छन्, “त्यहाँका धेरै दर्शकले चित्त दुखाएर अझै इमेल गरिरहनुभएको छ।”
साप्ताहिक खबरपत्रिका हिमालबाट