टिप्पणीबुधबार, पौष १६, २०७१
दूधको भाउ बढ्यो, खुसी हुनु कि दुखीे ?
फेरि दूधको भाउ बढ्यो । किसानले उत्पादन खर्च बढेको भन्दै दबाब दिन थालेपछि दुग्ध विकास संस्थानले दूधको मूल्य लिटरमा रु.१० सम्म बढाएको छ । सरकारी तहमा मूल्य बढेपछि निजी क्षेत्रका डेरीले पनि बढाउने भइहाले ।
यसबाट उपभोक्तालाई भने पिरलो थपिएको छ । सरकारले उत्पादन लागतको लेखाजोखा गरी लागत घटाउने तिर नलागेर वर्षेनी मूल्य बढाउँदै जाँदा झन् जटिलता आउने छ । त्यसैले, कतै मार नपार्ने गरी हिसाबकिताब हुनै पर्दछ । आखिर किसानले उत्पादन गरेको दूध शहर बजारमा नै बिक्री गर्ने हो ।
दूधका उपभोक्ता चिया पसल मात्र होइनन् । निम्न आय भएका घरपरिवारका स–साना बच्चाको मुख्य आहार नै दूध हो । त्यही परिवारमा काम गर्न नसक्ने अशक्त बुढाबुढी र रोगी मानिस छन् । उनीहरुलाई पनि दूध चाहिन्छ नै । त्यसैले दूधमा मूल्य वृद्धिको प्रत्यक्ष असर यीनै बाल, वृद्ध र रोगीमा पर्छ । बढेको मूल्यले नथेग्ने भएपछि निम्न आय भएकाहरुले दैनिक खरिद गर्ने दूधको मात्रा घटाउनु एकमात्र विकल्प भएकोे १६ पुस बिहान दूध किन्न आएका गृहणीहरुले बताए ।
किसानको पनि आफ्नै तर्क छ । उनीहरुको उत्पादन अरुले तोकिदिएको भाउमा बिक्री गर्नु पर्दछ । तर, श्रम, दाना–पानी, गाईभैंसी अरुले नै तोकेको मूल्यमा खरीद गर्नु पर्ने वाध्यता छ । तरकारीको बजार भाउ कहिले घट्ने कहिले बढ्ने गर्दछ । उत्पादन हुने समय र आपूर्तिका आधारमा तरकारीको मूल्य तय हुन्छ । मेरो उत्पादन लागत अनुसार मूल्य लिन्छु भन्यो भने तरकारी विक्दैन, खुला बजारमै प्रतिस्पर्धा गर्नेे हो । तरकारीमा यसरी अर्थशास्त्रको माग र आपूर्तिको नियम लागू हुन्छ ।
तर दूधमा माग आपूर्तिको नियम नभएर लागत र दबाबको खेल देखिएको छ । लागत विश्लेषण र त्यसको औचित्य पुष्टि नगरी भाउ बढाउन दबाब दिने किसान र लागत घटाउनतर्फ ध्यान नदिने सरकारी नीति कार्यक्रमबीच के को आधारमा एकहोरो दूधको मूल्य बढिरहेको छ भन्ने कारण उपभोक्ताले जान्न पाए सायद यति पीरलो पर्ने थिएन होला ।
पंचायत कालका कृषि मन्त्री हेमबहादुर मल्ल समक्ष त्यसबेला दुग्ध विकास संस्थानले दूधको मूल्य बढाउने प्रस्ताव गर्दा मल्लले बाल, बृद्ध र रोगीलाई अत्यावश्यक दूधको मूल्य नबढाउन निर्देशन दिएका थिए । उनले बरु चुरोट, रक्सी जस्ता वस्तुमा मूल्य बढाएर दूधको उत्पादन लागत घटाउनतर्फ ध्यान दिन भनेको यो पंक्तिकार साक्षी छ ।
दूधको मूल्य बढाउने प्रस्तावमाथि उनले गरेको हस्तक्षेप मार्मिक भएकाले मैले अहिले पनि सम्झिरहेको छु ।
२०२९ सालको कुरा हो । एक बोत्तल (अहिलेको एक प्याकेट) दूधको मूल्य ७९ पैसा थियो । लाइन लागेर ८० पैसा दिंदा एक पैसा फिर्ता पाइन्थ्यो । १६ पुस २०७१ देखि दूधको मूल्य प्रतिप्याकेट रु.४० सम्म भएको छ । त्यो कुरा अब सत्ययुगको जस्तै भइसक्यो ।
अब कृषि क्षेत्रमा किसान र बजारबीचको मूल्यदूरी र लागतको विश्लेषण गरेर मूल्य तय गर्ने र लागत घटाउँदै किसान र उपभोक्ता दुवैको हित हुने नीति बनाइनु जरुरी छ ।