ब्लगशुक्रबार, पौष १८, २०७१

डबलीमा जेरी

महेश थापा

चिचिन्डे मुसो जेरीले ढाडे बिरालो टमलाई निरन्तर थाङ्नामा सुताएको देखेर चित्तशान्ति गर्दै आएकाहरूका लागि ‘लाइभ टम एन्ड जेरी डबली’ जुर्नुलाई गणतन्त्र संस्थागत हुने लक्षण भन्नुस्।

झन्डै शताब्दी अघिदेखि लड्भिड् गर्दागर्दा आजित भएका टम र जेरीले सुलहको प्रस्ताव गरेछन्। रातोदिन ख्यार–ख्यार गरिबस्नु भन्दा एउटा विधान बनाई आ–आफ्नो ठेगानमा बस्ने सहमति गरिएछ।

jerrryटीभीका अम्मली नेपालीजनको भाग्य हेर्नुस्, उनीहरूले संविधान निर्माणको प्रहसनमार्फत हास्यको मूल फुटिरहेको नेपाललाई विधान रचनास्थल बनाउने निधो गरेछन्।

आफ्नो सुविधाको विधान रच्न टम र जेरी दलबलसहित काठमाडौंको एउटा डबलीमा प्रकट भए। टेलिभिजनका कार्टून स्टारलाई डबलीमा साक्षात् देख्न दर्शकहरूको अपार भीड लाग्यो।

खरानी रंगको कोटमा सजिएका मिस्टर जेरीले मन्द मुस्कानका साथ उपस्थित भीडतिर हेर्दै मुड्केभिवादन गरे। डबली नमोको सम्बोधनपछिको संविधानसभा जस्तो गुञ्जायमान भयो।

तिलस्मी जेरीका पक्षमा बजेको तालीले टमको ओठतालु सुक्यो। हौसिएको जेरीले जुँगामा ताउ लाउँदै पेलान दियो, “मैले भन्या जस्तो विधान लेखिन्छ, नत्र एक अक्षर लेखिन्न भन्ने भेजामा घूसा, ढाडे!”

“असत्ती निर्देशकले हरेक ‘एपिसोड’ मा यसको साइड लिएर मलाई नै क्वाँक पार्थ्यो”, टम फतफतायो, “विधान पनि यसैले भनेजस्तो लेख्यो भने म ढाडेको जहाजै डुब्छ।”

डबलीको कुर्सीमा उपरखुट्टी लाएर बसेको जेरीले दपेट्दै भन्यो, “अझ् म्याउँ गर्छस् सिल्ली?”

अतासिएको रनाहमा टमले हानेको पञ्जा कुर्सीमा लाग्दा उत्पन्न कम्पनले उछिट्टिएको जेरी भुईंमा तीनचित् हुन पुग्यो। पछार्नमा अभ्यस्त जेरीले पहिलो बाजी चित् खानुपर्दा तोरीको फूल देख्यो। पुट्ठाको धूलो टक्टक्याउँदै उठेर उसले भीडमा उभिएको निर्देशकलाई सोध्यो, “क्या हो यो?”

“क्या मालूम!” निर्देशकले इशारामै जवाफ फर्कायो, “मेरो ‘एपिसोड’ बन्थ्यो र पो तँ छुसीलाई पर्दा पछाडि बोकें, यहाँ दर्शकका मुखेन्जी म क्यार्न सक्छु?” बिच्किएको जेरी च्याँठ्ठियो, “तेरा तालुमा क्षेप्यास्त्र दागे’सि चाल पाउलास्!”

निर्देशकले ओठ लेपार्योा। राँकिएको जेरीले टमलाई मृदङ्ग झैं बजाउने मनसुवाले पुच्छर निमोठेर पटक्न खोज्यो, तर डेग चलेन। छेउमा पसारो परेको हथौडा उचालेर थुर्न खोज्दा जेरीको ढाडै सड्कियो।

निर्देशकको भरमा तिलस्मी नायक बन्नु र सबैको सामुन्ने भिड्नु बीचको भेद बुझे’सि भागसिङ हुनुमै कल्याण ठानी कक्रिएको ढाड सोझयाउँदै जेरी दुलो भित्र छिर्योि। हस्बेण्डजीको उँधोको श्वास उँधै, उँभोको श्वास उभै भएको देखेर वाइफले सोधिन्, “के भयो?”

“त्यो बिल्लीलाई मारुनी नचाएँ”, जेरीले सास थाम्दै र उपाय गम्दै भन्यो। एकै क्षणअघि दर्शकसामु गुमेको साख उक्सेरो लाउन डबली घेरेर टमको हुक्का पानीबन्द गराउने जुक्ति फुर्दा जेरी सा’बको मुहार चम्कियो।

जेरी मण्डलीले मादल र ट्याम्कोको तालमा ठुमका लगाउँदै टमलाई घेराबन्दी गर्न थाले। टमले टेरपुच्छर लाएन। दर्शकले हुटिङ्ग गरेपछि जेरी मण्डली दुलातिर चम्पट भयो।

फेरि भागाभाग देखेर श्रीमतीले सोधिन्, “के भयो?”

जेरीले मुटु छाम्दै भन्यो, “त्यो ढाडेको हुर्मत लिइयो आज!”

यस्तो बादलले पानी नपर्ने देखेर जसलाई दर्शकले हिरो मान्यो, उसैले विधान लेख्ने नयाँ सहमति भयो। यसपटक दर्शकले टमको पक्षमा थपडी बजाए। जिल्लिएको जेरी ‘झेल्ली भयो, असली हिरो त मैं हुँ’ भन्दै विरोध स्वरुप डबलीमा उत्तानो टाङ् लाएर सुत्यो।

भूतपूर्व हिरोको जिरो पारा देख्दा लोकले गिल्ला गरे। कन्याउन आउला कि भन्ने आशाले यसो आँखाको ढकनी उघारेर हेर्दा टम त डबली माझ्को कुर्सीमा घामको पार पो लिइरहेको रहेछ। जाली रुमालले मुख छोप्दै जेरी लुसुक्क दुलो भित्र छिर्यो ।

केही फरियादी जेरीको पछि लागे।

“तपाईं त चिलिम फर्केर चित् भएको सन्देश पो जान थाल्यो त!”

जेरी सा’बको मुहारमा क्लेशको रेखा दौडियो। ‘डेटिङ साइट’ मा मस्त जेरी पुत्रको कपाल मुसार्दै श्रीमतीले भनिन्, “केको चित् र पट? अरू छमछमी नाचेको, यसका बाले खुट्टो उचालेको उत्तिकै हो! साह्रै ज्याद्रा पो छन् त, लतारिएर, पछारिएर, घिसारिएर होस् वा शीर्षासन गरेर, सबैलाई खेलाउन चाहिं यिनैले खेलाउँछन्!”

जेरी महोदय डबलीको कुर्सीतिर हेर्न थाले।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>