रमझमशुक्रबार, पौष १८, २०७१
हरिको लोभलाग्दो लोकप्रियता
संगीतकार हरि लम्सालले एकपछि अर्को सिर्जनामार्फत नेपाली संगीत क्षेत्रमा लोभलाग्दो पहिचान बनाएका छन्।
नवलपरासीको कावासोतीका ३४ वर्षीय हरि लम्साल खासमा गायक बन्ने सुरले काठमाडौं उक्लिएका थिए, तर परिस्थितिले उनलाई संगीतकार बनायो।
अहिले उनी अब्बल संगीत सर्जकको रुपमा चिनिएका छन्। उनी व्यावसायिक बजारमा त चलेका छन् नै, ‘रिकग्निसन’ को हिसाबमा पछाडि छैनन्।
यसै वर्ष नातिकाजी युवा लोकप्रिय पुरस्कार पाएका उनले गत महीना कामना फिल्म अवार्डको क्रिटिक्स अवार्ड पनि जिते।
नेपाली सुगम संगीतमा चम्केका हरि भन्छन्, “कडा साधना र अध्ययनले राम्रै प्रतिफल दिएको छ।”
हरिले संगीत भरेको नजाऊ टाढा… बोलको गीत पहिलो इन्डियन आइडलमा दोस्रो भएका राहुल वैद्यले गाएपछि उनको सांगीतिक ‘करिअर’ चम्किएको थियो।
त्यो उनको पहिलो अल्बमको गीत थियो। त्यसपछि आनन्द कार्कीको स्वर रहेको गजल किन कुर्नु साँझ आखिर पिउनै परेपछि… को संगीत हरिको ‘करिअर’ मा अर्को कोसेढुंगा सावित भयो।
उनको संगीतको अर्को गीत कस्ले सुरुआत गर्योे होला… ले त नवगायिका जुनु रिजाललाई समेत हिट बनाइदियो। त्यसलगत्तै पानीको फोका जस्तै.. ले रजिना रिमाललाई हिट गायिका बनाउँदै हरिलाई पनि संगीतकारको नयाँ उँचाइमा पुर्याायो।
यसरी उठेका हरिले प्रसिद्ध गायक फत्तेमानको जीवनको अन्तिम दिनहरूमा सहकार्यको अवसर पाए।
रेकर्ड गर्दागर्दै फत्तेमानको निधन भए पनि हरिले पाँच गीत संग्रहित अल्बम अधुरो मन ल्याए। जसमा उनको एकल संगीत छ।
दुई दर्जन एकल अल्बमका संगीत सर्जक हरि एक दर्जन चलचित्रका संगीतकार हुन्।
काठमाडौंमा चन्दन श्रेष्ठसँग सात वर्ष शास्त्रीय संगीत सिकेका हरि पुनाको इन्ष्टिच्युट अफ मोर्डन म्युजिकमा पनि तीन वर्ष विद्यार्थी रहे। यो अध्ययनले आफूलाई ‘आया राम, गया राम’ संगीतकार हुनबाट जोगाएको हरि बताउँछन्।
नेपाली संगीत क्षेत्रमा पैसा र रहर हुनेहरूको बोलवाला बढेको अनुभव गरेका उनी भन्छन्, “तर, ज्ञान र साधना विना जम्ने होइन, गीतसंगीत।”
ऋषिराम कट्टेल
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
