अर्थ/बजारशुक्रबार, पौष १८, २०७१

तेल चोर्नेलाई तत्काल कारबाही गर्न समितिको निर्देशन

हिमालखबर

उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको बैठकले तेल चोरीमा संलग्न कर्मचारीलाई उन्मुक्ति दिने सञ्चालक समितिका सदस्यलाई तत्काल कारबाही गर्न र सो विषयका सम्पूर्ण कागजात संसदीय समितिमा उपलब्ध गराउन निर्देशन दिएको छ ।

बैठकले पेट्रोलियम पदार्थमा अनियमितता गर्नेले उन्मुक्ति पाएको भन्दैे वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १८ पुसमै उक्त निर्देशन कार्यान्वयन गर्न भनेको हो ।

समितिका सभापति भीष्मराज आङ्देम्बेले चोरीमा संलग्नलाई सजिलै छोडिएकोप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको बताउँदै आफ्ना मातहतका कर्मचारीलाई जनताप्रति उत्तरदायी बनाउन वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापालाई निर्देशन दिए ।

त्यसैगरी उनले ग्याँस तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गर्नेको छानबिन गरी उनीहरूको सम्पूर्ण विवरण एक साताभित्र उपलब्ध गराउन निर्देशन दिए ।

बैठकमा सहभागी वाणिज्यमन्त्री थापाले पेट्रोलियम पदार्थको बिक्री तथा वितरणमा आयल निगमको एकाधिकार तोड्नका लागि आवश्यक कानूनको मस्यौदालाई अन्तिमरूप दिन लागिएकोले उक्त कानून पारित भएपछि सबै समस्या समाधान हुने जानकारी दिए ।

बैठकमा सभासद्ले पेट्रोलियम पदार्थको चोरी गर्नेलाई उन्मुक्ति दिइएको र पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीलाई व्यवसायीले पालना नगरेको भन्दै उनीहरूलाई छानबिन गरेर कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा राखेका थिए ।

उनीहरुले स्वचालित मूल्य प्रणाली लागू गरेपछि पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्यमा कमी आए पनि सवारी तथा हवाई भाडामा कमी नआएको भन्दै त्यस विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>