ब्लगशनिबार, पौष १९, २०७१

मजलिसको आँखा–५

कमल दीक्षित

आज हामी हाम्रो राष्ट्रपति भवनका विभिन्न ‘अवतार’ हरूको परिभ्रमण गरौं।

मदन पुरस्कार पुस्तकालयको पुराना फोटोहरूको ‘अर्काइभ’ (संग्रह) मा भएका फोटोहरूसँग ऐले ‘राष्ट्रपति भवन’ बनेको ‘शीतलनिवास’ को रूपरङ्ग कत्ति पनि मिल्दैन।

किनभने १९८० सालतिर महाराज चन्द्रशमशेरले आफ्नी जेठी महारानीपट्टिका कान्छा छोरा ‘मिट्ठी जर्नेल’, कृष्णशमशेरका लागि भनेर यो दरबार नेपाली इन्जीनियरद्वय कुमारनरसिंह र किशोरनरसिंह राणाद्वारा बनाइदिएका थिए। तर त्यो दरबारलाई नब्बे सालको भैंचालाले धेरै क्षति पुर्‍यायो।

जनरल ब्रह्मशमशेरले लेखेको ‘नेपालको महाभूकम्प’ किताब (पृष्ठ १११) मा दिइएको यौटा तस्बीरबाट त्यो शीतलनिवास कस्तो ध्वस्त भएको रहेछ भन्ने देखिन्छ। त्यसरी दरबार भत्कँदा कृष्णशमशेरकी यौटी छोरी र एक–दुई जना सुसारेहरूको पनि ज्यान गएको थियो रे!

तर त्यसबेला कृष्णशमशेर स्वयं भने नेपालमा थिएनन्। नेपालको लण्डनस्थित कूटनीतिक नियोग, लिगेशनमा थिए। लण्डनमै छँदा उनले आफ्नो दरबारको त्यस्तो बिजोग भएको सुने।

before९० सालको भूइँचालो भन्दा पहिलेको शीतलनिवास

अनि त्यस दरबारलाई जीर्णोद्धार नगरी पूरै नवनिर्माण गर्ने निर्णय गरे। अनि बेलाइतकै कुनै नामी आर्किटेक्ट इन्जीनियरबाट ‘डिजाइन’ बनाउन लगाएर त्यो लिई नेपाल आए। त्यसैबमोजिम ऐलेको शीतलनिवासको निर्माण भएको हो भन्ने मैले सुनेको हुँ। तथ्य कुरो के हो जान्नेहरूले बताउलान्।

जनरल कृष्णशमशेर प्रजातान्त्रिक ख्यालका मान्छे थिए। आफ्ना जेठा र माहिला दाजु मोहन तथा बबरशमशेरहरूको दमनकारी नीति उनलाई एकदमै मन परेको थिएन। नेपालको शासनव्यवस्था अब अलि खुकुलो पार्नुपर्छ भन्ने उनको विचार दाजुहरूलाई पनि मन नपरेको बुझे उनले।

अनि त्यस्तो अवाञ्छित तत्व भईभई राणाहरूको रोलक्रममा बसिराख्नु उनलाई उचित लागेन र उनले ‘रोल’ परित्याग गरे। ‘बेरोलवाला’ भएर नेपालमा बसिरहनु त झ्न् ठीक हुँदैनथ्यो।

ज्यानको खतरा समेत हुने देखी, उनले पहिले नै आफ्ना भिनाजु बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहबाट किनिराखेको भारतको बङ्गलोरस्थित ‘जयभवन’ तिर बसाइँ सर्ने अठोट गरे।

कृष्णशमशेर अत्यन्त उदारमना थिए। आफ्नो महाराजगञ्जको १४० रोपनी जग्गा र शीतलनिवास दरबार बेचेर हिंड्न पनि सक्थे उनी तर त्यसो नगरी उनले त्यो करोडौं पर्ने सम्पत्ति नेपाल सरकारलाई ‘उपहार’ दिएर नेपाल छाडे!

afterवि.सं. १९९० को भूइँचालोले ध्वस्त शीतलनिवास।

त्यति मात्र पनि होइन, नेपाल सरकारले आफ्नो त्यति राम्रो दरबारको राम्रो देखभाल नगर्ला भनी दरबारको ‘मेन्टेनेन्स’ का लागि भनेर (उस बेलाको) तीनलाख रुपैयाँ पनि दिएर गएका थिए! मोहनशमशेरहरूलाई त खुदो भयो।

उनीहरूले तुरुन्तै त्यस दरबारलाई सरकारी पाहुनाघर (गेस्टहाउस) बनाइदिए। यता अंग्रेजहरूले भारत छाडेर जाने भएपछि लैनमा बसिराखेको ‘लिगेसन’ को हातामै दुवै, भारतीय र बेलाइती राजदूतावासहरू बस्ने भए।

त्यसो हुँदा त्यो परिसर भागबण्डा गरी बस्न लायक नहुञ्जेललाई भनी नेपाल सरकारले शीतलनिवास भारत सरकारलाई उपलब्ध गरायो। शीतलनिवास भारतीय राजदूतावास बन्यो!

त्यसपछि अप्रत्यासित कुरो भयो। २००६ साल कात्तिक २३ गते पत्याउनै नसक्ने गरी नेपालका महाराजाधिराज त्रिभुवन सपरिवार भारतीय राजदूतावास हुनपुगेको त्यही शीतलनिवासमा शरण लिन पसे! त्यसपछि जे जे भयो त्यो इतिहास हो, यहाँ बेलीबिस्तार लगाइराख्नु पर्दैन। नेपालमा राणाशासनको अन्त्य र प्रजातन्त्रको प्रवेश भयो।

अलि वर्षपछि २००९ सालमा त्यो दूतावास लैनतिरै सरुर्यो् अनि फेरि अतिथिगृहमै फर्केको शीतलनिवासले भारतका राष्ट्रपति, प्रधानमन्त्रीहरू जस्ता ठूला हस्तीलाई आतिथ्य प्रदान गर्ने सौभाग्य पनि पायो। र राम्रो अतिथिगृह भन्ने नाम पनि कमायो।

Sital niwasअहिलेको शीतलनिवास

त्यसपछि फेरि नेपालको इतिहासले कोल्टे फेर्‍यो। २०४६ मा अर्को क्रान्ति भयो र निर्विकल्प भनिएको निर्दलीय पञ्चायती व्यवस्थालाई ढालेर संसदीय व्यवस्थाको प्रादुर्भाव भयो! शीतलनिवासले पुनः रूप फेरुर्योर। श्री ५ को सरकारको परराष्ट्र मन्त्रालय यहाँ सरुर्योद र यसले आफ्नो पाँचौं अवतार लियो परराष्ट्र मन्त्रालयको।

यसै बेला यो भवन विभिन्न कार्यहरूका लागि पनि प्रयोग गर्न थालियो। हुँदाहुँदा नेपाली सिनेमा खिच्ने थलोसम्म पनि हुनपुग्यो यो! ‘प्रेमपिण्ड’ र ‘आदिकवि भानुभक्त’ का केही दृश्य त यसै दरबारभित्र खिचिएको मैले नै देखेको छु।

त्यसपछि माओवादी आन्दोलन भयो अनि नेपाल गणतन्त्रमा परिणत भयो। राजाले छाडेर नारायणहिटी राजदरबार ‘म्युजियम’ भैसकेकाले नयाँ बनेका नेपालका राष्ट्रपतिलाई बस्ने ठाउँ भएन।

स्वाभाविक थियो, ओत लाग्न नपाउनेलाई आश्रय दिने ऐतिहासिक थलो यो शीतलनिवास फेरि अगाडि सरुर्यो । गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपतिलाई स्वागत गर्न यो भवन तयार भयो।

पुनः राष्ट्रिय झ्ण्डा धारण गर्न पाएर शीतलनिवास धन्य भयो। अब त यस भवनले फेरि अर्को अवतार लिनु नपर्ला। किनभने नेपाल सरकारको निर्णयले शीतलनिवासलाई स्थायी रूपमै ‘राष्ट्रपति भवन’ को संज्ञा दिइएको छ।

(यस स्तम्भको नाम दरबार हाईस्कूलको दक्षिणपट्टि रहेको ‘मजलिसघर’ बाट लिइएको छ। यसमा आउने तस्वीरहरू मपुपु–का हुन्। – सं.)

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...