समाचारशुक्रबार, पौष १८, २०७१
सभाअध्यक्षलाई अधिकार दिएर ८ माघमै संविधान
रिपोर्टर्स क्लब नेपालले १८ पुसमा काठमाडौंमा आयोजना गरेको साक्षत्कारमा नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्कीले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले ८ माघ संविधानको मस्यौदा भए पनि ल्याउन आफूलाई थप अधिकार दिन दलहरुसँग गरेको प्रस्ताव सकारात्मक भएको टिप्पणी गरे ।
कार्कीले अध्यक्ष नेम्वाङ संविधानसभामा प्रतिनिधित्व गर्ने सभासद्को साझा प्रतिनिधि भएको भन्दै उनले अघि सारेको प्रस्तावले निर्धारित मितिमै संविधान जारी गर्नका लागि मार्गदर्शन गरेको दाबी गरे ।
वरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीले संविधानसभाका अध्यक्ष नेम्बाङ जनप्रतिनिधिको पनि प्रतिनिधि भएकाले निर्धारित समयमा संविधान निर्माणका लागि आफ्नो अधिकार प्रयोग गर्न आग्रह गरे ।
अधिवक्ता सुरेन्द्र महतोले अध्यक्ष नेम्वाङको प्रस्तावले द्रूत गतिबाट भएपनि ८ माघमै संविधान जारी हुनेमा जनता आशावादी भएको बताए ।
संविधानविद् डा. भीमार्जुन आचार्यले ‘‘अध्यक्ष नेम्वाङलाई संविधानसभाको नियमावलीले नै पर्याप्त अधिकार प्रत्याभूत गरेको अवस्थामा उनले फेरि दलहरुसँग थप अधिकार माग्नु भनेको ८ माघमा संविधान जारी नगर्ने अर्को बहाना भएको बताएका थिए ।
रासस
