Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सभाध्यक्षलाई विश्वास गर - Himalkhabar.com

समाचारआइतबार, पौष २०, २०७१

सभाध्यक्षलाई विश्वास गर

किरण नेपाल

संविधानसभाका सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानका अन्तरवस्तुमा सहमति निर्माण गर्न असफल प्रमुख दलका शीर्ष नेताहरूसहितको संविधानसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा संविधानको मस्यौदा तयार गर्ने जिम्मेवारी आफूलाई सुम्पन प्रस्ताव गरेका छन् । त्यसका लागि नेम्वाङले दलहरूलाई २१ पुससम्मको समय दिएका छन् ।

Editorial.inddसभाध्यक्ष नेम्वाङको यो प्रस्ताव पहिलो संविधानसभाको अवसानमा आफ्नो किंकर्तव्यविमूढ कार्यशैलीका कारण लाञ्छित हुनुपरेको पीडाबाट मुक्त हुने प्रयासको रूपमा आएजस्तो देखिन सक्छ ।

तर, संविधान निर्माण प्रक्रियाको गतिरोध, दलहरूबीच व्याप्त अविश्वास, तीव्र रफ्तारमा खस्कँदो दलहरूको छवि, नेतृत्वप्रति बढ्दो वितृष्णा आदिका कारण २०६२÷६३ को जनआन्दोलनका उपलब्धिहरू माथि नै मडारिन थालेको बादललाई नियाल्ने हो भने यो प्रस्तावमा मुलुकलाई तदर्थवादबाट मुक्त गराउने उपाय देखिन्छ ।

हो, सभामुखको प्रस्ताव अनुसार अघि बढ्दा लोकतन्त्रका कतिपय मान्यताको कदर हुने छैन । संविधानसभाका समितिहरू कार्यतालिका अनुसार संविधान निर्माण कार्यमा संलग्न हुनबाट बञ्चित हुन्छन्, जनताको राय लिन सकिने छैन र एक हिसाबको फास्ट ट्रयाकबाट ‘एक थान संविधान’ लाई उपलब्धि मान्नुपर्ने हुन्छ ।

तर, कानूनमा ‘नेसेसरी इभिल’ भनिए झैं हिंसात्मक विद्रोह र संक्रमणकालको दुईदशक लामो हैरानीबाट मुलुकलाई मुक्त पार्ने जुक्ति हुन सक्छ– सभाध्यक्षको प्रस्ताव अनुसारको संविधान ।

सर्वसम्मतिबाट निर्वाचित सभाध्यक्षमाथि अविश्वास गर्नुपर्ने कारण पनि छैन । दुवै संविधानसभामा उनले देखाएको तटस्थ भूमिकाले शंकालाई ठाउँ दिएको छैन । बरु यही तटस्थताकै कारण अघिल्लो संविधानसभा कालमा उनी आलोचित बनेका थिए ।

संविधानको लागि तोकिएको ८ माघको समयसीमा अघिल्लो संविधानसभाको आयु मात्र बढाएको १४ जेठ वा अन्य महीनाका १४ गते जस्तो होइन ।

यो मितिको लागि मुलुकले एउटा संविधानसभाको अवसान र अर्को संविधानसभा निर्माणका लागि बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा ‘निर्दलीय’ सरकार बनाउने जस्तो अलोकतान्त्रिक बाध्यता बेहोरेको छ । अब दलहरू न अघिल्लो संविधानसभाको जस्तो समय घर्काउन सक्ने अवस्थामा छन् न त ‘निर्दलीय’ सरकार बनाउने दुस्साहस गर्न सक्ने हैसियतमा ।

शिथिल राजनीतिक नेतृत्व, शासनमा निष्प्रभावी सरकार, जर्जर अर्थतन्त्र, खण्डित सामाजिक एकता, चुलिएको वैदेशिक चलखेल– लामो तदर्थवादबाट सिर्जित आजको खतरनाक यथार्थ हो ।

यसलाई चिर्ने भनेको ‘८ माघमा संविधान’ बाटै हो । सभाध्यक्षको प्रस्ताव अमिल्दोजस्तो देखिए पनि त्यो बाटोबाट अगाडि बढ्दा दलहरूको दिग्भ्रमबाट अवश्यंभावी बन्न लागेको संकटले निकास पाउन सक्छ ।

सभाध्यक्षको प्रस्तावको विकल्प भनेको कार्यतालिका परिमार्जन गरेर समयसीमा बढाउने वा केही नगर्ने हो । पहिलो विकल्प सहज जस्तो देखिए पनि त्यसले दुईतिहाइ बहुमत बोकेका सत्तारुढ कांग्रेस–एमालेमा आन्तरिक तथा अन्तरपार्टी तनाव ल्याउँछ ।

उता अहिलेसम्म संविधानका अन्तरवस्तुमा असहमत देखिएका माओवादी र मधेशकेन्द्रित दलहरूले पनि ‘कन्टेन्ट’ मा शर्तहरू राख्न सक्छन् ।

दोस्रो विकल्प खतरनाक छ । ८ माघपछि कार्यतालिका निष्प्रभावी भएसँगै उत्पन्न हुने ‘भ्याकुम’ मा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी राज्य प्रणाली जस्ता जनआन्दोलनका उपलब्धिहरूको अहित गर्ने तत्वहरूको चलखेल बढ्नेछ ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने दस्तावेज निर्माणमा असफल हुँदै गएका दलहरूले बिर्सन मिल्दैन– संघीयता र गणतन्त्र उनीहरूबीचको सम्झैताको उपज हो । लोकतन्त्रका लागि राजतन्त्र घातकसिद्ध भएपछि गणतन्त्र र स्थानीय स्वायत्तताबाट विकेन्द्रीकरणलाई घनीभूत बनाउन संघीयता स्वीकारिएको हो ।

तर, गणतन्त्र संस्थागत नहुँदै माओवादी र मधेशकेन्द्रित दलहरूको निरन्तरको जातीय÷क्षेत्रीय बखेडाले एकातिर संघीय अवधारणाको ओज घट्दै गएको छ भने अर्कोतिर स्वतस्फूर्त रूपमा अँगालिएको धर्म निरपेक्षता माथि हिन्दुत्वको प्रहार बढेको छ ।

संघीयता र धर्म निरपेक्षतामाथि प्रहार बढ्न दिनु भनेको मुलुकलाई अराजकतातर्फ लैजानु हो– यी दुई अजेन्डाले नै आजको नेपाली समाजलाई जोडिराखेकाले ।

विशेषतः भ्रष्ट, शिथिल र विभाजित पार्टी पंक्ति तथा जर्जर संगठन भएका एमाओवादी र मधेशकेन्द्रित दलहरूले बुझनुपर्छ– उनीहरूले गरिरहेको लबिङले निम्त्याउने भनेको अराजकता नै हो, जसको मूल्य चुकाउन मुलुकले पाएका उपलब्धिहरूसँगै उनीहरूकै अस्तित्व पनि अपर्याप्त हुन सक्छ ।

त्यसकारण, ८ माघको दिन–दशा आउनुअघि सभाध्यक्षले ल्याएको प्रस्तावलाई ‘विन–विन’ को रूपमा अगाडि बढाउन उनीहरू अग्रसर हुनु श्रेयस्कर छ ।

सभाध्यक्षले सबैको सम्पूर्ण चित्त बुझउने मस्यौदा ल्याउन नसक्लान्, तर त्यसमाथि संशोधन प्रस्तावहरू राखेर अगाडि जान सकिन्छ । त्यसबाट एकातिर संविधानसभाभित्रका शक्तिहरूको छविमाथिको तीव्र क्षयीकरण रोकिनेछ भने अर्कोतिर चित्त नबुझेका सबै पक्षले जनतामा जाने आ–आफ्नो राजनीतिलाई सुरक्षित गर्न पाउनेछन् ।

नबिर्सौं– पहिलो संविधानसभा कालको कस्तो संविधान ? भन्ने प्रश्न अहिले केवल ‘संविधान’ मा खुम्चिसकेको छ । यो संकुचनमा संविधान बाहेक अर्को विकल्प छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>