टिप्पणीमंगलबार, पौष २२, २०७१
एसएलसीमा ग्रेडिङ्: आशा ठूलो भयो कि?
डा. विद्यानाथ कोइराला
धार्मिक पुर्खा मनोनिर्णायक थिए– आफैंले पढाउने, आफैंले जाँचेर अब्बल, दोयम, सीम र चाहार घोषणा गर्ने। उनको मनाङ्क (मनले अंकन गर्ने) प्रणाली थियो।
अंकन प्रणाली स्थापित गरेका प्रतियोगी पुर्खाले तीव्र प्रतियोगी बनाउनेआधार अक्षरांक शुरु गरे– ए, बी, सी, डी, ई र एफ भन्ने। कतिमा अंकन गर्ने विवाद त्यहीं हो।
सन् १७३० को अगष्टानाको अक्षरांक हो– ए, एबी, बीसी र सी। माउण्ट होल्योके कलेजको त्यस्तै सोच हो। १७८५ मा एल कलेजले अर्को आधार बनायो– प्रथम अप्टिमी, द्वितीय अप्टिमी। इन्फेरियर र पेजोरेस। क्याम्ब्रिज विश्वविद्यालयले पनि १७९२ मा आफ्नै ढंगको अक्षरांक प्रणाली लागू गर्यो।
अक्षरांकवादीहरू कति वटा अक्षरमा अंकन गर्ने? भन्नेमा अझै अल्झिरहेका छन्।
एल कलेजले सन् १८१३ मा लागू गरेको ९ बुँदे अक्षरांक प्रणालीलाई १८३२ मा चारबुँदेमा झर्योक। हार्वर्डले चाहिं पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौं तह निर्धारण गर्योँ। उसको हिसाबमा पाँचौं तह पाउने विद्यार्थी फेल हो। १८८७ मा लागू भएको माउण्ट होल्योके प्रणालीले– ए, बी, सी, डी, ई तह कायम गर्यो । ई भन्नु अनुत्तीर्ण हो।
कुनै कलेजले यू र एन पनि अंकन गरेका छन्। यूबाट उपलब्धिप्रतिको असन्तुष्टि बुझियो भने एनले क्रेडिटहीनता। यी दुवै अक्षरांकले अनुत्तीर्ण भन्ने मान्यता स्थापित गर्यो ।
यसरी हेर्दा मानांक सबै धर्ममा भएको धार्मिक सम्पदा हो। अंकनांक चिनियाँ सम्पदा हो भने अक्षरांक अमेरिकी। अक्षरांक र अंकनांक मिलाउने सोच चाहिं सर्वदेशीय हो।
हङकङको ए, बी, सी, डी र एफ अथवा इन्डोनेशिया र अफगानिस्तानको ए, बी, सी, डी, ई त्यही ढंगको हो। इरानमा ए प्लस अब्बल हो भने ई र एफ अनुत्तीर्ण। पाकिस्तानको ए वान् अब्बल होभने ई उत्तीर्ण मात्र। एफचाहिं अनुत्तीर्ण।
भारतीय विश्वविद्यालयहरूले प्रथम, द्वितीय, उत्तीर्ण र अनुत्तीर्ण श्रेणी बनाएका छन्। भारतकै प्राविधिक क्षेत्रमा चाहिं एस, ए, बी, सी, डी र यू लागू भयो। एसले विशिष्ट, ईले अपूर्णर यूले चोरी गरेर उत्तीर्ण जनाउँछ।
कसरी मिल्छन्?
अंकांकीय प्रणालीमा विस्तार र संकुचन छ। १०० पूर्णांक विस्तारको स्वरुप हो भने ५०, २५, १० पूर्णांक संकुचनका स्वरुप। पश्चिमी दुनियाँमा पनि यही नियम लागू छ। डेनिस विश्वविद्यालयको १–१३ अंकांकीय प्रणालीले त्यसै भन्छ।
क्यानडाको अल्वर्टा विश्वविद्यालयको १–९ अंकको प्रणालीले पनि सोही कुरा इंगित गर्छ। बेलायत हुँदै नेपाल भित्रिएको रोमन अंकीय श्रेणीले पनि अंकांकीय प्रणालीलाई संकुचन गरेकै छ।
यसरी हेर्दा अक्षरांकीय प्रणाली र अंकांकीय प्रणालीमा खासै फरक छैन। अर्थात् पासांक राख्ने, डिभिजन तोक्ने, रोमन अंकन गर्ने र अक्षरांकन गर्ने अनुवादीय बुद्धिमा तात्विक भिन्नता छैन।
अर्को हिसाबले भन्दा, अन्तर्राष्ट्रिय तहमै अनुवादीय प्रणाली लागू छ। यही प्रणालीले गर्दा एकअर्काे शिक्षण संस्थाको उपाधिले समकक्षता पाउँछ। अन्तरदेशीय व्यवस्था र अन्तर्राष्ट्रिय तरीका त्यही हो।
अंकस्फीति यो अनुवादकीय प्रणालीको समस्या हो। यस्तो अंकनघाटाको समस्या हटाउने सर्वदेशीय औषधि छैन। मार परे विद्यार्थीले भोग्छ, फाइदा भए विद्यार्थी रमाउँछ।
नेपाली बुद्धि
हामी नेपाली संस्कारले मनांकी हौं– आफ्नै नापो भएका र प्वाक्क भन्ने तागत भएका। क्रमशः अंकांकमा जाँदा हामीले बेलायतबाट भारत भित्रिएको रोमन अंकीय प्रणाली जोड्यौ। श्रेणी भन्ने बुद्धि त्यही हो।
सेमेष्टर प्रणालीसँगै हामीले अक्षरांकन प्रक्रिया भित्र्यायौं। हामीकहाँ मनांकन, अंकांकन, अक्षरांकन, रोमनांकन र अनूदितांकन गरी पाँचवटै बुद्धि प्रचलित छन्। पहिलो अलिखित हो भने अरू सबै लिखत प्रणाली।
२५ मंसीर २०७१ मा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले अक्षरांकन गर्ने निर्णय गरेछ– अब्बललाई ए प्लस अनि कमजोर र धेरै कमजोरलाई डी र ई भन्ने। अर्थात् घुमाउरो पारामा फेल भन्ने। यसो गर्नाले गुणस्तर बढ्छ रे! पास र फेल नै हराएपछि फेल भएर गरिने आत्महत्या घट्ने कुरा पनि छ।
ग्राममा किन्न बानी लागेकाहरूले अब पाउमा किन्नुपर्ने भयो। ग्रामको संकुचनले अंकनस्फीति हुने भयो। अंकनस्फीति मनोगत हुनेभयो।
क्षमतावालालाई खासै फरक परेन, डी र ई ल्याउनेले चाहिं बी र सीका लागि दबाब दिने भए, त्रिभुवन विश्वविद्यालय (त्रिवि) को आन्तरिक मूल्यांकनको २० प्रतिशत विद्यार्थीले हात पारे जस्तै परिणामको लागि।
१८ भन्दा कम अंक दिए शिक्षक कुटिने, धम्क्याइने, कक्षा १ देखि ७ सम्मको उदार कक्षोन्नति, सुधारात्मक कक्षा सञ्चालन भन्दा स्वतः पास गरिदिने लगायतका चलन जो छ।
अर्को शब्दमा भन्दा, त्रिविको आन्तरिक मूल्यांकन, निम्नमाध्यमिक तहसम्मको उदार कक्षोन्नति, १० कक्षाको ‘सेन्टअप’ परीक्षा र हालको अक्षरांकन प्रणालीको एकै अवस्था हुने निश्चित छ। कुहिएको फर्सी यस्तै हुन्छ– बाहिर राम्रो भित्र बेकम्मा।
विद्यार्थी, अभिभावक, शिक्षक र सरकारले उत्तीर्ण खोज्दा यस्तो भयो। हामी उत्तीर्णको चिट चोराउन उद्यत भयौं, परीक्षा पूर्व प्रश्नपत्र पाउने लालसाले धनराशि खर्चिने आँट गर्यौं।
‘ग्यारेन्टी पास’ भन्ने संस्थाहरू खोल्यौं। यो पाटोले भन्छ– हामी दबाब र लालसामा अंकन गर्छौं। पेशागत बेइमानीबाट अंकन गर्छौं। हाम्रो प्रयोगात्मक र सैद्धान्तिक परीक्षाको खाडले अंकनले पनि त्यसै भन्छ।
सम्भावना के होला?
निकट भविष्यमा कार्यान्वयन हुने अक्षरांकन प्रणालीले विद्यार्थीलाई पास र फेल भन्दैन, तर कमजोर र धेरै कमजोरलाई डी र ई अंकन गर्छ। अब डी, ई दर्जावालाको लागि समेत हुने गरी एसीटी र स्याट जस्ता स्तरीय परीक्षाहरू सञ्चालन हुनुपर्छ।
त्यसो भएन भने प्रत्येक स्तरका अक्षरांकन गरिएका विद्यार्थीका लागि कलेजहरू खुल्छन्। मेधावीका लागि विदेशका अक्सफोर्ड र क्याम्ब्रिज जस्ता। कमजोर र अति कमजोरका लागि गरिखाने सीप दिने पश्चिमी शैलीका सामुदायिक कलेज जस्ता।
नामधारी सामुदायिक स्कूल, कलेज भन्दा भिन्न औपचारिक शिक्षण संस्था खुल्छन्। पुलेसा सुधारात्मक कक्षा सहितका कलेजहरू खुल्छन्।
स्कूलमा उदार कक्षोन्नति, एसएलसीमा ७५ प्रतिशत हाजिर हुनासाथ योग्य बनिने मापदण्ड, क्याम्पसमा नलेखे पनि २० मा १८ सुनिश्चित हुने संस्कार भएको हाम्रा विद्यार्थीले भनिरहन सक्छन्– प्रतियोगिता हुन्न।
नलेखे पनि ई अंकन भइहाल्छ भनी प्रमाणपत्र खोज्ने शैक्षिक सरोकारवालाहरूलाई मज्जै हुन्छ। स्तरीय परीक्षा ब्याट्रीहरू बनेनन् भने शिक्षण संस्थाहरू सडके पसल वा पाँचतारे होटल जस्ता हुन्छन्। पसल र होटलमा धनको तुजुक देखिन्छ, शिक्षण संस्थामा ग्रेडको तुजुक हुन्छ।
परीक्षा सञ्चालन गर्दा वस्तुगत प्रश्नहरू दिए चोर्ने चोराउनेको पेशा फस्टाउँछ। नपढे पनि पास, नपढाए पनि पास हुने संस्कार मौलिन्छ। पाठ्यक्रम, शिक्षक, शिक्षणकला र शैक्षिक वातावरण सुधार्ने अवसर पनि बन्छ। स्वदेशी–विदेशी सल्लाहकारले जागीर पाउँछन्। अन्तर्राष्ट्रिय साहू संघ–संस्थाहरूले नेपालीहरूलाई सिकाइरहन, दबाइरहन, फसाइरहन पाउँछन्।
अक्षरांकन प्रणालीले पेशागत दक्षता भएको इमानदार शिक्षक खोज्छ, तर हामीसँग पेशागत बेइमान र हरामहरूको मरुभूमि ठूलो छ।तिनै बेइमान र हरामहरूलाई घोडा बनाएर राजनीति कुदाउनेहरूको विषालु मरुभूमि पनि सानो छैन। यस्तो मरुभूमिहरूमा अक्षरांकन प्रणालीकै हत्या पो हुन्छ कि?
प्रणालीगत दक्षता देखाउने अहिलेको जालसाजीले गुणस्तरीय नेपाली शिक्षालाई पो निशेष पार्छ कि? धरातलीय यथार्थ हेरेर पो अंकन प्रणाली लागू गर्नुपर्छ भन्नेहरूको बोलवाला हुन्छ कि?
अंकांकन प्रणाली सानो इकाइ हो भने अक्षरांकन प्रणाली ठूलो। यो ठीक र त्यो ठीक भन्ने कुरा बेकार हो। अनूदित प्रणालीले यसको विवाद सल्टाइसकेको छ– अक्षर भए अंकमा र अंक भए अक्षरमा बदल्ने। अहिले पनि विशिष्ट, प्रथम, दोस्रो र तेस्रो श्रेणीमा नतीजा निकाल्ने चलन छ। अंकांकनलाई रोमन अंकले प्रतिनिधित्व गर्ने अभ्यस्तताछ।
फेल भनिएकाहरूलाई अनुत्तीर्ण नभनी ‘कमजोर’ र ‘अति कमजोर’ भन्ने प्रमाणपत्र दिए हुन्छ। अर्थात् हामीले पास फेल भन्ने शब्द हटायौंर नयाँ शब्द ल्यायौं। तर, अक्षरांकनको निर्णय नानीभन्दा आची ठूलो हुने हैन?