समाचारबुधबार, पौष २३, २०७१
ओलीको अडानपछि चारपक्षीय वार्ता अघि बढेन

तस्वीर: आनन्दराम डंगोल
एमाले अध्यक्ष केपी शर्मा ओलीले तराईका पाँच जिल्लालाई मधेशमा गाभ्न नहुने अडान लिएपछि प्रमुख चार दलको निर्णायक भनिएको वार्ता कुनै निर्णय बिना नै टुंगिएको छ ।
संविधानका विवादित अन्तर्वस्तुमा सहमति खोज्न २३ पुसमा बालुवाटारमा बसेको चार दलको बैठकमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरसमेत पाँच जिल्लालाई मधेशमा राख्नुपर्ने धारणा राखेलगत्तै एमाले अध्यक्ष ओलीले अस्वीकार गरेका थिए ।
तराई र समथर भाग मधेश नै हुनुपर्ने मागलाई ओलीले ‘बेतुकको कुरा’ भनेपछि वार्ता अघि नबढेको महतोले हिमालखबरलाई बताए ।
ओलीलाई उद्धृत गर्दै उनले भने, “समथर भाग देख्नै नहुने, मधेश नै हुनुपर्ने ? उसो भए यूपी र बिहार पनि मधेशमै हुनुपर्ने होला ?”
“हाम्रो मागलाई ओलीले ठाडै ‘बेतुकको कुरा’ भनेपछि वार्ता अघि बढ्न सकेन,” महतोले भने, “अब वार्ता कसरी अघि बढाउने भन्ने बारे आजै मधेशी मोर्चाको बैठक बसेर निर्णय हुनेछ ।”
बैठकपछि ओलीले मधेशी नेताहरुले संविधान बन्न नदिन निहुँ खोजेको आरोप लगाएका छन् ।
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ओलीले ‘असभ्य व्यवहार’ देखाउँदै आफूहरुलाई होच्याएपछि वार्ता भाँडिएको बताए ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भने आफू युरोपियन युनियनका राजदूतहरुसँग कुरा गर्न गएका बेला वार्तामा असमझदारी उत्पन्न भएको तर, त्यसलाई वार्ता भाँडिएको भनेर बुझ्न नहुने बताएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी तथा मधेश केन्द्रीत मोर्चाका बीचमा संविधानका विवादित विषयमा छलफलका लागि बैठक बसेको थियो।
