ब्लगबुधबार, पौष २३, २०७१
८ माघको राफल
जनताले नौझालेहरूलाई नेता नबनाएको, प्राध्यापकहरूले विदेशी गीता नगाएको अनि विश्लेषकहरूले विश्लेषणको कक्टेल नघोलिदिएको भे देशका लागि कुल एक थान संविधान निकाल्न यत्रो महाभारत हुने थिएन भन्ने गुनासोमा दम भए’नि त्यो केजातिमा केजाति जसरी अड्केको संविधान नआई देशमा उन्नतिको वर्षा हुनेवाला छैन, त्यो नभई गरिखाने जाँगरै चलेन भन्ने कुरा यस्तै त्यस्तै हो। यस्तो निराशाको बेलामा हाम्ले साँढेको पछि लागेको स्यालको दशा होइन, १० वर्ष पर्खेर अरबको भिसा झारेको युवकको हौसला राख्नुपर्छ।
यस चराचर जगतमा केही न केही नगरी कोही बसेको छैन। चोरले चोरेर, फटाहाले फट्याइँ गरेर, छुच्चाले छुच्याइँ देखाएर, मूर्खले मूर्ख्याइँको बलमा आ–आफ्नो बबाल अस्तित्व धानिरहेका छन् भने हाम्रा नेताहरू मात्र केही नगरी कसरी बसेका होलान् त! भनेर पनि विचार पुर्याउनु पर्यो। यो गोल पृथ्वी समेत यता पूर्वका तपाईं–हामी र उता पश्चिमका कुइरेहरूले नठेली, नतानिकनै आफैं नित्य घुमिरहन्छ। पृथ्वीले एक चक्कर मार्दा दिन हुन्छ, रात पर्छ, क्यालेन्डरको मिति सर्छभने हाम्रा नेताहरू बेकामे हुन् भन्न हजार जिब्रे शेषनागै आए’नि पत्याउने कुरा भएन। फेरि, राजनीतिमा केही नगरी बस्दा बन्टाधार हुने कुरा देखलै छ!
ए–माओवादीले छलाङ हान्न आनाकानी गरेको औडाहामा वैद्य बाले बुर्कुसी मार्दै बी–माओवादी खोले। वैद्यले केही लछार्न नसकेको रनाहमा चन्दले सी–माओवादी खोले भने अध्यक्षगिरी उधारो रहेको झ्वाँकमा उत्पातै चटारिन लागेका डाक्टरले डी–माओवादी खोलेर कुतकुत्याइँ मेट्ने सम्भावना उर्लिंदो छ। अर्थात्, हाम्रा नेताजीहरूलाई केही न केही नगरी खाएको पचाउनै नसक्ने विशेषताका छन् भन्ने पनि बुझ्नुपर्छ। उहाँहरूमा बदहजमीको लक्षण नदेखिनुले पनि केही गरिरहेको र केही न केही र्झ्ने सुईंको दिन्छ। आफूलाई हुतीवाल सम्झनेहरूले अहोरात्र गरिरहेको राज्यसत्ताको उच्चासनमा टिक्ने र उक्लिने तिकडम सबैको आँखा अगाडि छँदैछ। राजनीतिको अखडामा ‘नक आउट’ भएका खलिफाहरू समेत कहिले बंकर अवलोकन गर्न पुग्छन् त कहिले सडक आन्दोलनको नाङ्लो ठटाई टोपल्छन्। एकथरी चाहिं सहमतिको लागि ‘निर्णायक’ भनिएको बैठकबाट ‘हाम्लाई फोसाको भाउ लाउने?’ भन्दै बिच्केर हिंडेको देखिन्छन्। जे–जे गरिरहेको भए पनि हाम्रा नेताहरू केही न केही गरिरहेकै छन्।
नेताहरूको व्यस्तताले पुसलाई फासफुस् बनाउन लाग्दा ८ माघभित्र संविधान झर्छ त? भन्ने प्रश्न बिच्किएको गोमन जस्तो हुँदै गएकै हो। यसको असर कति राम्रो भने, विवाद समाधान समितिमा नेताजीहरू थकाइ मारीमारी बाझन थालेका छन्। यतिले नपुगेरै होला, नेताहरूले ८ माघको भाकामा खाँस्दै साँझ्–बिहानको अवस्था बनाउन अर्को समिति गठन गरेका छन्। यसले संविधान झर्ने बबाल सम्भावना बनाएको छ। यत्रो विधि कामको मूल्यांकन नगर्नु भनेको कृतघ्नताको पराकाष्ठा हो। नाङ्गो आँखाले झट्ट हेर्दा केही गरेको नदेखिने र देखिंदा पनि लफडाबाजी मात्र देखिए पनि नेताहरू केही न केही गरिनै रहेका छन्। अझ् घरी–घरी मिल्ने उनीहरूको लोलीले समयसीमाभित्रै संविधान फ्यास्स आउने सम्भावनालाई विछट्टै बलशाली बनाएको छ। त्यसैले, यी निखट्टुहरूले भतक्क मरे पनि संविधान ल्याउँदैनन् भन्दै धारेहात लाउनु फगत अलच्छिनको खेती मात्र हो।
सटिक भाषामा सही कुरा गर्ने हो भने हाम्रा नेताहरूको सारा गोरखधन्दा संविधानमै केन्द्रित रहेकोले हाम्ले ८ माघ थारै होला कि भनी झोक्राउनु आवश्यक छैन। ८ माघभित्र सग्लो संविधान नै नआए पनि संविधानको मस्यौदा आउला। मस्यौदा आएनछ भने पनि संविधान त बनाउनै पर्ने जिनिस रहेछ भन्नेमा मतैक्यता रहेको सुसमाचार कहीं जाँदैन। त्यो पनि आएनछ भने संविधान जारी गर्ने नयाँ मिति पक्कै घोषणा हुनेछ! ८ माघको राफल चिठ्ठामा केही न केही हातलागी हुनेमा ढुक्क भई बसम्!
साप्ताहिक खबरपत्रिका हिमालबाट