थप समाचारबिहीबार, पौष २४, २०७१
शर्ली एब्डो आक्रमणः एकले आत्मसमर्पण गरे
फ्रान्सको व्यंग्य पत्रिका शर्ली एब्डोको कार्यालयमा आक्रमण गर्ने तीन संदिग्ध आक्रमणकारीमध्ये एकले आत्मसमर्पण गरेका छन् ।
समाचार एजेन्सी एएफपीका अनुसार १८ वर्षका हामिद मुरादले स्थानीय समय अनुसार राति ११ बजे आत्मसमर्पण गरेका हुन् । प्रहरीका अनुसार हामिदले सोशल मिडियामा आफ्नो नाम देखेपछि आत्मसमर्पण गरेको बताएका छन् ।
यसैबीच राजधानी पेरिस र अन्य शहरहरुमा मानिसहरुले आक्रमणको विरुद्ध मौन जुलुश प्रदर्शन गरेका छन् भने विश्वभरबाटै आक्रमणको व्यापक निन्दा गरिएको छ ।
बिहीबार फ्रान्सेली व्यंग्य पत्रिका चार्ली हेब्डोको पेरिसस्थित कार्यालयमा तीन जना बन्दुकधारीले आक्रमण गर्दा पत्रिकाका सम्पादक र चार जना कार्टूनिस्टसहित १२ जनाको मृत्यु भएको थियो ।
पत्रिकाको कार्यालयमा आक्रमण गरेर भाग्दै गरेका आक्रमणकारी र प्रहरीबीच समेत भिडन्त भएको थियो । उक्त भिडन्तमा दुईजना प्रहरी पनि मारिएका थिए ।
यो फ्रान्समा सन् १९६१ मा भएको ट्रेन आक्रमणपछिको ठूलो घटना भएको फ्रान्सेली सञ्चारमाध्यमहरुले बताएका छन् ।
शर्ली एब्डोले हालै उग्रवादी संगठन इस्लामिक स्टेटका प्रमुख भनिएका हबू बक्र अल बगदादीमाथि व्यंग्य गरिएको कार्टून ट्विट गरेको थियो । प्रकाशनका कारण बेलाबेला विवादमा पर्ने पत्रिकामाथि इस्लामिक स्टेटका उग्रवादीले आक्रमण गरेको स्थानीय प्रशासनले आशंका गरेको छ ।
शंका गरिएका तीन आक्रमणकारीमध्ये एकजना उग्रवादी गतिविधिको आरोपमा दोषि प्रमाणित व्यक्ति हुन् ।
फ्रान्सका राष्ट्रपति फ्रांसुआ ओलान्दले एक दिन राष्ट्रिय शोक घोषणा गर्दै आक्रमण फ्रान्सको मूल भावना र अभिव्यक्ति स्वतन्त्रता विरुद्ध भएको बताएका छन् ।
आक्रमणको घटनापछि फ्रान्स र विश्वका अन्य शहरहरुमा समेत ‘म हुँ शार्ली एब्डो’ लेखिएका प्लेकार्ड बोकेका मानिसहरुको स्वस्फूर्त जुलुश निक्लिरहेको छ ।
पेरिसको मुख्य चोक प्लेस डे ला रिपब्लिकमा मानिसहरुले मैनबत्ति बालेर श्रद्धाञ्जलीका रुपमा कलम राखेका छन् ।
अमेरिकी राष्ट्रपति बाराक ओबामा र बेलायतकी महारानी एलिजाबेथले फ्रान्सका लागि शोक सन्देश पठाएका छन् भने संयुक्त राष्ट्र महासचिव बान कि मुनले यस घटनालाई बर्बर कायरतापूर्ण भनेका छन् ।
अरब लिग र इजिप्टको इस्लामी अथोरिटी अल–अजहरले यो हत्या अपराध भएको जनाएको छ ।
फ्रान्सेली पत्रिकाहरुले शर्ली एब्डोसँग ऐक्यबद्धता जनाउँदै पत्रिकाका केही विवादास्पाद मानिएका कार्टूनहरु पुन प्रकाशन गरेका छन् ।
डेनमार्कका कार्टूनिस्ट कर्ट वेस्टरगार्डले मीडियाले उग्रवाद सामू आत्मसमर्पण गर्न नहुने बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
