थप समाचारबिहीबार, पौष २४, २०७१
माया पनि बिटुलो !
रुपन्देही घर भई नयाँ बानेश्वर बस्दै आएकी कमला परियारले पाँच वर्षअघि श्रीकृष्ण आचार्यसँग विवाह गरिन् ।
विवाहका लागि जात मिल्दैन भनेर कमलाले सम्झाउँदा पनि जिद्दी गरेर भागी विवाह गरेका आचार्य पछि जातको कारण देखाउँदै बेपत्ता भए ।
कमलाले भन्छिन्, “एक वर्षसम्म प्रेम चलिरहँदा पनि मैले उहाँलाई सधैं सम्झाउने गर्थें, म दलितको छोरीलाई तपाइँको घरपरिवारले स्वीकार्दैन भनेर । उहाँले मान्नुभएन तर पछि जातीय कारण देखाउँदै उहाँ दुई वर्षदेखि बेपत्ता हुनुहुन्छ ।”
दुई वर्षदेखि श्रीकृष्णलाई भेटाउने प्रयासमै छन् कमला । ‘सँगै जिउने सँगै मर्ने’ कसम खाएका श्रीमान् बेपत्ता भएपछि सामान्य तरकारी पसल गरेर आफ्नो गुजारा चलाउँदै आएकी कमला अहिले आफू “वारि न पारिको” भएको बताउँछिन् ।
सात वर्ष पहिले कथित मथिल्लो जातसँग विवाह गरेकी सरिता विश्वकर्माको स्थिति पनि कमलाको जस्तै छ । पतिका परिवारले सरितालाई दलितको छोरी भन्दै घरभित्र छिर्न दिएनन् । दुई छोराछोरी भइसकेपछि उनका श्रीमान्ले जातीय कारण देखाउँदै अर्को विवाह गरे ।
यसरी जातीय कारण देखाएर विवाह गरेको केही दिन, महिना वा वर्षमै अलपत्र पर्ने कमला र सरिता उदाहरण मात्र हुन् । पछिल्लो पटक २२ मङ्सीरमा सिन्धुपाल्चोक सिपापोखरेका १९ वर्षीय सन्तोष आचार्यले दलित भएको थाहा पाएपछि विवाह गरेको तीन दिनमै श्रीमतीलाई घर निकाला गरे ।
वैदिक परम्पराअनुसार प्रेमविवाह गरेका आचार्यले काभ्रेदेवीटार गाविसकी २० वर्षीया कल्पना रिजाल (विक) लाई घर निकाला गरिदिएका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी परेसँगै अहिले उक्त घटनालाई मिलापत्रमै सीमित गरिएको छ ।
गत असोजमा छिमेकी भीमबहादुर क्षेत्रीसँग प्रेमविवाह गरेकी रोल्पा घोडागाउँ–७ की गायत्री विकलाई घरभित्र पस्न दिइएन । अहिले आफन्तले नै क्षेत्रीलाई बेपत्ता बनाएपछि गायत्रीको बिचल्ली भएको छ ।
यसरी कथित उपल्लो जातसँग विवाह गरेर धेरै दलित युवती बिचल्लीमा पर्ने गरेको जागरण मिडिया सेन्टरले जनाएको छ ।
सेन्टरका अनुसार पछिल्लो पटक देशका विभिन्न स्थानमा दलित युवतीलाई विवाह गरेर केही दिनमै केटा बेपत्ता हुने घटना बढ्दै गएका छन् ।
माथि उल्लिखित घटनाहरुलाई हेर्ने हो भने गैरदलित युवकहरुले दलित युवतीसँग विवाहको नाटक गर्दा धेरै दलित युवतीको बिचल्ली हुने गरेको पाइएको छ ।
एमाओवादी निकट नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका सचिवालय सदस्य राजकुमार हिङमाङले सर्वहारा, गरिब, शोषित, पीडित वर्गको मुक्तिका लागि भन्दै राजनीति गर्ने राजनीतिकर्मीले नै पछिल्लो सयममा जातीय कारण देखाएर धेरै दलित महिलालाई बिचल्लीमा पारेको बताए ।
एकातिर सशस्त्र युद्धका क्रममा समाज परिवर्तनको उदाहरण दिन कथित तल्लो जातसँग अन्तर्जातीय विवाह गरेका माओवादी नेता तथा कार्यकर्ताले नै अहिले जातीय कारण देखाउँदै सम्बन्धविच्छेद गरिरहेका छन् भने अर्कोतिर पीडितले प्रहरीमा उजुरी दिंदा उनीहरुको समस्या सुनिँदैन, आलटाल गरिन्छ ।
यथेष्ट प्रमाण हुँदाहुँदै यो वा त्यो बहानामा प्रमाण नपुगेको भन्दै आलटाल गर्ने गरिएको पीडित युवतीहरुको भनाइ छ ।
यदि मुद्दा दर्ता नै गरियो भने पनि न्याय दिने गैरदलितले पीडितभन्दा पनि पीडकको पक्षमा फैसला गर्ने गरेको जागरणका अध्यक्ष रेमबहादुर विश्वकर्माले आरोप लगाए । उनले भने, “जातीय भेदभाव तथा छुवाछूतका घटनालाई सकेसम्म गाउँमै मिलापत्र गराइन्छ, यदि प्रहरी प्रशासनसम्म पुग्यो भने त्यहाँ पनि दबाबै मिलापत्र गराइन्छ ।”
दलित अधिकारकर्मी पदम सुन्दासका अनुसार नेपाली समाजमा गैरदलितले दलितसँग विवाह गरेर सफल भएका घटना अत्यन्त कम छन् । यदि सफल भए पनि आफूभन्दा तल्लो जातसँग विवाह गरेको भन्दै उसलाई कुलबाट निकालिने, आफ्नो बाबुको मृत्युमा क्रियापुत्रीसमेत बस्न नदिइने र मृत्युपछि दाजुभाइले शवसमेत नउठाउने उनले बताए ।
पश्चिम पाल्पाको मुझुङ–८ बाटुलीपोखरीका ६० वर्षे नारायण रानाले दलित विवाह गरेको भन्दै उनका दाजुभाइले उनको शवसमेत उठाएनन् । यो २०६६ साल असार १४ गतेको घटना हो ।
ओेरेक नेपालका अनुसार पछिल्लो समयमा मुलुकभित्र बढ्दै गएको बलात्कारका घटनामा पनि दलित महिलाको संख्या ठूलो छ । दलित महिला सङ्घका अध्यक्ष दुर्गा सेवक भन्छिन्, “ती दलित युवतीलाई बलात्कार गर्ने अधिकांश गैरदलित नै हुन्छन्, । बलात्कृत हुने दलित युवतीको जीउ चल्छ तर पानी चल्दैन कस्तो विडम्बना ।”
सुशील दर्नाल, रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
