रिपोर्टबिहीबार, पौष २४, २०७१
कहाँ होलान् हराएका मानिस ?
१ पुस २०६९ मा घरबाटै हराएकी लाटीकोइली–१ सुर्खेतकी रीतु बुढा (१६) को अहिलेसम्म खुटखबर छैन। त्यसको केही दिनअघि मात्र सुर्खेतकै दहचौर–३ बाट हराएकी कमला कठायत (१८) बारे पनि परिवारले कुनै खबर पाएका छैनन्। ९ माघ २०६९ मा हराएकी फर्साटिकट–९, रूपन्देही घर भई काठमाडौं महानगरपालिका–१० मध्यबानेश्वर बस्ने रञ्जना घिमिरे (२४), २९ कात्तिक २०६९ मा हराएका फूलबारी–२, दाङका अनिश वली (५), २९ साउन २०६९ मा बर्दियाको मोतीपुर–८ बाट हराएका नवीन सुनार (१२) तथा २७ पुस २०६८ मा हराएकी कञ्चनपुरको झलारी–२ की कमला जोशी (१४) पनि अहिले कहाँ छन् कसैलाई पत्तो छैन।
नेपाल प्रहरीको वेबसाइटमा ‘हराएका व्यक्तिहरू’ शीर्षकमा यी लगायत धेरै व्यक्तिको तस्वीर, ठेगाना–हुलिया सहितको विवरण पाइन्छ। उनीहरूबारे कुनै सूचना वा जानकारी फेला परे नजीकको प्रहरी कार्यालयमा खबर गर्न पनि अनुरोध गरिएको छ। प्रहरीमा आफन्त वा नातेदार हराएको वा बेपत्ता भएको उजुरी गर्नेले फेला परेको जानकारी गराए मात्र प्रहरीले वेबसाइटबाट विवरण हटाउँछ। तर, कतिपयले हराएका व्यक्ति फेला परेपछि पनि प्रहरीलाई खबर गर्दैनन्। प्रहरी अधिकारीहरू भने हराएका मध्ये धेरैजसो फेला नपरेकै कारण वेबसाइटबाट नहटाइएको बताउँछन्।
प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले तयार पारेको सूची अनुसार आर्थिक वर्ष २०७०/७१ मा देशभरबाट ५ हजार १६८ व्यक्ति हराएका छन्। यीमध्ये ४ हजार ७५३ को स्थिति अझैसम्म अज्ञात छ।
आर्थिक वर्ष २०७०/७१ मा हराएका ५ हजार १६८ जनामध्ये महिलाको संख्या आधाभन्दा बढी (२ हजार ८७६) छ। हराउनेमा ७८६ जना बालिका र ७१५ जना बालक छन् भने यो अवधिमा हराएका पुरुषको संख्या चाहिं ७९१ छ। यीमध्ये फेला परेका ४१५ जनामध्ये महिला २०६, बालिका १०२, बालक ७२ र पुरुष ३५ जना छन्। हराएकामध्ये करीब ८ प्रतिशत मात्र फेला परेको अपराध अनुसन्धान विभागको आँकडाले देखाउँछ।
चालू वर्षको साउनदेखि कात्तिकसम्मको चार महीनाको अवधिमा पनि १ हजार ८०९ व्यक्ति हराएको उजुरी परेको छ। जसमा महिला १ हजार १५ जना छन् भने बालिका, बालक र पुरुषको संख्या क्रमशः २३१, २०९ र ३५४ छ। प्रहरीका अनुसार यीमध्ये महिला ८८, बालिका २३, बालक ११ र पुरुष ८ गरी १३० जना मात्र फेला परेका छन्। चार महीनामा हराएका मध्ये फेला परेकाको यो आँकडा करीब ७ प्रतिशत मात्र हो।
हराएकाहरू कहाँ जान्छन्, के गर्छन्, उनीहरूको अवस्था के छ भन्नेबारे कसैसँग स्पष्ट जवाफ छैन। एकथरीको तर्कमा चाहिं मान्छे फेला परेपछि पनि खबर नगरिएका कारण हराउनेको संख्या बढेको हुन सक्छ। यही तर्कका आधारमा उनीहरूको अवस्थालाई लिएर सरकार र अधिकारवादी गम्भीर देखिंदैनन्। तर, हराइरहेका मध्ये अधिकांश महिला र बालबालिका हुनुले समस्या सोचेभन्दा भयावह हुनसक्ने देखिन्छ।
राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोना अन्सारी हराएका व्यक्तिहरूको आँकडा आफैंमा कहालीलाग्दो भएको बताउँछिन्। आयोगले एक वर्षअघि सार्वजनिक गरेको महिला तथा बालबालिकाको ओसारपसार तथा बेचबिखन सम्बन्धी प्रतिवेदनले समेत यस्तो खतरालाई इंगित गरेको र अहिले खतरा झ्नै बढेको उनको भनाइ छ।
अन्सारी आयोगले गरेको अध्ययनबाट हराएका भनेर प्रहरीमा उजुरी पर्नेमध्ये अधिकांश महिला तथा बालबालिका बेचबिखनको शिकार बनेको हुनसक्ने देखाएको बताउँछिन्। भन्छिन्, “कतिपयलाई यौन व्यवसायका लागि बेचबिखन गरिएको हुन सक्छ भने कतिपयको प्रयोग मानव अंग बिक्री–वितरणको उद्देश्यबाट पनि भएको हुन सक्छ।” उनी यति गम्भीर विषयमा कोही नबोल्नु अझ् डरलाग्दो अवस्था भएको संकेत गर्छिन्। भन्छिन्, “यति भयावह स्थिति देखिंदादेखिंदै पनि यो विषयमाथि कोही नबोल्नु झन् डरलाग्दो छ।”
नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुरेन्द्रबहादुर शाह हराएका मध्ये कतिपय अपराधको शिकार बनेको पाइएकाले अवस्था डरलाग्दो देखिएको बताउँछन्। “हराएका मध्ये कतिपयलाई मिर्गौला लगायतका मानव अंग झिक्न प्रयोग गरिएको, बेचिएको, यौन व्यवसायमा लगाइएको पनि पाइएको छ” शाह भन्छन्, “कति भने पढ्न मन नलागेर वा अभिभावकको नियन्त्रणमा बस्न नचाहेर भागेका र अन्यत्रै बसेर काम गरिरहेका पनि छन्।” गरीबीका कारण रुकुम, रोल्पा, सल्यान, दाङ लगायतका जिल्लाबाट अभिभावकले कामका लागि शहर र राजधानी पठाउने बालबालिका धेरै हराउने गरेको प्रहरीको भनाइ छ।
यस वर्षको मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाउने क्रममा संस्थाहरूले वर्षेनि १०–१५ हजार नेपाली महिला भारत बाहेकका तेस्रो मुलुकमा यौनकार्यका लागि पुर्याइने गरेको अनौपचारिक तथ्यांक सार्वजनिक गरेका थिए, जसमा काठमाडौंका क्याबिन र डान्सबारमा काम गर्दागर्दै हराएका श्रमिक महिला तथा किशोरीहरू समेत रहेको उल्लेख थियो। राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता अन्सारी हराएका व्यक्तिबारे प्रहरीमा उजुरी परेको र उनीहरूको ठेगाना लगायत सबै जानकारी भए पनि प्रहरीले नै खोजीमा चासो नदेखाएको गुनासो गर्छिन्।
अपराधशास्त्री रजितभक्त प्रधानाङ्ग पनि खुला सीमाका कारण हराएका भनिएका मध्ये कतिपय बेचबिखन र यौन शोषणमा पर्न सक्ने सम्भावना औंल्याउँछन्। यसका लागि अभिलेख सम्बन्धी व्यवस्थामै आमूल परिवर्तन गर्नुपर्ने उनको सुझाव छ। एआईजी शाह हराएका वा बेपत्ता भएका व्यक्तिको वास्तविक संख्या कति छ, उनीहरू कहाँ छन् र के गरिरहेका छन् भन्नेबारे बल्ल डाटाबेस बनाउने तयारी भइरहेको बताउँछन्।
‘फुटकर ज्यान’
प्रहरी प्रधान कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७०/७१ मा देशभर ८९६ वटा शव फेला परे, जसलाई प्रहरीले ‘फुटकर ज्यान’ शीर्षकमा राख्दै आएको छ। मुख्यतः पहिचान नखुल्ने व्यक्तिको मृत्युलाई प्रहरीले ‘फुटकर ज्यान’ शीर्षकमा राख्ने गर्छ। फेला परेको ३५ दिनसम्म पनि सनाखत हुन नसकेमा तिनै शव ‘बेवारिस’ ठहरिन्छन् र गाडिन्छन्। प्रहरीको आँकडाले यस्ता शवको संख्या वर्षेनि बढ्दै गइरहेको देखाउँछ।
प्रहरी अधिकारीहरू ‘बेवारिस’ रहेरै सामसुम भएर जाने यस्ता धेरै मृत्यु हराएका व्यक्तिसँग जोडिएको हुनसक्ने बताउँछन्। तर, प्रहरीसँग डाटाबेस नभएका कारण यसै भन्न नसकिने उनीहरूको भनाइ छ। एआईजी सुरेन्द्रबहादुर शाह भन्छन्, “बेवारिस शवका रूपमा भेटिएका मध्ये कतिपय हराएका व्यक्ति समेत हुन सक्छन्। हामी यसका लागि डाटाबेस बनाउने र अभिलेख भरपर्दो बनाउने प्रयास गर्दैछौं।”
साप्ताहिक खबरपत्रिका हिमालबाट