ब्लगशुक्रबार, पौष २५, २०७१
पुरुष पलाएका खेतबारी

व्यालरिना नर्तकी झै देखिने परालको थुम्कोमुनि सँगै काम गर्दै डोटीको बानेदुग्रिसैनमा महिला, पुरुष, बालबालिका र बहरहरु। तस्वीरः रुपा जोशी
महीना दिनअघि सुदूरपश्चिमका केही जिल्ला जाने अवसर मिल्यो। देखें, खेतभरि पुरुषहरू पलाएका छन्! रमाइलो लाग्यो।
एक दशकअघिदेखि आऊजाऊ गर्दा देख्थें सुदूरपश्चिमका डडेलधुरा, डोटी, अछाम र बाजुराका गाउँहरू पुरुषविहीन हुन्थे। उनीहरू सबै ‘इन्डिया’ गएका हुन्थे। कठै जस्तो लाग्थ्यो, त्यहाँका महिलाको जीवन सोचेर। हाईस्कूल पढ्ने केटाहरू हुन् वा काम गर्न सक्ने वृद्ध, केही महीना छाडेर सबै दक्षिणका छिमेकमै हुन्थे– घरबार, बालबच्चा, बुबा–आमा, खेतबारी सबै महिलाकै जिम्मा छाडेर।
अन्य जिल्लामा भने अधिकांश पुरुष घरमै भेटिन्थे; चियापसल, चौतारीकै सेरोफेरोमा किन नहुन्! श्रीमतीका लागि श्रीमान् र छोराछोरीका लागि बाबा, उनीहरू घरमै त हुन्थे!
एक दशकयता भने परिवेश पूरै उल्टिएको छ। आज देशका कुनै पनि जिल्लामा जाँदा गाउँमा तन्नेरी पुरुष कमै भेटिन्छन्। सबै विदेश। जान सजिलो कहाँ छ र! उडेर जानु पर्यो, दलाललाई भेटी चढाउनु पर्यो। त्यसैले ऋण काढेर, जग्गा बेचेर विदेश पुगेका यी युवा चाहेर पनि सित्तिमिति घर फर्किहाल्न पाउँदैनन्। ब्याजमा लिएको पैसा तिर्न पुग्ने कमाएपछि र फर्कंदा के ल्याइस् त? भन्नेहरूका लागि अलिकति देखाउन मिल्ने कमाइ जम्मा गरेपछि मात्र फर्कन्छन् उनीहरू। त्यत्ति गर्न उनीहरूलाई दुई–चार वर्ष त लागिनै हाल्छ। पुरुष नभएका ती गाउँहरूमा महिला अरू बेला भन्दा बढी बोझ्मा देखिन्छन्।
पुरुषले खेपिरहेको बल लगाउनुपर्ने काम पनि अब महिलालाई थपिएको छ, त्यता। उनीहरूको स्वास्थ्यमा यसले कस्तो प्रतिकूल असर पारेको छ, सोधीखोजी खासै भएको छैन। श्रीमान् विदेश हुँदा महिला र बालबच्चामा परेको मनोसामाजिक प्रभावको छेउटुप्पोको भेउ पाउन सकेका छैनौं हामीले।
गएको महीना सुदूरपश्चिमका गाउँहरूको फन्को मार्दा खेत जोत्ने, धान काट्ने र भित्र्याउने, गहुँ छर्ने काममा जुटेका पुरुषहरू देखेर मन आनन्दित तुल्यायो। भारत गएका पुरुष फर्कंदा गाउँ नै उज्यालो भए जस्तो लाग्यो। चहलपहल नै बेग्लै!
डोटीको बानेदुग्रिसैनमा सेतीले छाडेको बगर सबैभन्दा रमाइलो देखिन्थ्यो। कुन्यु लगाएको एकखुट्टे परालका थुम्का भर्खरै खनेका खेतभरी टुटु लगाएर नाच्न खडा व्यालरिना जस्तै देखिन्थे। खेतभरि ठडिएका तिनै पराले नर्तकी मुनि पुरुष हलो जोत्दै, खन्दै देखिन्थे। महिला भने मल ओसार्ने, खाना खुवाउने काममा जुटेका देखिन्थे। अन्यत्रको जस्तो यहाँका महिलालाई बाली रोप्ने र भित्र्याउने बेलामा पुरुषले अझै साथ दिएको देखेर नै हो मलाई मज्जा लागेको। ती पुरुषको कमाइ मलेशिया र अरबतिर जानेहरूको दाँजोमा कम होला, तर वर्षमा एक–दुई चोटि आऊजाऊ गर्न सक्नुले पनि परिवारमा निकै ढाडस दिंदो हो। जान–आउन पनि सजिलो, कम खर्चिलो, दलालको झ्न्झ्ट नपर्ने, आफन्त टन्न भेटिने भएर न होला यताका पुरुषमा ‘विदेश’ को मोहले खासै नछोएको।
अभावमा बाँच्नु गाह्रो त हुन्छ नै, तर परिवारको अभावमा जिन्दगी गुजार्नु पनि कम पीडादायी कहाँ हुन्छ र!
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
