टिप्पणीशुक्रबार, पौष २५, २०७१
देहाती मेलाको अर्थशास्त्र
मधेशका गाउँघरमा मेलाको मौसम आएको छ। धार्मिक, सांस्कृतिक र ऐतिहासिक परम्परासँग जोडिएका यस्ता मेलाहरूको अर्थशास्त्रबारे भने कसैको ध्यान पुगेको छैन। जिल्लास्थित उद्योग वाणिज्य संघ वा साना तथा घरेलु उद्योग कार्यालयहरूले पनि यस्ता मेलाहरूको आर्थिक लेखाजोखा गरेका छैनन्। पछिल्लो समय मेलामा हुने महायज्ञ, महावीरी झ्ण्डा, दाहा लगायतका विषयलाई भने एफएम रेडियोहरूबाट विज्ञापन गर्न थालिएको छ। यसले मेलाहरूको आर्थिक कारोबार बढाएको देखाउँछ।
देहातमा लाग्ने थरीथरीका मेलाहरूमा स्थानीय जनताको आमोद–प्रमोदसँगै वर्षेनि गतिलो आर्थिक गतिविधि हुने गरेको छ। विशेषतः स्थानीय उत्पादन किनबेच हुने मेलाहरूमा आजकल भारतीय र चिनियाँ सामग्रीहरूको खपत बढेको छ। पहिले मेलाहरूमा छेउछाउकै गाउँका उत्पादनहरूको आकर्षण हुन्थ्यो। कतिपय मेलाहरूको ख्याति स्थानीय उत्पादनले बढाएको हुन्थ्यो। पहिलेका मेलाबजारमा स्थानीय सीप र स–सानो पूँजी भएका स्थानीय व्यापारीहरूले राम्रै लाभ लिन्थे। बढी बिक्री हुने वस्तु र नाफा कमाउने व्यापारी दुवै फेरिएका छन्। अहिले त मेलाहरूको मुख्य ग्राहक मात्र स्थानीय छन्। चुरापोतेलगायतका श्रृंगारका सामान, खेलौना, मिठाई, घरेलु माटा वा बाँसका सामान, फूल, सजावटका सामग्री, पटका, कृत्रिम माला, चक्कु, चुलेसी, डोरी, साँचा लगायतको व्यापारमा पनि भारतीयहरू नै अगाडि देखिन्छन्।
बढ्दो कारोबार
हिजोआज देहातमा ठूलै मेलाको स्वरुपमा विभिन्न महायज्ञहरू गर्ने चलन बढेको छ। त्यस्तो अवसरमा अनेक खेल–तमासा अनिवार्य मानिन्छ। यसरी मेलाको स्वरुप बढ्दै, बदलिंदै जाँदा कारोबारको आकार पनि बढेको छ। कारोबारीहरूसँग वर्षभरि लाग्ने यस्ता मेला–भेलाहरूको सूची हुन्छ। अर्थात्, उनीहरू यस्ता मेलाहरूलाई मौसमी कारोबार ठान्दैनन्। यस्ता मेलाहरूमा स्वाभाविक रूपमा नेपाली युवा बेरोजगारहरू आफूसँग भएको थोरै पैसा खर्च गर्न जम्मा हुन्छन्। अलि मोटो रकम जुटाएर विदेश जाने ताकमा रहेका युवा यस्ता बजारमा रहेको कमाउने अवसर देख्दैनन्। उनीहरूले सानो पूँजी र सीपबाट कारोबार थाल्ने ज्ञान पाएका छैनन्।
जस्तो, दीपावलीको बेलाको मेलाहरूमा कमलको फूल टिपेर ल्याउनेले ‘मुहमांगी’ पैसा पाउँछ। मेलाको लागि दियो, खुत्रुके, छठको हात्ती जस्ता सामग्रीहरू पनि बनाउन सकिन्छ। चिनियाँ खेलौना होस् वा सिन्दूर–टीकाको व्यापार, यी कामहरू सानो पूँजी र अलिकति जाँगरबाट पनि गर्न सकिन्छ, तर हाम्रा युवालाई त्यसमा प्रेरित गरिएको छैन। परिणाम, हाम्रो देहाती मेलाहरूको सबै आर्थिक लाभ अरूले लिइरहेका छन्। हामीकहाँ विभिन्न संस्थाहरूले मैनबत्ती, सिन्का, अगरबत्ती, पापड आदि बनाउने तालीम दिन थालेका छन्, तर यो अनौपचारिक क्षेत्रको बजारलाई उपयोगी बनाउने विद्या नसिकाई त्यस्तो सीपले धेरै काम गर्ने देखिंदैन।
हामीकहाँ स्वतः बजार उपलब्ध भइराखेको छ, तर उत्पादन हुन सकिरहेको छैन। जस्तो, नेपालमा फूलको माग बढ्दो छ, तर आपूर्तिको लागि भारतकै भर छ। तराई–मधेशका युवालाई व्यवस्थित फूलखेतीमा उत्प्रेरित गर्ने हो भने त्यसले स्थानीयदेखि राजधानी काठमाडौं र देश बाहिरसम्मको बजार पाउने अवस्था छ। भनाइको तात्पर्य, उहिलेदेखि लाग्दै आएको र विभिन्न स्वरुपमा विस्तारित हुँदै गएको देहातको मेलाबजारलाई अब रामरमाइलोमा मात्र सीमित नराखी बजारको दृष्टिले पनि हेरिनुपर्ने बेला आएको छ।
पहिला हाम्रा मेलाहरूका हाम्रै कुमाले दाजुभाइहरूले बनाएका लक्ष्मी–गणेशका मूर्तिहरू अत्यधिक बिक्री हुन्थे। अहिले निकै टाढाका चिनियाँहरूले यसलाई अवसर बनाएका छन्। छठ पर्वको अवसरमा बाँसको नाङ्लो, सुकलीको व्यापक प्रयोग हुन्थ्यो, अहिले भारतीय कारोबारीहरूले पित्तल वा प्लाष्टिकका चिजले त्यसलाई विस्थापित गरिदिएका छन्। सोच र जाँगरको अभावमा हाम्रा लागि भने हाम्रै देहातका मेला–बजार आफ्नै खल्ती रित्याउने अवसर मात्र बन्न पुगेको छ।
त्यसकारण अब सरकारले तराईका मेलाहरूलाई तिनका विशेषता अनुसार सूचीकृत गरेर कारोबारमा स्थानीयको संलग्नता बढाउने उपाय अवलम्बन गर्नुपर्छ। यो काममा संघ–संस्थाहरूले सरकारलाई मजाले सघाउन सक्छन्। स–साना मेलाहरूले पनि आर्थिक कारोबारलाई आकार दिइराखेको हुनाले यो विमर्श जरूरी भएको छ।
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
