अन्तर्वार्ता/विचारशनिबार, पौष २६, २०७१
‘शिक्षालाई जीवनसँग जोडेका छौं’

तस्वीर: बिक्रम राई
अष्ट्रियाको भियना युनिभर्सिटीबाट शल्यचिकित्सा अध्ययन पूरा गरी सन् १९९४ मा डा. रामकण्ठ माकजु स्वदेश फर्के, उनकै शब्दमा ‘सार्थक जीवन’ खोज्दै। माकजुले स्थापना गरेको धुलिखेल अस्पताल अहिले मुलुककै नमूना स्वास्थ्यकेन्द्र मानिन्छ। उनै माकजु अर्को उदाहरणीय मानिएको काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति भएको दुई वर्ष पूरा भएको छ। यसै सन्दर्भमा उनीसँग गरिएको कुराकानीको संक्षेपः
प्रा.डा. सुरेशराज शर्माले दुई दशकसम्म नेतृत्व गर्नुभएको काठमाडौं विश्वविद्यालयमा दुई वर्षदेखि तपाइँ उपकुलपति हुनुहुन्छ। कसरी काम गरिरहनुभएको छ?
विश्वविद्यालयमा मेरो दायित्व संस्थापक बाहिरिएपछिको संक्रमणलाई व्यवस्थापन गर्नुथियो, अहिले त्यो भइरहेको छ। मानिसले जिन्दगीमा घर, गाडी, कपडा सबै थुपार्न सक्छ, तर विश्वास र भरोसा थुपार्न गाह्रो छ। सुरेशराज सरले त्यो कुरा थुपारेर जानुभएको छ।
‘केयू र धुलिखेल अस्पताल राम्रो छ है’, भन्ने ब्रान्ड स्थापित गर्न सक्नु हाम्रो सफलता हो। यसलाई दिगो बनाउने चुनौती छ। हामी त्यसैको प्रयासमा छौं।
स्तरीय शिक्षाका सन्दर्भमा अन्यको तुलनामा काठमाडौं विश्वविद्यालयको छवि सकारात्मक छ। यो कसरी सम्भव भयो?
१० वर्ष अगाडिसम्म एमबीबीएसभन्दा माथि पढ्ने सपना कसले देख्थ्यो? अहिले स्वदेशमै त्यो सपना पूरा हुन्छ। गुणस्तर भन्नेबित्तिकै महँगो हुन्छ भन्ने ‘मान्यता’लाई केयूले भत्काएको छ। त्यसैले पनि केयू विश्वासको थलो बनेको हो। यहाँबाट उत्पादित जनशक्ति विदेशमा समेत प्रतिस्पर्धी बन्न सक्नुले हाम्रा उत्पादन स्तरीय छन् भन्नेमा शंका रहेन।
गुणस्तर कायम राख्न सिक्ने सिकाउने पद्धतिमा परिवर्तन आवश्यक छ। विद्यार्थीको व्यवहार, शिक्षक, मूल्यांकन गर्ने निकाय वा अभिभावक सबैमा परिवर्तन आवश्यक छ। शिक्षा समयसापेक्ष वा जीवनोपयोगी भएन भने काम लाग्दैन। यो व्यावहारिक जीवनमा अनुभूत हुनुपर्छ। शिक्षालाई जीवनसँंग जोड्ने हाम्रो प्रयास केही हदसम्म सफल भएको छ।

तस्वीर: बिक्रम राई
हाम्रा विश्वविद्यालयहरू बेथितिको अड्डा बनिरहेका छन्। यसको कारण तपाइँलाई के लाग्छ?
प्रतिस्पर्धा नभएको ठाउँमा गुणस्तरको आशा गर्न सकिंदैन। अर्कातिर, शिक्षामा राजनीति हावी छ, जसले शैक्षिक विसंगतिलाई प्रश्रय दिइरहेको छ। विश्वविद्यालय सुधार्ने, योगदान दिने भनेर विश्वविद्यालयमा जाने छैनन्। शिक्षालयजस्तो पवित्र ठाउँमा अपवित्र कुरा मिसिएपछिको अवस्था हो, यो। स्कूलदेखि विश्वविद्यालयसम्म सिर्जना, ज्ञान हैन राजनीति ठूलो बनाइएको छ। गलत चेतना त्यसको कारक हो।
यही अवस्थामा हाम्रा विश्वविद्यालयलाई कसरी विश्वस्तरीय बनाउन सकिन्छ त?
म यसलाई उल्टो गरी हेर्छु। दुई दशकको अवधिमा जुन खालको परिस्थिति, स्रोतसाधनको सीमितताका बाबजूद केयूले जुन स्तरीय शिक्षा दिइरहेको छ, त्यो संसारका कुनै विश्वविद्यालयले गरेको जस्तो लाग्दैन। यही तरीकाले चलाउन पाए हामी अर्को २५ वर्षमा धेरै माथि पुग्छौं। अहिले पनि विश्वविद्यालयले करीब एक हजारमध्ये १३० देखि १५० जनालाई छात्रवृत्तिमा पढाइरहेको छ, लगानीको हिसाबले यो करोडौंको छात्रवृत्ति हो। समस्यालाई चुनौतीको रूपमा लिएर समाधानको प्रयास खोजे जे पनि सम्भव छ।
केयूका नयाँ योजना के छन्?
अहिले हामी विभिन्न विषयका लागि कलेजहरूसँग विस्तारित कार्यक्रम (‘एक्स्टेण्डेड प्रोग्राम’) शुरु गर्दैछौं। यो सम्बन्धन होइन, हाम्रै शैक्षिक कार्यक्रमलाई विभिन्न स्थानका कलेजमा सञ्चालन गर्ने हो। नयाँ शैक्षिक कार्यक्रमहरू त थपिनै रहन्छन्।
मेडिकल कलेजको सम्बन्धनका बारेमा व्यापक विवाद छ। खास कुरा चाहिं के हो?
यो एकपक्षीय बहस जस्तो भयो। सम्बन्धन दिनु गलत होइन। सम्बन्धन लिएका कलेजको गुणस्तर र शुल्कको विषयमा भने अनुगमन जरुरी हुन्छ। शिक्षा र स्वास्थ्य आफैंमा सेवा हो। यसलाई सेवाकै रूपमा सञ्चालन गर्नुपर्छ, न कि व्यापार। गुणस्तर कायम राख्दै व्यापारीकरण हुन नदिने गरी सम्बन्धन दिनुपर्छ।
सम्बन्धन नै रोक्नुपर्छ भन्ने तर्क गर्नेले विकल्प दिन सक्नुपर्योग नि त! देशभित्रै सस्तो शुल्कमा गुणस्तरीय जनशक्ति उत्पादन गर्ने वातावरण बनाउनुपर्छ। सम्बन्धनको विकृति रोक्नुपर्छ। हामीले विराटनगर र कपिलवस्तुमा एक्स्टेण्डेड प्रोग्राम सञ्चालन गर्दैछौं। अन्य विषयमा पनि यस्तो कार्यक्रम गर्दैछौं। यसले शिक्षामा व्यापारीकरण रोक्छ। यो राम्रो विकल्प हो।
सार्थक जीवन खोज्दै स्वदेश फर्केको तपाइँले आफ्नो जीवन अहिले कत्तिको सार्थक पाउनुभयो?
ठूलो घर, पद, गाडी हुनु सार्थक जीवन होइन। तपाइँको उपस्थिति, योगदानले अरूलाई कति सहयोग पुगेको छ, त्यही हो सार्थक जीवन। म उपकुलपति बन्न आएको होइन। हजारौं मान्छेको विश्वास मात्र जितेको हुँ। म विश्वासलाई लत्याउन र आशालाई निराशामा बदल्न दिन्न।
प्रस्तुतिः रमेशकुमार
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
