Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
जंगबहादुरका व्यसन - Himalkhabar.com

टिप्पणीशनिबार, पौष २६, २०७१

जंगबहादुरका व्यसन

ज्ञानमणि नेपाल

Gyanmani Nepal.inddहिमाल साप्ताहिकमा प्रकाशित मेरा अघिल्ला आलेखहरूले जंगबहादुर राणाको वैदेशिक तथा गृहनीतिमाथि प्रकाश पारे। उपलब्ध दस्तावेज तथा परिसंवादहरूको आधारमा तयार पारिएका ती विवेचनात्मक आलेखहरूले जंगलाई सैन्य संगठन र युद्धकौशलबाट राष्ट्रियता अभिवृद्धिमा दत्तचित्त रहने शासकको रूपमा देखाउँछन्।

आफूलाई नेपाल दरबारमा स्थापित गराउन जंगले मावली (भीमसेन थापा) हरूले गरेका गल्तीहरू सुधारेर जनता रिझाउने प्रयत्न गरेको बुझन सकिन्छ।

जंगले सत्तामा आउनासाथ बासट्ठीहरणबाट पीडित जनतालाई पहाड र तराईका ऐलानी जग्गा सट्टा दिने घोषणा गरे। त्यसबाट पीडितहरूलाई धेरै राहत नमिले पनि जनमनमा एउटा सहानुभूतिको सन्देश भने गयो।

ब्रिटिश र चीनसँग सन्तुलन मिलाएर भोट विजय गर्दा देशको समृद्धिलाई बल मिल्यो भने नयाँ मुलुक (अहिलेका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) फिर्ता ल्याउनाले सुगौली सन्धिले पारेको घाउमा मलम लगायो।

हिरण्यगर्भकुमारीमाथि आँखा
जंग राजा, रानी र युवराजलाई अघि सारेर वा उनीहरूको अक्षमताले दिएको अवसर प्रयोग गरेर कोतपर्वमा सारा भारदारलाई समाप्त पारेर एकछत्र भएका थिए। अवसरलाई फिटिक्क उम्कन नदिई उनी सत्ताको तला चढ्दै शिखरमा पुगे।

तर, प्राइमिनिष्टरको पदमा पुगेर हाइहाइ हुँदा पनि उनलाई सामाजिक मानमर्यादा पाउन मुश्किल परेको थियो– जातपातमा धेरै नाटीकुटी हुनाले।

त्यो युगमा आफ्नै जातवर्गमा पनि कुमाई, पूर्वीया, जैसी, बाहुन, खत्री, क्षत्री अथवा झर्रा, ठकुरी, खस क्षत्री आदिमा कडा विभेद थियो।

जंगबहादुर अगोरखाली भारदारमा पर्थे। उनी तीनडोरे जनै लाउँथे। ६ डोरे जनै लाउने अनि धोतीपाटा फेरेर भात खाने चौतरिया खलक जंगसँग वैवाहिक सम्बन्ध त परैजाओस्, पानी पनि चलाउँदैनथे।

यसबाट सामाजिक समस्यामा परेका जंगले वंशावली तयार पार्न लगाउँदा आफ्ना एक कुलपुर्खाको नाम उदयपुर (भारत) का महाराणाप्रतापको वंशवृक्षको अभिलेखमा पारेको भनिन्छ।

यसरी आफ्नो थर कँवर वा कुँवर नभएर राणा भएको प्रमाणित गराएर उनी उच्च घरानाका र्झ्रा क्षत्री भए। अब जंगकुलको प्रशस्ति श्रीमद्राजकुमार कुमारात्मज राणाजी भयो। सामाजिक मान्यता पाउन जंगले गरेका कसरतको विस्तृत विवरण प्राचीन नेपाल पुस्तकमा छ।

कान्छी आमाको तकलबाट आफ्नो राजसत्ता जोगाएको र बाबु (श्री ५ राजेन्द्र) छँदै राजा बन्न पाएकोले राजा सुरेन्द्र जंगप्रति कृतकृत्य थिए, जे भन्यो त्यही मान्थे।

जंगले त्यसरी रिझाएका राजाका छोरीहरूको विवाह आफ्ना छोरासँग गरेर कोभन्दा को कम भइगए। उनी स्वयंले पनि चौतरिया फत्यजङ्ग शाहकी बहिनीमा आँखा लाएका थिए।

तर, चौतरिया खलक जंगका बापवैरी थिए। त्यसमा पनि गुरुप्रसाद शाहले त जङ्गको विरोधमा झ्न्डै उठाएका थिए। तर, स्वयं राजालाई लमी बनाएर केटी माग्न गए, जंग।

राजा सुरेन्द्रले ‘हेर चौतार्नी, मैले त छोरी दिएर सम्धी बनाइसकें भने तिमी पनि बढेकी छोरी देऊ’ भनेपछि हार्न सकिनन्, हिरण्यगर्भकुमारी जंगकी रानी भइन्। जंगका ४५–५० वटी त महारानी, रानी दर्जा पाएकै श्रीमती थिए।

पदका पारखी

त्यसवेला भोटसँग व्यापारमा खटपट थियो। जंगले ब्रिटिश र चीनलाई सन्तुलनमा राखेर तिब्बत विरुद्व युद्ध गरी नेपालको शर्तमा सन्धि गर्न बाध्य पारे। त्यो विजयश्रीले उनलाई जनस्तरमा लोकप्रिय बनायो।

त्यही मौकामा उनी भाइहरूको चित्त बुझाउने र अझै ठूलो मानपदवी पाउने ध्येयले भाइ बमबहादुरलाई प्राइमिनिष्टरी दिलाएर केही समय ढाक्रे बसे।

वर्ष दिन नपुग्दै बमबहादुर बितेपछि ‘सबैको आग्रह’ बाट ‘कास्की र लमजुङका श्री ३ महाराज’ पदवीसाथ पुनः प्राइमिनिष्टरसिप लिए– श्री ५ मा कुनै अधिकार नछाडी।

जंगले ‘श्री ३ महाराज’ को पदवी आफ्ना छोरा–नाति र प्राइमिनिष्टरी चाहिं ज्येष्ठक्रमले भाइहरूमा जाने व्यवस्था मिलाएका थिए। आफू श्री ३ महाराज बनेको सूचना जंगले अंग्रेज र भारतीय राजाहरूलाई पनि दिए– एक राज्यको ‘राजा’ र दुई–तीन राज्यको ‘श्री ३ महाराज’ हुन्छ भन्दै। धेरै राजामहाराजामाथि श्री ५ महाराजाधिराज हुन्छन्, त्यस माथि ‘इम्पायर’ हुन्छन् भन्ने उनको व्याख्या थियो।

उनी प्राइमिनिष्टर जंगबहादुर जनरलबाट मुख्तियार प्राइमिनिष्टर हुँदै श्री ३ महाराज भएका थिए। त्यही बेला हिन्दुस्तानका अखबारमा उनी श्री ५ लाई गद्दीच्यूत गरी आफैं श्री ५ महाराजाधिराज बन्ने योजनामा लागेका छन् भन्ने समाचार छापिएछ।

उनी भारतमा प्रकाशित हुने अखबारहरू मुन्शी वा मास्टरबाट दैनिक सुन्थे। त्यो खबर सुनेपछि उनले तुरुन्तै वायसरायलाई पत्र लेखेर त्यस्तो बाहियात खबर छाप्ने पत्रकारलाई पक्रन आग्रह गरे।

उताबाट ‘हाम्रोमा लेख्ने/पढ्ने स्वतन्त्रता छ, नियम कानूनले पत्रकारलाई दण्ड दिन मिल्दैन’ भन्ने जवाफ आयो, तर उनको चित्त बुझदै बुझेन र रेजिडेन्टलाई चेताइरहे, ‘त्यहाँ त्यस्तो कानून नभए पनि झूटो कुरा लेख्ने अधिकार कसरी हुन्छ’ भन्दै दण्डको माग गरिरहे।

ब्रिटिश अधिकारीहरूले ‘तपाईंको देशमा अंग्रेजी बुझने जनता कति छन् र? त्यसमा विचलित हुनुपर्ने केही छैन, बरु यी अखबारहरू नेपाल आउन बर्जित गरिदिनुहोला’ भनी सुझाएपछि जंगले थापाथली दरबारमा १, मुन्शीखानामा १ र रेजिडेन्सीमा १ गरी तीनप्रति मात्र भारतीय अखबार आउने बनाए।

शिकार र अफिम
जंगबहादुरका जीवनका अनेक पाटा छन्। उनको निजी जीवन रंगीन थियो। उनको स्त्री प्रसङ्ग–प्रकरणहरू नेपाल निरुक्त मा दिएको छु। यहाँ उनको शिकार र अफिम व्यसनको संक्षिप्त चर्चा गरौं। राजामहाराज र नवावहरू शिकारका सौखिन हुन्थे नै।

अरू राणा प्राइमिनिष्टरहरू पनि शिकार खेल्थे, तर जंगको हरेक हिउँद तराईका जंगलमै बित्थ्यो। उनको जीवनलीलाको अन्त्य पनि शिकारमा रहेकै बेला भयो।

जंगको मृत्युबारे कसैले सेतो बाघको कल्पना गरेका छन् भने कसैले मगर्नी ल्याएकाले जारले काटेको भनेका छन्। मैले गुरु र पुराना भारदारहरूका वंशजबाट सुनेजानेको कुरा चाहिं यस्तो छः

सं. १९३३ को हिउँदमा पनि जंगबहादुर सर्लाहीको जंगलमा थिए। फागुन शुदि १२ को बिहानै उठेर पालबाहिर आराम कुर्सीमा पल्टिरहेका बेला सामुन्ने रूखमा एउटा मुजुर आएर बस्यो।

उनले राइफलले ताकेर हान्दा गोली अर्कैतिर गयो, मुजुर भुर्र उड्यो। जंगबहादुर भरङ्ग भए, कुर्सीमा अड्न सकेेनन् र भुईंको गलैंचामा पल्टिए। आँखा तिरमिराएर उनले सर्वत्र सेतो देख्न थाले।

त्यसै दिन क्याम्प सारिंदै थियो, उनलाई हात्तीमा राखेर हिंडाइयो। हिरण्यगर्भकुमारीले हातको तकिया दिएर उनलाई राखेकी थिइन्।

जंगबहादुर अफिमका पनि अम्मली थिए। त्यसवेला भोट र चीनका भारदारहरू अफिन्ची हुन्थे। अफिम निषिद्ध भए पनि जंग त्यसका अम्मली थिए। उनलाई चिनी रोग लागेकोले लैनको रेजिडेन्सीका डाक्टरले मुख बार्न अफिम छोड्ने सल्लाह दिएका भए पनि उनी त्यो नभई चङ्ग हुन्नथे।

त्यसका लागि हिरण्यगर्भकुमारीले हरदम पछ्यौरामा अफिम बोकेकी हुन्थिन्। आफ्नो काखमा टाउको राखेका पतिलाई उनले अलिकति अफिम चिमोटेर दिइन्, तर यो पटक त्यसले केही असर देखाएन। पत्नीको सारीमा समातेर तान्दै जंग बारम्बार भन्न थाले, “तिमी आउँदिनौ कि!”

त्यसबेला उनलाई आफूले धेरै मान्छे मारेकोले श्रीमती सती गइनन् भने तर्दिनँ कि भनेर शंका लागेको हुन सक्छ। भारतमा केही वर्ष पहिल्यै सतीप्रथा बन्द गरिएको थियो। नेपालमा पनि त्यो क्रूर प्रथा बन्द गर्न अंग्रेज अधिकारीहरूले आग्रह गरिराखेका थिए।

जंगले भाइ बमबहादुर मर्दा र अन्यलाई पनि सती निषेध गरेका थिए। त्यसले पनि उनलाई आफ्नी प्रेयसी सँगै जाँदिनन् कि भन्ने शंका पर्‍यो होला।

उनलाई सकस परेर परपर हेर्न थालेपछि हात्तीबाट हत्तपत्त ओह्रालियो। हुलुक्क छादेर प्राणमुक्त भएपछि पत्थरघट्टामा लगेर उनको दाहसंस्कार गरियो। उनी मरेको ठाउँमा बनाइएका जोर शिवालय अहिले पनि छँदैछन्।

जंगबहादुर मरेर रणोद्दीपसिंह गद्दी चढेको समाचार सबैतिर पठाइयो। चीनबाट समवेदना सहित अघि जंगबहादुरलाई दिएजस्तो थोङ लिन् पिम्माको काङ वाङ स्यान (सबै फौजी कमान्ड र निजामती अधिकार पाएको नेपालराज्यको राजा– महाराज) को पदवी नयाँ श्री ३ महाराज प्राइमिनिष्टर रणोद्दीपसिंहलाई पठाइयो।

Gyanmani Nepal.indd

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>