रमझमआइतबार, पौष २७, २०७१
माेडल अायुषा भन्छिन्, ‘अनुचित फाइदा उठाउन खाेज्नेलाई सबक सिकाउनैपर्छ’
म्युजिक भिडियो निर्देशक मुनालशिशिर कोइरालाले यौन प्रस्ताव राखेको सार्वजनिक गरेकी मोडल आयुषा राई यतिबेला चर्चामा छिन् । फेसबुक च्याट मार्फत गरिएको यौन प्रस्ताव जस्ताको तस्तै आफ्नो वालमा पोस्ट गरेकी उनी यतिबेला आनन्द महसूस गरिरहेकी छन् ।
कोइरालासँग कसरी चिनजान भयो ?
हामी फेसबुक फ्रेन्ड थियौं । बेलाबेला च्याटमा कुराकानी हुन्थ्यो । अघिल्लो साता उहाँले म्युजिक भिडियोका लागि ‘अफर’ गर्नुभयो । मैले एक–दुई जना अग्रज निर्देशकसँग बुझें । उहाँहरूले ‘तिमीलाई जथाभावी नगर्ला’ भन्नुभयो । मैले म्युजिक भिडियो गर्ने निर्णय गरें । शनिबार सुटिङ थियो ।
सुटिङकै बेला यस्तो प्रस्ताव आएन ?
सुटिङमा त्यस्तो केही भएन । केही भन्ने वा गर्ने माहोल थिएन । त्यसपछिका च्याटमा चाहिं उहाँले साथ, सम्बन्धबारे कुरा गर्न थाल्नुभयो । पारिश्रमिक लिन बाँकी भएकाले बुधबार मैतिदेवीको क्याफेमा भेट्न गएँ । भेटमा ‘तीन महीनामै टप हिरोइन बनाइदिन्छु तर मसँग सबैथोक गर्नुपर्छ’ भन्नुभयो । आधा पारिश्रमिक लिएर चूपचाप फर्किएँ ।
यस्तो कुरा सार्वजनिक गर्ने आँट कसरी गर्नुभयो ?
मैले नियत बुझिहालें । यस्ता मान्छेलाई सबक सिकाउनै पर्छ भन्ने लाग्यो । भेटपछिको बेलुकी घर आएर प्रमाणसहित स्टेटस पोस्ट गरिदिएँ ।
महिला कलाकारलाई ‘यौन प्रस्ताव’ नौलो हो र ?
होइन । तर, कसैले बोल्ने हिम्मत नगर्दा उनीहरूको मनोबल बढेको छ । नयाँ–नयाँ मोडल/हिरोइन लिने र मनलागी गर्ने बानी नै परिसक्यो उनीहरूलाई । यसो गर्दा उनीहरूलाई यौनसन्तुष्टि पनि मिल्ने र थोरै पैसा वा सित्तैंमा मोडल खेलाइरहन पाइने फाइदा छ ।
कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
धेरैले ‘राम्रो गर्यौ, त्यस्तालाई पाठ सिकाउनै पर्छ’ भनेका छन् । दुई/चारजनाले ‘हामीलाई पनि यस्तै भनेको थियो’ भने । कतिले चाहिं ‘किन यस्तो गरेको, आफ्नै बेइज्जत गर्यौ, तिमी आफैं उस्ती होलिऊ’ पनि भनिरहेका छन् ।
प्रस्तुति: सजना बराल