रमझममंगलबार, पौष २९, २०७१
संगीतमा तन्नेरी ‘क्रेज’ (तस्वीरसहित)
-सजना बराल
काठमाडौं जोरपाटीको सुन्दरटोलका दाइहरूले ड्रम बजाएको देखेपछि साङडोमा शेर्पा (१८) लाई केटीहरूले यो बाजा किन नबजाएका होलान् भन्ने जिज्ञासा पलायो। तर, उनका स्कूले साथीहरूले यो बाजा त केटाहरूले मात्र बजाउन सक्ने जस्तो कुरा गरे। “हामी चाहिं के कम भनेर नौ कक्षादेखि ड्रम सिक्न थालें”, उनी भन्छिन्।
२०६९ सालमा साङडोमाले गीता तामाङ, शीशम राई, सुष्मा घलान र सविता थिङसँग मिलेर गोर्खालिज गर्ल्स ब्याण्ड खोलिन्। सबै टेक्सास इन्टरनेशनल कलेजमा १२ कक्षामा पढ्छन्। साङडोमा भन्छिन्, “स्थापित ब्याण्डलाई झै कार्यक्रमको प्रस्ताव आउन थालेका छन्।”
श्रद्धा परियार (२०) लाई तबला बजाउन मन लाग्थ्यो। तर, प्रायः पुरुषले मात्र तबला बजाएको उनले देखेकी थिइन्। एक दिन ठूलीआमाले ‘तँ पनि सक्छेस्, सिक्’ भनेपछि उनमा तबला बजाउने आँट पलायो। सेन्ट लरेन्स कलेजमा बीबीएस दोस्रो वर्षमा पढिरहेकी उनी नेपाल संगीत विद्यालयमा तबलावादन सिकिरहेकी छन्। इलाहावाद विश्वविद्यालयबाट तबलावादनको औपचारिक अध्ययन समेत गरिरहेकी छन्।
नयाँबानेश्वरका दीपविक्रम सिंह (२२) व्यवस्थापन विषयमा स्नातक अध्ययन गरिरहेका थिए। तर, तेस्रो सेमेस्टर सकिएपछि उनलाई लाग्यो, म गलत गरिरहेको छु। उनी सम्झन्छन्, “तीन सेमेस्टरपछि मात्रै म संगीतकै लागि बनेको जस्तो लाग्यो, अनि संगीत पढ्न थालें।” एरो हेडेड र जेल ब्रेक ब्याण्डका सदस्य दीपविक्रम गितार बजाउँछन्। नेपाल संगीत विद्यालयमा सिकाउँछन् पनि।
ब्याण्डको सदस्य भए पनि उनको लगाव भने आफ्नै कम्पोजिसनमा छ। दश वटा कम्पोजिसन बाहिर ल्याइसकेका दीपविक्रमका ‘वि फल वि क्राई’, ‘एट्किन्स इन एक्सन’ लगायत धुन सार्वजनिक भएका छन्।
सुनील बर्देवा (१८) लाई मादलमा चाख छ। काठमाडौंकै नयाँबजारका उनले मादल बजाउनमा रेडियो नेपालको परीक्षा पनि उत्तीर्ण गरेका छन्।
२०६६ सालमा रेडियो नेपालमा मादलवादनको परीक्षा दिन जाँदा सुनीलले एकैचोटि १५ वटा मादल बजाएका थिए। मादलवादक बुबा कृष्णबहादुरबाट प्रेरित उनी गुरु न्हुच्छेबहादुर डंगोलकै हाराहारीमा पुग्न चाहन्छन्।
सारंगीवादक श्याम नेपालीका छोरा प्रिन्स (१९) बाबुकै पथमा छन्। हालै ‘पेप्सी भ्वाइस् अफ नेपाल’ प्रतियोगिता जितेको ‘सक्षम’ ब्याण्डका सदस्य हुन् उनी। “हामीले लोक बाजालाई प्राथमिकता दिएकाले प्रतियोगिता जितेका हौं”, सारंगीवादक प्रिन्सको मूल्यांकन छ। ‘योङ पिकासो’ मार्फत उनी बालबालिकालाई सारंगी पनि सिकाइरहेका छन्।आर्थिक अवसरको खोजीमा कतिपय संगीतकर्मी विदेशिएका छन्। भएकामध्ये अधिकांश सन्तुष्ट देखिंदैनन्। तर, नयाँ पुस्ताका दीपविक्रम, श्रद्धा, सुनील, प्रिन्स र साङडोमा भने निराश लाग्दैनन्। उनीहरू आ–आफ्ना वाद्ययन्त्रको आडमा खर्च धानिरहेका छन्।
“मादलले मलाई आत्मनिर्भर बनाएको छ”, सुनील भन्छन्। उनी अरुका गीतमा पनि बजाउँछन्, बेलाबेला एकल कार्यक्रम पनि गर्छन्। एउटा रेस्टुरेन्टको दोहोरी साँझमा जागीरे छन्। साङडोमा चाहिं पूर्णकालीन कलाकार बन्ने सोचमा छिन्। भन्छिन्, “प्लस टू सकेपछि धेरै मिहिनेत गर्छु।” दीपविक्रम ‘म्युजिक पर्फर्मेन्स’ विषयमा स्नातक गर्न अमेरिका जाने तयारीमा छन्।
लोकबाजाको बजार बढ्दै गएकोमा सारंगीवादक प्रिन्स दंग छन्। “नेपालीहरूले मौलिक बाजाको महत्व बुझ्न थालेका छन्”, उनी भन्छन्। सुनील पनि मादलबाटै भविष्य बन्नेमा आशावादी देखिन्छन्। तर, केही नगरी बाजाको संरक्षण भइहाल्ला भन्ने उनलाई लाग्दैन। “यो काममा हामी आफैं अग्रसर हुनुपर्छ”, उनी जोड दिन्छन्।
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
