थप समाचारबुधबार, पौष ३०, २०७१
तोरीबारीमा मौरी निषेध
–दीपक ज्ञवाली, बुटवल
रूपन्देहीको सैनामैना नगरपालिका–१० मा रहेको रामापुर अहिले तोरी फुलेर पहेंलै छ। मौरीको सबैभन्दा प्रिय चरनस्थल तोरीबारी र मह उत्पादनको उत्तम सिजन अहिले नै भए पनि मौरीपालक किसान पर्शुराम अधिकारी ठूलो चिन्तामा छन्। मौरीले रस चुसिदिंदा उत्पादन घट्ने भ्रममा तोरीबारीमा मौरी चराउन रोक लगाइएपछि अधिकारी जस्ता धेरै मौरीपालक किसानको छटपटी बढेको छ।
नेपालमा पछिल्लो समय व्यावसायिक मौरीपालन फस्टाउँदै गए पनि चरनको समस्याले किसान मारमा परेको मौरीपालक महासंघका केन्द्रीय अध्यक्ष राजेन्द्र गौतम बताउँछन्। मौरीले तोरी बालीमा परागसेचन गरिदिने र त्यसबाट उत्पादन बढ्ने भएकाले विदेशमा मौरी चराए बापत मौरीपालकलाई (तोरी) किसानले आकर्षक रकम समेत दिन्छन्। गौतम भन्छन्, “हामीले चाहिं उल्टै रकम तिरेर पनि राम्रोसँग चराउन नपाउने अवस्था छ।” मौरीबारेको चेतना अभावले देशभरका पाँच हजारभन्दा बढी मौरीपालक किसान प्रभावित भएको गौतम बताउँछन्।
४० किसान व्यावसायिक रूपमै मौरीपालनमा लागेको रूपन्देहीमा वार्षिक १२ टन मह उत्पादन हुन्छ। एकहजार १०० घारमा मह उत्पादन हुँदै आएको रूपन्देहीमा युवा स्वरोजगार कार्यक्रम अन्तर्गत यसपटक ८०० घार थपिंदैछन्। नेपालभर चाहिं व्यावसायिक रूपमै मौरीपालनमा लागेका करीब पाँच हजार किसानले वार्षिक दुई हजार टनभन्दा बढी मह उत्पादन गर्छन्। मौरीपालक महासंघमा आबद्ध यीबाहेक अरू किसान पनि मह उत्पादनमा संलग्न रहेको र यो पेशामा १५ हजारभन्दा बढीले रोजगारी पाएको व्यवसायीहरू बताउँछन्।
महासंघका अनुसार नेपालमा उत्पादित सम्पूर्ण मह यहीं खपत हुन्छ। पहिले विदेशी मह भित्र्याउने ठूला होटलहरूले समेत नेपालकै मह प्रयोग गर्न थालेका छन्। अहिले देशभित्र खपत हुनेमध्ये विदेशबाट आउने २० प्रतिशत मह डाबर नेपाल लगायतका बहुराष्ट्रिय कम्पनीहरूले भारत, थाइल्याण्ड लगायतका देशबाट ल्याउँछन्।
कुल उत्पादनको ६० प्रतिशत मह उत्पादन तोरी फुल्ने सिजनमै हुने भएकाले मौरी चराउँदा तोरी उत्पादन घट्ने भ्रम नहटाइए मह उत्पादनमै ठूलो ह्रास आउने गुनासो उत्पादकहरूको छ। “विदेशमा मौरी चराउँदा र ढुवानी गर्दा एम्बुलेन्स सरहको संवेदनशील मान्यता दिइन्छ” महासंघका अध्यक्ष गौतम भन्छन्, “यहाँ त चराउनै अवरोध हुँदा समेत कानूनी उपचार भएन।”
मौरी चरनबाट तोरी उत्पादन घट्ने भ्रम हटाउन जिल्ला कृषि विकास कार्यालय रूपन्देहीले विभिन्न ठाउँमा मौरी चरन कार्यक्रम शुरू गरेको छ। “मौरी चराउँदा उत्पादन घट्दैन, बरु ३० प्रतिशत बढ्छ” कार्यालयका बाली विकास अधिकृत जयबहादुर महतरा भन्छन्, “प्रयोगबाटै प्रमाणित गर्न केही तोरी किसानका खेतबारीमै मौरी चरन शुरू गरेका छौं।” कार्यालय प्रमुख कृष्णभद्र अधिकारी खुला तोरीबारीमा एक ठाउँमा मौरी चरन र अर्को ठाउँमा मौरी छिर्न नमिल्ने गरी नेट लगाएर उत्पादनको तुलना गरिने बताउँछन्।
साप्ताहिक खबरपत्रिका हिमालबाट