ब्लगबुधबार, पौष ३०, २०७१
सकिएन महाराज, थेग्न!
अंग्रेजी नयाँ वर्ष मनाउन परिवार र मित्रमण्डली सहित ठमेलको कालापानी होटल पुगेका नेताजी अचानक गम्भीर देखिए।
वातानुकूलित कोठा, टेबलमा अनेक पकवान, भित्तामा मोहक चित्रकला! र पनि, नेताजी उदासिएको देख्दा म विचलित भएँ।
होटलको नामले कुनै समय आफैंले फर्काउन खोजेको भू–भागको झ्स्कना दिएकोले नेताजी भरङ्गिएका होलान् भनी स्वयंलाई आश्वस्त पार्न खोजें।
“यो रमाइलो घडीमा पनि हाम्रा जनता ठन्डीमै होलान् है?” गाँस उदरस्थ गर्दै निन्याउरो स्वरमा उनले भने।
“बाहिर त चिसै होला नि!” हल्का रमरमिएका सहयोगीले ज्याकेट खोल्दै भने।
“केही गर्नुपर्ने भो, पियारी!” नेताजी श्रीमतीतिर फर्के।
सारा दुनियाँ नयाँ सालको उमङ्ग र मस्तीमा झुमेको बेला नेताजीको मन भुईंमा गुजुल्टिएर सुतिरहेकाहरूको सम्झ्नामा हुँडलिन थाल्यो।
भोलिपल्ट ‘फर्स्ट आवर’ मै उनले गाडीमा कम्बलको गुन्टा राखेर दलबल सहित गरीब बस्तीतिर कूच मारे। भुईंमान्छेहरूलाई दयावान नेताका अगाडि लस्कर लगाइयो।
नेताजीले कठै भन्ने भावका साथ कम्बल वितरण गरे। सहयोगीहरूले ‘आइफोन’ बाट तस्वीर लिएर सामाजिक संजालमा ओइर्याए। नेताजीको मुखारविन्द कुनै महाराजाको भन्दा कम ओजस्वी थिएन।
मेरो मनमा यत्तिका प्रजावत्सल महाराजा सुमर्न पाएका भए हिजो जनताले राजतन्त्र मिल्काउने गल्ती मरिगए गर्ने थिएनन् भन्ने तर्कना आयो। सबैको खप्पर हाम्रो जस्तै बलियो भइद्या’भे एक्काइसौं सदीको एक नम्बरी व्यवस्थाका रूपमा सामन्तवादको अन्तर्राष्ट्रिय गीत बन्थ्यो होला!
दयानिधानको हृदयमा फुटेको करुणाभावको मूल त्यतिमै थामिएन। बिरामी, दृष्टिविहीन र असक्तहरूले पनि दयासागरको जल आचमन गर्न पाए।
नेताजीको गाथमा खलल नपुग्ने गरी सवारी चलाइदिएकोमा प्रशन्न हुँदै उपस्थित सुरक्षाकर्मीलाई पनि बाहुलीबाट पारितोषिक बक्स भयो।
सन्तोषको सास फेर्दै नेताज्यूबाट मर्जी भयो, “कठोर जाडोले पिरोलिएकाहरू माझ् थोरै भए पनि न्यानो बाँड्न पाउँदा दिल चङ्गा भएको छ!”
पारदर्शिता र जवाफदेहिताको नमूना पेश गर्दै नेताजीले कम्बल खरीदको स्रोत समेत खोले। जस अनुसार, पत्रिकामा लेखेको पारिश्रमिकबाट २०० थान कम्बल किनिएको रहेछ।
यो सुनेर कतिपय कलमजीवीमा ‘समान कामको लागि समान ज्याला’ लुँड्याउने रहर चल्न बेर छैन। तर, पार पाई नसक्नुको यो कलियुगे लीलामा ‘केही मानिस बढी समान हुने’ हुन्छन्।
एक तहको समान ठेउकेहरू बाह्र सत्तरी टन्टा मोलेर, रातो दिन हड्डी घोटेर हातमुख जोड्ने गरी मात्र समान हुन्छन्।
त्यसो त नेताज्यूहरू ‘समस्यापु्रफ’ हुनुहुन्छ भन्ने होइन। उहाँहरूलाई पनि जहान पाल्न, उपचारका लागि देशाटन गर्न, भाँतीभाँतीका नयाँ वर्ष लगायत चाडबाडलाई समावेशी ढंगले मनाउन लावालस्कर सहित तारे होटल, रिसोर्ट आदि चहार्न रोकडा चाहिन्छ।
फेरि, ताहुरमाहुर पनि नेता वर्गको शान धानिने नगरी धर छैन। चर्को महँगीमा यत्रो गर्जो टारी कुन्यूका कुन्यू कम्बल दान गर्ने रकमको बन्दोबस्त मिलाउन कति सकस हुँदो हो?
त्यसमाथि, नेताज्यूहरूको कुनै बन्दो व्यापार पनि देखिन्न। धन्न, बराहरूले खोकन्तीकै भरमा यत्रो उपार्जन गर्ने विद्या जानेका छन् र परोपकारमा स्पर्धा गर्ने हैसियत राख्छन्। तब न नेता!
उदारमना प्रधानमन्त्रीज्यूले गरीब जनतालाई न्यानो बाँड्न एक महीनाको तलबदान गर्नुभयो। प्रधानमन्त्रीको फुर्ती देखे’सी फिटफिटिएका प्रमुख प्रतिपक्षी नेताले बुर्लुक्क उफ्रँदै दुई महीनाको तलब दानको घोषणा गरे।
अनि त माननीयबाट पनि धमाधम कम्बल खसान् शुरू भयो। यसरी नेतागणको संचय बुक्याउँदा हाम्लाई भने महापापै लाग्न सक्छ। अर्को खतरा पनि छ।
नेताज्यूहरूले दिएको र जनताले लहर लागी लिएको परिदृश्यमा अन्तर्निहित रैतीप्रेम देखेर कुनै विदेशीले नेपाल गणतान्त्रिक राजतन्त्रात्मक मुलुक भएको ढोल पिटाएमा उहाँहरूको उच्च त्यागको घनघोर अपमान हुनेछ।
त्यो हाम्ले कसरी सहनू? नेताज्यूहरूको गुन तिर्न नसक्या बेला गणतन्त्र संस्थागत हुन नदिएको अवगाल कसरी थेग्नु होला?
सर्टकट्मा भन्नुपर्दा, तपाईंहरूको उपकारको भार थेग्न सकिएन, महाराज! योभन्दा बढी अनुगृहीत नबनाइदिनुस्! बरु, हाम्ले तिरेको करबाट अभरमा सहयोग पाउने प्रबन्ध मिलाइदिनुस्।
ललिपप चटाएको फोटो खिचाएर हाम्रो दरिद्रता भजाउने फिरंगीहरूको कौनो कमी छैन!
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
