समाचारबिहीबार, माघ १, २०७१
बेला भयो पूर्व तयारीको
नेपालमा फेरि ठूलो भूकम्प आयो भने सरकारले हाम्रा लागि के–के गर्ला भन्ने कुरा छाडेर सम्भावित क्षति कम गर्ने पूर्व तयारीमा सक्रिय हुनुपर्ने दिन आइसकेको छ।
विज्ञहरूले काठमाडौंलाई संसारकै सबैभन्दा धेरै भूकम्पीय जोखिम भएको क्षेत्र भन्दै होशियार बनाएको बनायै छन्, तर अन्त्यहीन राजनीतिक गतिरोध र टुंगो नलाग्ने वार्ता श्रृंखलामा व्यस्त सरकारले त्यसको सामनाका लागि केही तयारी गरेको छैन।
प्रकोप जोखिम व्यवस्थापन आयोग गठन सम्बन्धी विधेयक संसद्मै अलपत्र परेको छ। सरोकारवाला दुई मन्त्रालयबीच अधिकार क्षेत्रको द्वन्द्वका कारण प्रकोप जोखिम व्यवस्थापनको आकस्मिक योजना पनि बन्न सकेको छैन।
यो अवस्थामा एक्टिभिस्ट र दाताहरू अन्योलमा छन्– ऐन पारित गराउन लबिङ गर्ने कि त्यसलाई संशोधन गर्नतर्फ लाग्ने भनेर। किनभने, पाँच वर्षदेखि संसद्मा अड्केको विधेयकले पूर्व तयारीमा पर्याप्त ध्यान दिएको छैन।
२ माघ १९९० सालको ८.३ म्याग्निच्यूडको भूकम्पले काठमाडौं उपत्यकामा ८ हजारसहित नेपाल र भारतमा गरी १८ हजार मानिसको ज्यान लिएको थियो। भूकम्पविज्ञका अनुसार, अहिले त्यही परिमाणको भूकम्प आयो भने उपत्यकामा मात्र सवा लाख मानिसको मृत्यु हुन सक्छ, ६० प्रतिशत भौतिक संरचना ध्वस्त हुनेछन्।
त्यसबेला घाइतेहरूलाई अस्पताल पुर्यालउनै पनि कठिन हुनेछ, स्वास्थ्यकर्मी अपुग हुनेछन्। सानो विमानस्थल र एक मात्र राजमार्गबाट आवश्यक उद्धार र राहत अभियान संचालन हुनसक्ने छैन।
भूकम्प वा बाढी जस्ता विपत्ति आइसकेपछि प्रभावकारी उद्धार तथा राहत अभियान चलाउन ठूलो तयारी चाहिन्छ। विपत्ति जोखिम व्यवस्थापनका लागि छुट्टै संयन्त्र आवश्यक पर्छ।
कुल दुई लाख जनसंख्या र जताततै खुला ठाउँ भएको ९० सालको काठमाडौंमा भूकम्पबाट त्यत्रो ध्वंस भयो भने ४० लाख जनसंख्या र भाग्ने खुला ठाउँ नै नभएको यो बेला हुने क्षति कत्रो होला? त्यसलाई सम्झेर पनि १ माघको राष्ट्रिय भूकम्प दिवसलाई संभावित विपत्ति सामना गर्ने तयारीको रूपमा मनाउनुपर्छ।
भएका काम
कानून बनाउने काम र अन्य तयारी ढीलो भए पनि ‘विद्यालय भूकम्प सुरक्षा’ जस्तो कार्यक्रममा भने नेपाल दक्षिण एशियामै ‘रोल मोडल’ भएको विशेषज्ञहरू बताउँछन्। यो कार्यक्रम अन्तर्गत शिक्षा विभागले विभिन्न संस्थाको सहयोगमा विद्यालयमा भूकम्पबाट जोगिने तरीका सिकाउनुको साथै कमजोर संरचना मर्मत समेत गरिरहेको छ।
यसैगरी, काठमाडौंका ६ वटा अस्पताललाई भूकम्प प्रतिरोधक बनाउने र ठूलो हताहती व्यवस्थापनमा तयार पार्ने कार्यक्रम पनि सञ्चालन भइरहेको छ। यस्तो काममा संलग्न भूकम्प प्रविधि राष्ट्रिय समाज, नेपाल (एनसेट) का इन्जीनियर सूर्यनारायण श्रेष्ठ विद्यालयहरूलाई मात्र नभई शैक्षिक प्रणालीलाई नै सुरक्षित बनाउने कार्यक्रमको उद्देश्य रहेको बताउँछन्।
उनी भन्छन्, “अस्पताललाई मात्र नभई अस्पताल प्रणालीलाई नै भूकम्पपछिको स्थिति सामना गर्न तयार पार्ने कार्यक्रमको उद्देश्य हो।”
एनसेटले नगरपालिका र गाविसको सहयोगमा आर्किटेक्ट तथा ठेकेदारलाई भवन बनाउँदा निर्माणको न्यूनतम मापदण्ड लागू गरेर भूकम्प प्रतिरोधक बनाउन प्रेरित गरिरहेको छ। यो संस्थाले डकर्मीलाई पनि भूकम्प प्रतिरोधी घर बनाउने तालीम दिने गरेको छ।
एनसेटका संस्थापक आमोदमणि दीक्षित अवश्यंभावी भूकम्पको सामना गर्न सबै तयार रहनुपर्ने बताउँछन्। “भूकम्पबाट मानिसको मृत्यु मात्र होइन, देश नै ध्वस्त हुन सक्छ”, दीक्षित भन्छन्, “जोखिम व्यवस्थापनका लागि संविधान पर्खनु मूर्खता मात्र हुनेछ।”
सरकारी कामको ठेगान नहुँदा एनसेट आफैंले जोखिम व्यवस्थापनको पूर्व तयारीका लागि विभिन्न संस्थासँग हातेमालो गरिरहेको छ। यसक्रममा एनसेटले काठमाडौं उपत्यकामा हुने संभावित क्षति, उपलब्ध खुला स्थान, पानी वितरण प्रणाली र आपतकालमा चाहिने उपकरणको तथ्यांक नक्शा सहित तयार पारेको छ।
जोखिमको अवस्था
नेपालमा ८० देखि १०० वर्षको बीचमा ठूलो भूकम्प आउने गरेको छ। ८.० भन्दा ठूलो म्याग्निच्यूडको महाभूकम्प भने प्रत्येक ५०० वर्षमा आउने भूकम्पविज्ञहरू बताउँछन्। १९९० सालको जस्तो भूकम्प त्यसभन्दा ६७९ वर्षअघि वि.सं. १३११ मा आएको थियो। पश्चिम नेपालमा त्यसपछि त्यत्रो भूकम्प आएको छैन।
नेपालका हिमालहरू भारतीय उपमहाद्वीप र तिब्बती प्लेटको ठक्करबाट उठेका हुन्। भारतीय उपमहाद्वीप अहिले पनि एक वर्षमा पाँच सेन्टिमिटर उत्तरतिर बढिराखेको छ। यो क्रममा जमीनमुनि जारी हलचलले अर्को महाभूकम्पलाई आज कि भोलि बनाइरहेको छ।
‘इलास्टिक रिबाउन्ड थियरी’ अनुसार ८ म्याग्निच्यूडको भूकम्पले पृथ्वीको चट्टानी तहलाई एक झ्ट्कामा ६ मिटरसम्म पर सार्ने र ५०० वर्षको अवधि जमीनमुनि त्यस्तो तनाव उत्पन्न गराउन प्रशस्त हुने १९९० सालको ८.३ म्याग्निच्यूडको भूकम्पबारे अध्ययन गरेका राष्ट्रिय भूकम्प मापन केन्द्रका सोमनाथ सापकोटा बताउँछन्। सापकोटा चेतावनी दिन्छन्, “काठमाडौं ध्वस्त हुनलाई ८ म्याग्निच्यूडकै भूकम्प आउनु पर्दैन, ७ म्याग्निच्यूड नै काफी हुन्छ।”
भूकम्पविज्ञहरू अबको महाभूकम्पको केन्द्र नेपालको गोर्खा र भारतको देहरादुनबीच हुने बताउँछन्। नेपालमा भूकम्पको जोखिम जति छ, त्यस अनुरुप अनुसन्धान भएको छैन। सापकोटा तलाउको हिलो र थेग्रोमाथि बसेको काठमाडौं उपत्यकाको भूकम्पीय जोखिम अकल्पनीय भएको बताउँछन्।
________________________________________
‘यति धेरै धूलो उड्यो, दिउँसै अँध्यारो भयो’ प्रस्तुतिः सोनिया अवाले
चिरमाई अवाले (९५)
त्यो दिउँसो भूकम्प आउँदा म गणेश मन्दिर (भक्तपुर) नजीक साथीहरूसँग खेलिरहेकी थिएँ। एक्कासी मान्छेहरू कराउन थाल्दा मलाई काग भगाउँदै गरेको जस्तो लाग्यो तर, होइन रहेछ। हेर्दाहेर्दै चारैतिर घरहरू भत्किन थाले। नजीकैको पसले हामीलाई बचाउन दौड्दै आउँदा उनको घर पनि भत्कियो।
धूलोको तुवाँलोले आकाश ढाक्यो। एक महीनासम्म हामी पालमा बस्यौं। अन्नपात सबै पुरिएकोले खानलाई केही थिएन। र पनि, पहिल्यै तय भइसकेको मेरो बिहे चार दिन मात्र पर सर्योर। अहिले पनि कतै सानो कम्पन हुँदा निकै तर्सन्छु।
पूर्णलाल अवाले (९०)
९० सालमा भूकम्प आउँदा म कोटेश्वरमा थिएँ। एक्कासी सबै हल्लिन थाल्यो। म पाटनको घरतिर दौडिएँ। पूरा शहरलाई धूलोले ढाक्दै थियो। मान्छेहरू नारायण, नारायण भन्दै यत्रतत्र दौडिरहेका थिए।
चारैतिर हाहाकार थियो। वागमतीमा पानी बढेको थियो। धन्न हाम्रो घर भत्किएको रहेनछ। छिमेकका पूरै घर भत्कँदा पनि अचम्मसँग मान्छेहरू बाँचे।
इन्द्रनाथ अर्याल (९४)
म वीरगञ्ज नजीकै जीतपुरमा लागेको हाट जाँदै थिएँ। बाटोमा पर्ने नदीमाथिको पुल तर्नै लाग्दा एक्कासी सबै हल्लिन थाल्यो। मैले पुलको फलेक बलियोसँग नसमाएको भए, नदीमा खस्ने थिएँ। नदीबाट पानी र बालुवा फोहोरा जस्तै माथि–माथि उठिरहेको थियो।
त्यसपछि म त्यहींबाट घर फर्किएँ। घर बस्न नहुने भएको रहेछ। मेरी बूढी फुपूको खुट्टा भाँचिएको थियो। हामी खेतमा पाल टाँगेर बस्यौं। त्यसबेला घर बनाउन रु.१ हजार ऋण पाएका थियौं, जुन पछि मिनाहा भयो।
भुयु महर्जन (८९)
९० सालको महाभूकम्पमा मैले पानीको ठूलो छाल जस्तै जमीन हल्लिएको, खेतमा चिरा परेको, मंगलबजार (पाटन) नजीकको तलेजु मन्दिर ढलेको र नजीकै रहेको होनाचा भोजनालय रहेको स्थानभित्र २२ जना मान्छे मरेको देखें।
जताततै भत्कँदै गरेका घरहरूबाट मानिस चिच्याउँदै दौडिरहेका थिए। पूरै शहरलाई धूलोले ढाकेको थियो। माघको जाडोमा पालभित्र बस्नु परेको थियो, खाना र पानीको हाहाकार भयो। ठूलो भुईंचालो कस्तो हुन्छ भन्ने कुरा भोगेकालाई मात्र थाहा हुन्छ।