थप समाचारशुक्रबार, माघ २, २०७१
जनताको दुहाई दिनेहरु जनमत संग्रहमा जान किन डराउनेः कमल थापा
-सेन्छेलुङ लिम्बु
राप्रपा नेपालका अध्यक्ष कमल थापाले ८ माघमा संविधान जारी हुने संभावना टरेको भन्दै यसको जिम्मेवारी कांग्रेस, एमाले, एमाओवादी र मधेश केन्द्रित दलका नेताहरुले लिनु पर्ने बताएका छन् ।
संविधानसभा बैठकमा जारी संवाद समितिको प्रतिवेदनमाथिको छलफलमा बोल्दै अध्यक्ष कमल थापाले चार दलका नेताहरुले संविधानसभाको अधिकार अपहरण गरी बाहिर गरिएका निर्णयहरु संविधानसभामा लाद्न खोज्ने प्रवृत्तिले अहिलेको अवस्था आएको आरोप लगाए ।
उनले दलहरुबीच सहमति हुन नसकेको, विधि र प्रक्रिया अनुसार दुई तिहाई बहुमतबाट संविधान जारी गर्न नेताहरु डराएको भन्दै अब अन्तरिम संविधान र नियमावलीमा उल्लेख भएको तेस्रो विधि जनमत संग्रहमा जानुपर्ने माग राखे । उनले भने, “जनताको दुहाई दिनेहरु जनमत संग्रहमा जान चाहीं किन डराउने ?”
समाजमा रहेको बर्गीय विभेदलाई संघीयताले कसरी अन्त्य गर्छ भन्ने कुराको जवाफ संघीयता पक्षधरहरुले दिनुपर्ने थापाको माग छ ।
उनले भने, “बाबुराम भट्टराईजीले भनेको कम्बोडियाको जस्तो राजतन्त्र, बीपीको विचार त्याग्ने कांग्रेस र मदन भण्डारीको विचार त्याग्ने एमालेसँग त्यसबारेको जानकारी लिने चाहना थियो तर, हामीलाई त्यसबारे बोल्न दिइएन ।”
उनले जनताको अभिमतबाट चौथो शक्ति भएको आफ्नो पार्टी राप्रपा नेपाललाई चार दलले निषेध गर्दै औपचारिक रुपमा आफ्नो धारणा समेत राख्न नदिएको आरोप लगाए । थापाले भने, “हामीले धर्म निरपेक्षता र राष्ट्रियताको बारेमा खुलेर बहस समेत गर्न पाएका छैनौं, जनयुद्धमा गएका दलहरुसँग गणतन्त्र र धर्म निरपेक्षताका बारेमा बहस गर्न संविधानसभामा आएका थियौं तर, उहाँहरुले त्यो अवसर दिनु भएन ।”
उनले नेपालमा आजसम्म भएको कुनै पनि आन्दोलनमा देशलाई धर्म निरपेक्ष बनाउनु पर्ने आवाज नउठेको भए पनि विदेशीको दबाबमा धर्म निरपेक्षताको घोषणा गरिएको आरोप समेत लगाए ।
उनले चार दलका शीर्ष नेताहरुको प्रतिवाद गर्ने क्षमता अन्य नेताहरुले देखाउन नसक्दा संविधान समयमै बन्न नसकेको भन्दै यो जनताप्रतिको धोका भएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
