टिप्पणीशुक्रबार, माघ २, २०७१

जाडोमा कम्बल नभएको देश

मिलन बगाले

विश्वयुद्धमा बेलायत सरकारलाई हजारौं थान कम्बल तथा त्यति नै मात्रामा खाद्यान्न, चिया, काठ आदि सहयोग गरेको नेपालसँग अहिले कम्बल छैन कसरी भन्ने?

मधेशका गाउँहरूमा यतिखेर चिसोको आतंक छ। चिसोले मानिसको ज्यान लिएको खबर हरेक दिनजसो आइरहेका छन्। गरीबले कम्बल मागेको समाचार पनि आइरहेका छन्।

सिरक ओछ्याएर ‘संविधान बनाइरहेको’ सरकार भने गुन्द्री ओढेर जाडो भगाउने प्रयास गर्नेहरूको आर्तनाद सुनिरहेको छैन।

sheetlaharबर्खामा पहाडमा पहिरो चलाउँदै सोहोरिएर झ्रेको बाढीले मधेश डुबाउँछ। गर्मीमा त्यही मधेश तातिएर तावा बन्छ, लूले छोप्छ। गर्मीबाट जोगिन मधेशले प्रकृति सुहाउँदो घर निर्माण शैली अपनाएको भए पनि जाडोबाट जोगिन चाहिं घनघोर गरीबी बाधक भएको छ।

हिमालवासीहरू चिसो बढेसँगै तल्लोभेकतिर बसाइँ सर्छन्। सधैं चिसो हुने हुनाले गरीबका घरमा पनि सिरकको जोहो हुन्छ। तराईमा बर्खाभर गर्मी र डुबानबाट जोगिने चिन्ता हुन्छ। हिउँद लागेपछि अर्को वर्ष त चामल नकिनेर भए पनि कम्बलको जोहो गर्छु भनेर सोच्दासोच्दै चिसोले कक्र्याइसक्छ।

मधेशमा गरीबीको राज छ। न आगो ताप्नलाई पर्याप्त दाउरा छ, न तातोतातो खानलाई अन्न। न त शीत र सिरेटो रोक्ने बलियो बास नै छ। शीतलहरले मधेशलाई कसरी जकडेको छ भनेर अखबार मार्फत महसूस गर्न सकिन्छ।

देहातका छाप्रोहरूमा कम्बल पुर्‍याउने व्यक्तिगत र केही संस्थागत अभियान पनि जारी छ, तर त्यो पर्याप्त छैन र शायद नहोला पनि। सरकार नै जिम्मेवार नभएसम्म एकाध व्यक्ति वा संस्थाको प्रयासले यस्तो प्रकोप पीडा कम हुन्न।

जनता जोगाउनु
शीतलहरको प्रकोपबाट जनता जोगाउन सर्वोच्च अदालतले समेत सरकारको उपस्थिति खोजेको छ। मंसीर दोस्रो साता सरकारको नाममा निर्देशनात्मक आदेश जारी गर्दै शीतलहरबाट जनता जोगाउने पहल बेलैमा गर्न भनेको थियो।

सरकारको कानमा भने अदालतको बतासै नलागेको देखाउँछ, जाडोले धमाधम नागरिक मरिरहेका खबरहरूले।

सर्वोच्चको आदेशपछि चिसोले रौतहट, लक्ष्मीनिया–२ मुसहरी टोलका भोला माझी मुसहर (५०) को ज्यान लियो। त्यस लगत्तै सिरहा सुखीपुरमा दुई जना कठ्यांग्रिएर मरे। त्यसपछि पनि मधेशका गाउँहरूमा जाडोले मानिस मरेको समाचार आएको आयै छ।

यता सिंहदरबारस्थित गृह मन्त्रालयको विपत् व्यवस्थापन महाशाखा प्रमुख रामेश्वर दंगाल ‘सरकारले दिने रु.४० हजार किरिया खर्चका लागि कालगतिले मरेकाहरूलाई पनि शीतलहरले मरेका भनेका हुन्’ भनिरहेका छन्। कस्तो पीडक सोच!

मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकाल पनि उस्तै संवेदनाहीन देखिएका छन्। उनले ‘शीतलहरबाट यसपालि एक जना पनि मरेका छैनन्, मरेका कसैमा पनि कोल्ड डायरिया लगायतको लक्षण नै देखिएको छैन’ भने, पुस १६ गतेको बीबीसी नेपाली सेवामा।

यस्ता मान्छेहरू बसेको सरकारी निकायबाट सर्वोच्चको आदेश कार्यान्वयन हुन्छ भन्ने आशा कमै गर्न सकिन्छ।

मधेशको हित गर्न खुलेका मधेशकेन्द्रित दलहरूको चाला पनि निराशाजनक नै देखिएको छ। उनीहरूले आफ्नो निर्वाचन क्षेत्रमा जुनसुकै प्रकोप परे पनि सहयोग कार्यक्रमको संयोजन गर्नुपर्ने हो, तर गरेका छैनन्।

निर्वाचन पछि न उनीहरू निर्वाचन क्षेत्रमा छन् न त कुनै संगठित पहल गरेका छन्। संसद् नभएको बेला पनि त्यतिका दलहरूका आवाज सुनिने मञ्चहरू धेरै छन्, तर कतै सुनिन्न।

जनताको दुःखप्रति मधेशकेन्द्रित र मूलधारका कांग्रेस, एमाले, एमाओवादी लगायतका दलहरू यति उदासीन छन् कि उनीहरूले सिरहा फूलकहाकट्टीका ७३ वर्षीय सैनी सदायले कम्बल मागिरहेको सुनिरहेका, देखिरहेका छैनन्।

विश्वयुद्धमा बेलायत सरकारलाई हजारौं थान कम्बल, खाद्यान्न, चिया, काठ आदि सहयोग गरेको देश हो, नेपाल। इतिहासले त्यसै भन्छ। नयाँ नेपालसँग कम्बल छैन कसरी भन्ने?

इतिहास र कर्तव्य सम्झेर प्रकोप पीडामा मलम लगाउनेको जय होस्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>