Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मजलिसको आँखा–६ - Himalkhabar.com

ब्लगशनिबार, माघ ३, २०७१

मजलिसको आँखा–६

कमल दीक्षित

सिंहमहललाई पहिले ‘थापाथली दरबार’ भनिन्थ्यो किनभने ऐले नेपाल राष्ट्र ब्याङ्क भएको त्यो भवनको बाहिरको मूलढोकाको दुईतिर लट्ठामा ठूल्ठूला अक्षरमा अंग्रेजी र नेपालीमा ‘थापाथली दरबार’ भन्ने कुँदेका पत्थर जडिएका थिए। त्यसो भन्नाको कारण के भने पहिले यो दरबार महाराज जङ्गबहादुरको थियो।

थापाथली दरबार परिसर अत्यन्त ठूलो थियो, थापाथली डाँडाभरि र तलसम्मको। त्यो सबै पहिले जङ्गबहादुरको मामाखलक, थापाहरूको क्षेत्र थियो। आफू ‘राजा’ भएपछि जङ्गबहादुरले त्यो ओगटे।

oldपुरुषोत्तमशमशेरको भनाइमा सिंहमहलको ऐलेको भवन जङ्गबहादुरले आफ्ना (इन्जिनीयर) वास्तुकलाविद् रणसूर बिष्टद्वारा निर्माण गराएका हुन्। उनी आफू भने त्यस घरमा बसेनन्। त्यहाँ उनका छोरा जगतजङ्ग बसाइए। उनी पनि मनोहरा दरबार बनाएर त्यता सरेपछि नातिजर्नेल जुद्धप्रताप जङ्ग त्यहाँ बसेका थिए १९४२ सालसम्म, हत्या नहुञ्जेल।

भनिन्छ १९४२ देखि १९६० सालसम्म चाहिं चन्द्रशमशेरको स्वामित्वमा आयो यो दरबार। उनले पनि सिंहदरबार बनाएर उतै बस्न गएपछि आफ्ना काइँला छोरा सिंहशमशेरलाई बकस दिए यो दरबार। त्यसपछि यसलाई सिंहमहल भन्न थालिएको हो।

तर अरूले सिंहमहल भने पनि मालिक सिंहशमशेर भने पुरानो गौरवमा रम्नलाई होला यसलाई थापाथली दरबारै भन्न रुचाउँथे। त्यसैले हुनुपर्छ, माथि बताएको आफ्नो सिंहमहलको मूलढोकाका दुईतिर लट्ठामा उनले ‘थापाथली दरबार’ भन्ने कुँदाएर जडेका पनि।

तर त्यसो गरेको जर्साहेबलाई फापेन, सातसालको क्रान्तिपछि! उनलाई त्यसले पोल्यो! त्यसैका कारण जङ्गसन्तति (आफूलाई जङ्गबहादुर महाराजका औरस सन्तान हौं भन्ने राणाहरूको समूह) ले सिंहमहल हाम्रो हो भनेर दावा गर्न थाले।

एक दिन त उनीहरूले सिंहशमशेरलाई नै भेटेर “यो थापाथली दरबार बुबा महाराज जङ्गबहादुरले बनाइबक्सेको हाम्रो हो, तपाईं यसलाई छाडेर जानुस्” भनेछन्। त्यसो भएपछि जनरलसाहेबले रातारात आफ्नो मूलढोकाबाट ‘थापाथली दरबार’ भन्ने शिलापट्ट हटाउन लगाए र त्यो दावा गर्न आउनेहरूलाई पनि भगाएर पठाए भनिन्छ।

पुस २०१७ सालको ‘कु’ पछि हर्ताकर्ता बनेका श्री ५ महेन्द्रलाई राणा खलक मन पर्दैनथे, त्यसमा पनि चन्द्रसन्ततिप्रति त उनलाई ‘एलर्जी’ नै थियो रे!

nowउनले चन्द्रशमशेरका छोराका दरबारहरू भटाभट अधिग्रहण गर्न थाले। त्यति बेलासम्म सिंहमहलका मालिक चाहिं सिंहशमशेरका छोरा अर्जुनशमशेर भैसकेका थिए। उनी आफ्नै फुपूचेला (दाजु) भएका हुनाले राजा महेन्द्रलाई सिंहमहल अधिग्रहण गर्न सङ्कोच लाग्यो।

भए पनि, ठूलाठूला दरबार राणाहरूको कब्जामा रहन नदिने आफ्नो नीति अनुसार उनले सिंहमहललाई विष्णुमणि अञ्चलाधीश मार्फत सस्तैमा नेपाल राष्ट्र ब्याङ्कलाई खरीद गर्न लगाए। महलको अधिकांश घरजग्गा नेपाल राष्ट्र ब्याङ्कको स्वामित्वमा आयो।

बाँकी केही जमीन र केही बङ्गला जनरल अर्जुनशमशेरका लागि भनेर छाडिदिएका थिए राजाले। अर्जुनशमशेरको छोरा कोही नभएकाले पछि ती जग्गाजमीन उनका पाँच जना छोरीहरूको भयो। तर एक जना बाहेक अरू सबै छोरीहरू भारततिर बिहे भई गएकाले सिंहसन्ततिमा एक जना जया शाह मात्र ऐले त्यस परिसरमा बाँकी रहेको बुझिन्छ।

अब अलिकति यसको स्थापत्यको कुरा गरूँ। जङ्गबहादुरले यो थापाथली दरबार बनाउन लगाउँदा नै त्यो क्षेत्र सम्म मिलेको थिएन, उबडखाबड थियो, ढिस्का र खाल्टाहरू समेत भएको।

त्यसलाई रणसूर बिष्टले सकेसम्म मिलाए, मिलाउन नसकेका भागलाई उस्तै प्रकारले ‘ल्याण्डस्केपिङ’ गरे। तर, त्यस दरबारलाई सिंगार्ने काम सबै पछि ‘जनाब जर्साब’, सिंहशमशेरले गरेका हुन्। सिंहशमशेर कलापारखी थिए। कलाकारका आँखाले उनले दरबारलाई सजाए।

त्यसको भित्रका झाडफानुस, मूर्ति, पुतली सबै उनले युरोपबाट झिकाएर जडाए। छत र सिलिङमा कारीगरी गर्न राजस्थानका कारीगडहरू मगाएर ल्याए। दरबार बाहिरका खाल्टो भागलाई उनले पुतली बगैंचा बनाइदिए, ढिस्कोलाई ‘बोटानिकल गार्डेन’।

सिंहमहलको भवन अगाडिको होचोमा रहेको त्यो ‘पुतली बगैंचा’ राणाकालमा (केशरमहलको प्रख्यात ‘स्वप्नबाटिका’ पछिको) सबभन्दा राम्रो ‘गार्डेन’ मानिन्थ्यो (हे. फोटो)। त्यस्तै सिंहमहलको ‘कुमारीथान’ को ढिस्को सर्वोत्कृष्ट वनस्पति उद्यान थियो।

त्यहाँ सिंहशमशेरले जातजातका बोटबिरुबाहरू झिकाएर लगाएका थिए। अब त त्यहाँ केही पनि छैन, उजाड छ! दुःख लाग्छ हेर्दा पनि।

त्यस्तो उम्दा पुतली बगैंचा पनि सह्यार सुसार नपाएर चित्त दुख्ने गरी सिमसारमा परिणत भएछ! देखेर दिक्क लाग्यो मलाई अस्ति त्यता पुगेर हेर्दा (हे. फोटो)।

नेपाल राष्ट्रकै यस्तो हानिनोक्सानी भएकोमा हामीले कसलाई दोष दिने? नेपाल राष्ट्र ब्याङ्कलाई? राजा महेन्द्रलाई? कि सिंहसन्ततिलाई? दोष कसैलाई नदिऊँ। हाम्रो राष्ट्रिय चरित्र नै दोषी छ कि क्या हो!

पैसाका अगाडि हामी क्यै देख्दैनौं। हाम्रा दृश्य सम्पदाको पनि हामीलाई वास्ता छैन, हाम्रा प्राचीन वास्तुकलाको पनि! अलिकति मात्र व्यक्तिगत लाभ भए हामी चिप्लिन्छौं। के गर्ने? हामी त्यस्तै छौं!!

(यस स्तम्भको नाम दरबार हाईस्कूलको दक्षिणपट्टि रहेको ‘मजलिसघर’ बाट लिइएको छ। यसमा आउने तस्वीरहरू मपुपु–का हुन्। – सं.)

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>